Ad Area

मुलुकको हीतका पक्षमा नयाँ जनादेशमा जानुको विकल्प छैनः महासचिव पोख्रेल


घोराही १२, माघ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अहिलेको पाँच दलीय गठबन्धनको सरकार नेपाल र नेपाली जनताको हीतका पक्षमा नरहेको आरोप लगाएका छन् । राष्ट्रियताको सवालमा इतिहासकै कलंकका रुपमा देखा परेको गठबन्धनको सरकारले भारतले नेपालको सीमा मिच्दा पनि अन्तर्राष्ट्रिय समुदायमा आफ्ना आवाज लैजाने सवालमा पूर्ण रुपमा असफल भएको आरोप लगाए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले अहिलेको गठबन्धन केवल नेकपा एमालेको बढ्दो लोकप्रियता र जनमतलाई रोक्न निर्माण गरिएको गठबन्धन मात्रै भएको तर्क गरे । महासचिव पोख्रेलले गठबन्धन दल एमालेसँग चुनाव लड्न डराएको तर्क गर्दै हार्ने डरले संविधानको अपव्याख्या गर्ने काम अहिलेको परमादेशी गठबन्धन सरकारले गरिरहेको बताउँदै कानूनले तोकेको कुरामा गलत अभ्यास गर्नु जनताले किमार्थ स्वीकार नगर्ने धारणा राखे ।

गठबन्धनका माध्यमबाट कुनै पनि परिणाम निकाल्न सक्ने कुरामा पूरै असफल गठबन्धनका रुपमा मात्रै रहेको ठोकुवा गर्दै लुम्बिनी प्रदेशका निवनर्तमान मुख्यमन्त्री समेत रहेका नेता पोख्रेलले लोकतन्त्रका पक्षमा नकारात्मक प्रभाव, विकास र समृद्धिका प्रश्नमा र मुलुकको स्वाधीनता र समृद्धिको प्रश्नमा पनि यो सरकार असफल भईसकेको बताए । असफलता नै असफलताको भर्याङ चढिरहेको यो सरकारले आफुलाई टिकाउने भन्दा अब मुलुकको हीतका पक्षमा नयाँ जनादेशमा जानुको विकल्प नरहेको विश्वास व्यक्त गरेका हुन् ।

यस्तै, उनले सत्तामा जान गठबन्धन कायम गर्ने दलहरु चुनावबाट भाग्न नमिल्ने चेतावनी पनि दिए । अब देशमा केवल दुईटा ध्रुवमा राजनीति ध्रुवीकृत गर्न जरुरी रहेको बताउँदै एउटा ध्रुवको नेता नेकपा एमाले र अर्को ध्रुवको नेताका रुपमा नेपाली कांग्रेसको नेतृत्वमा रहेका दलहरु हुने बताए । ती ध्रुवमा रहेका दललाई छान्ने जिम्मा जनताको भएको उनको तर्क छ ।

नेकपा एमालेको नेतृत्वमा समावजादको यात्रामा अघि बढ्ने की नेपाली कांग्रेसको पूँजीवादको यात्रामा अघि बढ्ने भन्ने नै अबको गन्तव्य भएको बताऐ । यस्तै, उनले माधव नेपाल र प्रचण्डहरु भनेको पूँजीवादका हिमायतीमा रुपमा समर्पित भईसकेका खल पात्र भएको टिप्पणी गरे । नेता पोख्रेलले अब जनताको छनौट भनेको समाजवादका लागि एमाले की पूँजीवादका लागि कांग्रेसको नेतृत्व भन्ने हुन आवश्यक भएकाले नयाँ जनादेश अपरिहार्य रहेको जिकिर गरे । पत्रकार सम्मेलन चौतारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको थियो भने सहजीकरण उपाध्यक्ष प्रेम राम्जाले गरेका थिए ।