Ad Area

भाषा बचाउन गीत लेख्दै गाउँदै कुसुण्डा किशोरकिशोरी


घोराही ८, माघ । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ बूढीचौरकी हिमा कुसुण्डा अहिले घोराही उपमहानगरपालिका–५ धर्नास्थित महेन्द्र माविमा अध्ययन गर्छिन् । उनी अहिले कुसुण्डा भाषा सिकेर आफ्नै भाषामा गीत रचना गरेर सुनाउन सक्ने भएकी छिन् । मातृभाषा भएर होला, उनी अहिले भाषा सिक्न र संरक्षणमा तल्ल्ीन भएर लागेकी छिन् । उनले यसअघि आफ्नो भाषाका केही कुरा हजुरबुबासँग सिकेकी थिईन् । उनलाई अझै धेरै सिक्न बाँकी भएकाले यस वर्ष पनि थप कुरा सिक्दै साथीलाई पनि सिकाउँदै छिन् ।

सोही विद्यालयमा कक्षा ८ का प्रेमी कुसुण्डा विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्छिन् । उनलाई पनि आफ्नो मातृभाषा बोल्न आउँदैनथ्यो । हिजोआज विद्यालयमा कुसुण्डा भाषा सिक्न थालेदेखि उनले भेट्ने जति सबैलाई कुसुण्डा भाषामा सोजाक अर्थात नमस्कार भन्न थालेकी छिन् । आफ्नो मातृभाषा सिकेमा लोप हुँदैन भन्ने लागेको भाषा बचाउन सकिने उनले धारणा छ । ‘शुरुशुरुमा त भाषा बुझिँदैनथ्यो, पढ्दै जाँदा सबै जान्ने भएका छौँ, यो भाषा पढ्ने साथीहरु एकआपसमा कुरा गर्दा कुसुण्डा भाषामा कुरा गर्ने गरेका छौँ’, हिमाले भनिन्, ‘पढ्दै जाँदा सजिलो भएको छ, हामीले तपाईँको घर कहाँ हो ? भन्न परेमा ‘निगी उही हाना’ भनेर सोध्छौँ ।’ उनले कुसुण्डा भाषामै थुप्रै गीत लेखेर राखेकी छिन् भने मिठो स्वरमा गाउने पनि गर्छिन् ।

अर्का, अनिल कुसुण्डा सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत छन् । उनलाई मातृभाषाकै समस्या थियो । विद्यालयको पढाईका अतिरिक्त कुसुण्डा भाषा सिक्न थालेपछि भाषाको ज्ञान धेरै अनिललाई भएको छ । अरु साथीहरुसँगै उनी पनि कुसुन्डा भाषा सिकेर कुराकानी गर्न सक्ने भईसकेका छन् । ‘घरपरिवारमा सबैले नेपाली भाषा बोल्ने भएकाले नेपाली बाहेकको अरु भाषा आउँदैनथ्यो, अहिले भाषा सिकेपछि एकआपसमा कुसुण्डा भाषामै कुराकानी गर्ने गर्छौँ,’ प्रेमीले भनिन् ।

घोराही–१८ सुपैलाटोलकी उर्मिला कुसुण्डा जोखिममा परेको आफ्नो भाषा बोल्न सिकेकी छिन् । उनले अहिले आफ्नै टोलमा रहेका कुसुण्डालाई भाषा कक्षा चलाएर सिकाउन थालेकी छिन् । उर्मिला १२ कक्षा उत्तीर्ण गर्ने कुसुण्डाका छोरीहरुमध्ये पहिलो पनि हुन् । तीन वर्षअघिदेखि घोराही–५ स्थित महेन्द्र मावि, धर्नामा छात्रावासमा बसेर बालबालिकाले कुुसुण्डा भाषा पढिरहेका विद्यालयका प्रधानाध्यापक ऋषिराज अधिकारीले जानकारी दिए । सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवासको व्यवस्था गरेपछि शिक्षाको पहुँचभन्दा टाढा रहेकाहरुको शिक्षामा पहुँच पुगेको हो । सो विद्यालयमा लोपोन्मुख कुसुण्डा, बादी र माझी समुदायका २० बढी बालबालिका छात्रावासमा बस्छन् । कुसुण्डा जातिका छात्रछात्राले भाषा बचाउनका लागि पढ्दै गरेको प्रधानाध्यापक अधिकारी बताउँछन् ।

कुसुण्डा भाषाका वक्ता ज्ञानीमाया सेनको २ वर्षअघि ८५ वर्षका उमेरमा निधन भयो । दाङमा कुसुण्डा भाषाका दुई मात्र जीवित वक्ता कमला खत्री सेन र प्रेमबहादुर कुसुण्डा मात्र छन् । उनीहरुलाई भाषा बोल्न आउँछ तर लेख्न आउँदैन । ‘आफूसँगै भाषा पनि लोप हुन्छ कि भन्ने चिन्ता लागेको थियो, अहिले तल्लो पुस्ताले पनि भाषा सिकेको देख्दा निकै खुशी छौँ । भाषा बचाउन तल्लो पुस्ता लागिपरेको छ । उनीहरुले लेखेर राख्दैछन्, अब हराउँदैन,’ प्रेमबहादुरले भने, ‘भाषासँगै संस्कृति पनि हराउँछ, यसलाई जोगाएर राख्न आवश्यक छ भन्ने मलाई थाहा थिएन, म बोलेर सबै कुरा सिकाउँदैछु ।’

कुसुण्डा भाषा वा पाठ्यपुस्तक लेखक उदयराज आले दाङमा कुसुण्डा भाषा बोल्ने मानिस धेरै भएको बताउँछन् । आफ्नो मातृभाषा नेपाली भए पनि संरक्षणका लागि अनुसन्धान गरी पाठ्यपुस्तक तयार पारेर अर्को पुस्तालाई सजिलो गराइदिएको उनले बताए । उनले कुसुण्डा भाषाको लिपी बनाउने तथा ज्ञानीमायाको जीवनी लेख्ने काम गरेका छन् । अब नयाँ पुस्ताले भाषा सिक्न थालेपछि संरक्षण हुने र लिपिबद्ध गरेर जीवित राख्न सक्ने आशा राखिएको उनले बताए ।

Blog Post Ad

नेपालमा मात्र बोलिने १२३ भाषामध्ये २१ भाषा एक हजारभन्दा कम मानिसले बोल्छन् । विसं २०६८ को तथ्याङ्क अनुसार नेपालमा कुसुण्डाको जनसङ्ख्या २१३ र वक्ताको सङ्ख्या २८ उल्लेख छ । तर, यो तथ्यांक सही नभएको स्वयं कुसुण्डा अगुवा बताउँछन् । यस पटक गरिएको जनगणनाले वास्तविक तथ्यांक आउने कुसुण्डा विकास समिति, दाङका अध्यक्ष धनबहादुर कुसुण्डाले बताए ।

दुई वर्षअघि यो भाषा सिकाउने कक्षा सुरू गर्दासम्म पूर्ण रुपमा जान्ने दुई जना थिए । ज्ञानीमैयाको निधनपछि बहिनी कमलाले पनि भाषा सिकाउन अग्रसरता लिएका छन् । अहिले भाषा सिक्दै गरेको किशोरकिशोरीहरुले कुसुन्डा भाषामै गीत लेखेर गाएका पनि छन् । बुढीचौरकी १९ वर्षीया हिमा कुसुन्डाले १ सय ८० घण्टाको कोर्स पूरा गरेपछि बोल्न र लेख्न सक्ने भएकी हुन् । उनले कुसुन्डा भाषामै गीत लेखेर गाउने पनि गर्छिन् । स्वर निकै राम्रो छ । उनको बारेमा डकुमेन्ट्री नै निर्माण भयो । उक्त डकुमेन्ट्री २०२१ जुनमा भएको ट्राइबेका फिल्म फेस्टिभलमा उत्कृष्ट भयो ।

‘भाषा बचाउने योजनाअनुसार गीत लेखेकी हुँ । शुुरुमा नेपाली र कुसुन्डा भाषा मिलाएको थिएँ,’ उनले भनिन्, ‘अहिले कुसुन्डा भाषामा मात्रै गीत बनाएकी छु । यसमा कुसुन्डा भाषा बचाउनुपर्छ भन्ने सन्देश छ ।’ यति मात्रै होईन, भाषालाई जीवन्त राख्न नयाँ पुस्ताहरु बोलचाल र एकापसमा कुराकानी गर्दा कुुसुण्डा भाषा प्रयोग गर्ने भईसकेका छन् । भाषा आयोगले नेपालमा लोपोन्मुख भाषाको संरक्षण गर्ने र मातृभाषाको सम्मान गर्ने उद्देश्य कक्षा संचालन गरेपछि कुसुण्डा समुदायले उत्साहित भएका छन् ।

Blog Post Ad Blog Post Ad