Ad Area

हाप्किडोको लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता स्थगित


दाङ,१ माघ । दाङमा हुन लागेको लुम्बिनी प्रदेशस्तरीय हाप्किडो प्रतियोगिता स्थगित भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा लुम्बिनी प्रदेश हाप्किडो संघ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको सहकार्यमा माघको ४ देखि ६ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको लुम्बिनी प्रदेशस्तरीय हाप्किडो च्याम्पियनसिप कोरोना भाइरसका कारण स्थगित गर्नु परेको आयोजक दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरले जानकारी र्दिएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा नेपाल सरकारले २५ जनाभन्दा बढी सार्वजनिक ठाउँमा भेला नहुन भनेकाले प्रतियोगिता स्थगीत गर्नु परेको उनले बताए । प्रशासनको निर्देशन र बर्तमान अवस्थामा जनस्वाश्थ्यको ख्याल गर्दै प्रतियोगिता स्थगित गरिएको अध्यक्ष बुढामगरले बताए । माघको ४, ५ र ६ गतेसम्म प्रदेशस्तरको सो प्रतियोगिता दाङको घोराही शहरमा गर्न लागिएको थियो ।

उक्त च्याम्पियनसिपको उद्घाटन लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्ने रहेको थियो । वृहत प्रतियोगिताको भव्य तयारीमा प्रदेश, जिल्ला र स्थानियतहका सबै समितिहरु लागिसकेको अवस्थामा प्रतियोगिता स्थगित गर्नु परेकोमा सबैप्रति क्षमा याचना गर्दै सहज अवस्था आएपछि प्रतियोगिताको नया मिति तय गरिने आयोजक संघले जनाएको छ ।

प्रतियोगिता आयोजना गर्न अहिलेसम्म खटिएका सबैप्रति आभार व्यक्त गर्दै सहयोगिहरुप्रति धन्यवाद प्रकट गरेका छन् । आयोजकले प्रदेशको १२ जिल्लाबाट करिब दुई हजार खेलाडीहरु प्रतियोगितामा भाग लिने गरि काम अगाडी बढेको बताउदै स्थगनपछि आन्तरिक तयारी जारी राख्ने बताएको छ।