Ad Area

घोराही चेम्बरद्वारा वातावरणमैत्री झोला बनाउने तालिम शुरु


घोराही १२, माघ । घोराही चेम्बर अफ कमर्सको व्यवस्थापनमा १० दिने वातावरण मैत्री झोला निर्माण तालिमको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुधबार एक कार्यक्रम गरी तालिमको उदघाटन गरिएको घोराही चेम्बर अफ कमर्सकी अध्यक्ष मन्जु बज्राचार्यले बताईन् ।

महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यका साथ तालिम शुरु भएको छ । विगतका दिनहरुमा पनि घोराही चेम्बरले सामाजिक उत्तरदायित्वको काम गर्दै महिला दिदिबहिनीहरुलाई उद्यमी बनाएको बताउँदै घोराही चेम्बरले निरन्तर निम्न आयस्रोत भएका दिदीबहिनीहरुको आयस्तर बढाउने कार्यक्रम संचालन गरीरहेको अध्यक्ष बज्राचार्यले जानकारी दिईन् ।

सो अवसरमा वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले उपमहानगरलाई प्लाष्टिकमुक्त बनाउन विगतदेखि नै निरन्तर प्रयास गर्दै आएको बताए । प्रमुख अतिथिसमेत रहेका संयोजक डाँगीले यो अभियानले उपमहानगरको प्रयासमा ठूलो सहयोग पुग्ने हुँदा शुन्य फोहोर उपमहानगर अभियानको यात्रामा नगरबासीलाई जोड्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । फोहोरलाई मोहरमा बदल्ने अभियान स्वरुप घोराहीले अहिले पनि कार्यक्रम गरिरहेकाले प्लाष्टिकमुक्त नगर बनाउन वातावरणमैत्री झोला बनाउने अभियानले प्रयोगका दृष्टिकोणले पनि नगरबासीमा व्यवहार परिवर्तन गर्न टेवा पुग्ने अपेक्षा गरेको बताए ।

यस्तै, तालिममा सहभागीहरुलाई सिकेको सीप व्यवहारमा उतार्न कार्यक्रमका विशिष्ट अतिथि एवं घोराही उपमहानगरपालिका वातावरण शाखा प्रमुख सुनिल शर्माले आग्रह गरे । कपडा र फाइबर व्यागको माग बजार अत्यधिक रहेकाले आयआर्जनमा मद्दत पुग्ने र यसले घरव्यवहार चलाउन सहज हुने शर्माको भनाई थियो । वातावरणमैत्री झोला निर्माण कार्यक्रमको प्रमुख प्रशिक्षकमा विष्णु थापा रहेकी छिन् भने १५ जना महिला दिदिबहिनीहरु तालिममा सहभागी भएका छन् ।

घोराही चेम्बर अफ कमर्सकी अध्यक्ष मन्जु बज्राचार्यको अध्यक्षता, घोराही चेम्बरकी सहकोषाध्यक्ष लक्ष्मी गिरी थापाले व्यवस्थापन गरेकी छिन् । संस्थाका उपाध्यक्ष दुर्लभ केसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव विमल श्रेष्ठले गरेका थिए ।