Ad Area

सातौँ राष्ट्रिय योग दिवस मनाइँदै


दाङ १, माघ । सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी शनिबार मनाइँदैछ ।

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रि परिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए ।

Blog Post Ad

आयुर्वेदलाई योगसँग जोड्न वि सं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो । वि सं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन शुरु गरिएको छ ।

Blog Post Ad Blog Post Ad