Ad Area

नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० !


दाङ १२, माघ । तथ्याङ्क विभागले १२औँ जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । वि.सं. २०७८ सालमा सम्पन्न गणनाको प्रारम्भिक तथ्याङ्क बुधबार सार्वजनिक गरेको हो । सार्वजनिक भएको प्रारम्भिक तथ्यांकअनुसार हालको नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

भदौ ३० देखि असोज १८ र कात्तिक २५ देखि मङ्सिर ९ सम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले बढी हो । यस्तै, यो जनगणनाबाट नेपालको जनसङ्ख्या वृद्धिदरमा समेत गिरावट आएको पाइएको छ । पछिल्लो १० वर्षमा नेपालकोे सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । वि.सं. १९८८ को जनगणना यता पहिलोपटक एक प्रतिशतभन्दा कम कायम भएको पाइएको विभागले जनाएको छ । अघिल्लो जनगणनामा यो १.३५ प्रतिशत रहेको थियो ।

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषकोभन्दा महिलाको सङ्ख्या बढिरहेको देखाएको छ । नेपालको हालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये महिलाको सङ्ख्या ५१ प्रतिशत छ । यो भनेको महिलाको कुल जनसङ्ख्या एक करोड ४९ लाख एक हजार १६९ छ । यस्तै, कुल जनसङ्ख्याको ४८.९६ प्रतिशत हिस्सा ओगटेका पुरुषको सङ्ख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ ।

१० वर्ष अघि २०६८ सालको जनगणनामा कुल जनसङ्ख्यामा महिलाको सङ्ख्या ५१.५ र पुरुषको सङ्ख्या ४८.५ प्रतिशत नै थियो । यस हिसाबले यो १० वर्षमा महिलाको सङ्ख्या कुल जनसङ्ख्याको ५१ प्रतिशतभन्दा बढी रहेको छ । यो जनगणनाले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ । जनगणनाबाट औसत १० वटा घरमा १२ वटा परिवार बसिरहेको पाइएको विभागले जानकारी दिएको छ ।

१० वर्ष अघि २०६८ सालको तुलनामा अहिले परिवारको सङ्ख्या २४.५७ प्रतिशतले बढेर १३ लाख ३३ हजार ७५७ वटा नयाँ परिवार थपिएको छ । यस्तै, अहिले नेपालको सहरी क्षेत्रको एउटा परिवारमा ४.३२ जना सदस्य र ग्रामीण क्षेत्रको परिवारमा ४.५५ जना सदस्य बसोबास गर्न थालेका छन् । १० वर्ष अघिसम्म सहरी क्षेत्रमा एउटै परिवारमा ४.८८ जना र ग्रामीण क्षेत्रमा ५.०२ थियो ।

प्रदेशगत आधारमा परिवारमा औसत सदस्य गण्डकीमा सबैभन्दा कम र मधेसमा सबैभन्दा बढी ५.६६ जना छन् । यस्तै, जिल्लागत आधारमा हेर्दा दोलखामा सबैभन्दा कम ३.५१ जना र सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना बसोबास गर्ने गरेका छन् ।

नेपालका सात वटा प्रदेशमध्ये मधेसमा सबैभन्दा बढी जनसङ्ख्या छन् । मधेसमा कुल जनसङ्ख्या मध्येको ६१ लाख २६ हजार २८८ जना मासिन बसोबास गर्ने गरेका छन् । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको जनसङ्ख्या जम्मा १६ लाख ९४ हजार ८८९ जना रहेको पाइएको छ । यस्तै, यस अवधिमा वार्षिक जनसङ्ख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १.२५ प्रतिशत प्रतिवर्ष र गण्डकीमा सबैभन्दा कम ०.३० प्रतिशत प्रतिवर्ष छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर मधेसमा १.२० प्रतिशत प्रतिवर्ष रहेको पाइएको छ । यीबाहेक अन्य प्रदेशको जनसङ्ख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतभन्दा कम छ ।

२०७८ सालको जनगणना संघीय राजधानी काठमाडौँ जिल्लामा सबैभन्दा बढी मानिस बसोबास गर्ने गरेका छन् । यो जिल्लामा मात्रै २० लाख १७ हजार ५३२ जना मासिन बस्ने गरेका छन् । र, सबैभन्दा कम मनाङ जिल्लामा जम्मा ५ हजार ६४५ जना मानिस बसोबास गर्छन् । २०७८ सालको जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो जनगणनामा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या जम्मा १७ प्रतिशत र ग्रामीण भेगमा ८२ प्रतिशत मानिस बसोबास गर्थे । यो जनगणनाले सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा ३६ प्रतिशत जनसङ्ख्या मात्रै बसोबास गर्ने गरेका छ ।

यो जनगणनाबाट कुल २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा रहेको पाइएको छ । योमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष र ४ लाख ६ हजार १०३ जना महिला विदेशमा छन् । यसले विदेशमा रहने पुरुषको हिस्सा ८१ प्रतिशतभन्दा बढी र महिलाको हिस्सा १८ प्रतिशत हाराहारी रहेको देखिएको छ ।