दाङको जनसंख्या १८ प्रतिशतले बढ्यो, १० वर्षमा साढे पाँच लाखबाट पौने सात लाख पुग्यो

घोराही १२, माघ । बितेको १० वर्षमा दाङको जनसंख्या करीव १८ प्रतिशतले बढेको छ । जिल्ला तथ्यांक कार्यालय दाङका अनुसार २०६८ को जनसंख्याको तुलनामा यो पटक १८ दशमलव २९ प्रतिशतले बढेको हो । तथ्यांक कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले दिनुभएको जानकारी अनुसार दाङमा २०७८ को जनगणना ६ लाख ७६ हजार २ सय ७७ रहेको छ । २०६८ को जनगणना गर्दा दाङमा ५ लाख ५२ हजार ५ सय ८३ रहेको थियो । बितेको दश वर्षमा जिल्लामा १ लाख २३ हजार ६ सय ९४ जना थपिएका छन् ।
भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा करीव सवा लाख जनसंख्या बढेको देखाएको छ । देशभर जस्तै जिल्लामा पनि पुरुषभन्दा महिलाको संख्या धेरै रहेको उहाँले बताउनुभयो । दाङमा ५२ दशमलव ४० प्रतिशत अर्थात ३ लाख ५४ हजार ३ सय ७६ महिला जनसंख्या रहेको छ भने ४७ दशमलव ५९ प्रतिशत अर्थात ३ लाख २१ हजार ९ सय १ पुरुषको जनसंख्या रहेको तथ्यांक अधिकृत पोख्रेलले बताउनुभयो ।
बसाईसराई, वैदेशिक रोजगार, परिवार नियोजनलगायत विविध कारणले पुरुषको तुलनामा महिलाको संख्या बढेको प्रमुख पोख्रेलले बताउनुभयो । जिल्लाका १० वटै पालिकाहरुमध्ये घोराही र तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी जनसंख्या बढेको उहाँले बताउनुभयो । सेवा सुविधा तथा बसाईसराइका कारण बजार क्षेत्रमा धेरै जनसंख्या बढेकाले दाङको जनसंख्या दोहोरो अंकले बढेको उहाँले बताउनुभयो । पालिकागत रुपमा जिल्लाको जनसंख्याको विवरणमा सबै पालिकामा पुरुषभन्दा महिलाको संख्या धेरै छ । जसअनुसार, घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । यहाँ २ लाख १ हजार ७९ जना जनसंख्या रहेकामा १ लाख ६ हजार ६ सय ९६ महिला र ९४ हजार ३ सय ८४ पुरुष छन् । तुलसीपुर उपमहानगरपालिकामा १ लाख ८० हजार ७ सय ३४ कुल जनसंख्या रहेकोमा ९५ हजार ३३ जना महिला र ८५ हजार ७ सय १ जना पुरुष रहेका छन् ।
लमही नगरपालिकामा ५८ हजार ८ सय ८४ कुल जनसंख्या रहेकोमा ३० हजार ६ सय २७ महिला र २८ हजार २ सय ५७ महिला रहेका छन् । गाउँपालिकाहरुको अवस्था हेर्दा सबैभन्दा धेरै राप्ती गाउँपालिकामा रहेका छन् । यहाँ ५२ हजार १ सय ५८ कुल जनसुंख्या रहेकोमा २७ हजार ४ यि ३८ जना महिला र २४ हजार ७ सय २० जना पुरुष रहेका छन् । गढवा गाउँपालिकामा ४६ हजार २ सय ७५ कुल जनसंख्या रहेृकोमा २३ हजार ६ सय २५ महिला र २२ हजार ६ सय ५० जना पुरुष रहेका छन् ।
उता, बबई गाउँपालिकामा ३१ हजार ३ सय १७ कुल जनसंख्या रहेकोमा १६ हजार ७ सय ९० महिला र १४ हजार ५ सय २७ पुरुष रहेका छन् । राजपुर गाउँपालिकामा २८ हजार ४ सय १० कुल जनसंख्या रहेकोमा १४ हजार २ सय ३९ महिला र १४ हजार १ सय ७१ पुरुष रहेका छन् । पश्चिम दाङको दंगीशरण गाउँपालिकामा २३ हजार ६ सय ७२ कुल जनसंख्या रहेकोमा १२ हजार २ सय ३६ महिला र ११ हजार ४ सय ३६ पुरुष रहेको तथ्यांकमा उल्लेख छ । जिल्लाको बंगलाचुली गाउँपालिकामा सबैभन्दा कम जनसंख्या रहेको तथ्यांक छ । कुल २२ हजार ८ सय ७७ जनसंख्या रहेकोमा १२ हजार ६ सय १ जना महिला र १० हजार २ सय ७६ पुरुष रहेको तथ्यांक अधिकृत पोख्रेलले बताउनुभयो ।
दाङमा जनगणना घर १ लाख ४९ हजार २ सय ६८ रहेको छ भने १ लाख ६५ हजार ७ सय ६१ कुल परिवार संख्या रहेको तथ्यांकमा उल्लेख छ । लैंगिक अनुपात ९० दशमलव ८५ रहेको दाङमा जनसंख्याको वार्षिक वृद्धिदर करीव दुई अंकको रहेको छ । जिल्लाको जनसंख्याको वार्षिक वृद्धिदर १ दशमलव ९४ प्रतिशत रहेको छ । उसो त, वार्षिक जनसंख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १ दशमलव २५ प्रतिशत प्रतिवर्ष रहेको छ ।