Ad Area

सेवा बढाउँदै हाम्रो पहुँच सहकारी : दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार


तुलसीपुर, ७ माघ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तुलसीपुर–१८ दुधरासमा शाखा विस्तार गरेको छ । तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच सहकारी संस्थाले दुई सहकारीको एकिकरणपछि पहिलो पटक दुधरासमा सप्तरंगी सेवा केन्द्र विस्तार गरेको हो ।

तुलसीपुर–१८ र आसपासका नागरिककोको सहजताका लागि सप्तरंगी सेवा केन्द्र विस्तार गरिएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । सप्तरंगी बहुमुखी सहकारी संस्थासंगको एकिकरणपछि पहिलो पटक सेवा विस्तार गरिएको उहाँले बताउनुभयो । सेवा केन्द्रको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको हो ।

नगरप्रमुख पाण्डेले हाम्रो पहुँच सहकारी र सप्तरंगी सहकारीको एकिकरणले बृहत सहकारी बनाउने अभियानको शुभारम्भ भएको बताउनुभयो । अर्थतन्त्र विकासको प्रमुख आधार सहकारी भएको बताउँदै नगरप्रमुख पाण्डेले छरिएर रहेका सहकारीलाई एक भएर अघि बढ्न आग्रह गर्नुभयो ।

उहाँले केन्द्रको उद्घाटनसंगै मासिक बचतको समेत शुरुवात गर्नुभएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीले सहकारीले नागरिकको जीवनस्तर परिवर्तन ल्याउनमा प्रमुख भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तदर्थ संचालक समितिका उपाध्यक्ष बुद्धिराम बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा राप्ती शान्ति उद्यानका अध्यक्ष तथा संस्थाका शेयर सदस्य डिल्लीराज भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका भुतपुर्व व्यवस्थापक एवं चेतमान लम्साल, कल्याणकारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरिराज पाण्डे, बाल अमृत बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज डाँगी, सहकारी संस्थाका सल्लाहकार नारायण भण्डारी र लेखा समिति सदस्य तुलसी भण्डारीले सहकारीले नागरिकमा आर्थिकरुपमा परिवर्तन ल्याएको बताउनुभयो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण हाम्रो पहुँच सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले गुर्नभएको हो । दुधरास सेवा केन्द्रबाट बचत तथा ऋणको कारोबारसंगै घिउ, छुर्पी लगायतका डेरीजन्य वस्तुको पनि कारोबार हुने संस्थाले जनाएको छ । हाम्रो पहुँच सहकारीमा अहिले करिब २ हजार ५ सय सेयर सदस्य रहेका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad