चारलेन सडक निर्माण कार्यमा भईरहेको ढिलासुस्ती प्रति कांग्रेस नेता गिरीको गम्भीर चासो

घोराही १४, माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले घोराही तुलसीपुर चारलेन सडक निर्माण कार्यमा भईरहेको ढिलासुस्ती र लापरवाही प्रति गम्भीर चासो लिएका छन् । घोराही तुलसीपुर सडक निर्माणको काममा चरम ढिलासुस्ती हुँदा नागरिकले सास्ती पाएको भन्दै तत्काल निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई उनले निर्देशन दिए ।
नेपाली कांग्रेस दाङ, प्रदेश सभा क्षेत्रीय कार्यालय, क्षेत्र नम्बर २ ‘ख’ को नारायणपुरमा कार्यालय उद्घाटन गर्दै पूर्व सिंचाईमन्त्रीसमेत रहेका नेता गिरीले तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डेले मंसीर १० गते घोराहीमा एक कार्यक्रम गरी एक सातामा काम सुरू गर्ने बताए पनि यति लामो समय बितिसक्दासम्म कामको कुनै ठेगान नभएको भन्दै दवाव दिन जिल्लाबासीमा अपिल गरे । घोराही तुलसीपुर सडक चारलेन बनाउने योजना २०७६ साल असारमा सुरू भइ २०७८ वैशाखमा सम्पन्न हुनुपर्ने थियो । तर, यो बीचमा निर्माणको काम ७ प्रतिशत मात्रै भएको छ ।
सवा एक अर्ब रूपैयाँको लागतमा बन्ने सडकमा अहिलेसम्म १२ करोड रूपैयाँ खर्च भएको जनाइएको छ । उनले विकास निर्माणका नाममा ठेक्का लिने अनि काम नगर्ने ठेकेदारलाई कारवाहीको भागीदार बनाउन सचेत गराउँदै लिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्ने तर्फ ध्यानाकर्षण पनि गराए । सडक निर्माण गर्ने भन्दै घोराही तुलसीपुर सडक खण्डको दुवै छेऊका किनारामा बनाईएका गहिरा खाडल, सडक साँघुरो हुँदा भएका ठुला खाल्डाका कारण सवारी दुर्घटना दैनिक जसो हुने गरेको छ । मानवीय तथा भौतिक क्षति बढ्दै जाँदा पनि निर्माण कार्य नगर्ने भए हात उठाउन आग्रह गर्दै दाङबासीको विकास प्रतिको धारणामा धक्का लगाउने काम कोही कसैले गर्न नपाउने तर्क गरे ।
बबई नदीदेखि चौघेरासम्म पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सन, घोराहीको डिके पेट्रोलपम्पदेखि खैरासम्मको १२ किलोमिटर बिमला निर्माण सेवालाई र बाँकी खैरादेखि तुलसीपुरको हात्तिखौवासम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा शिवपुरी निर्माण सेवालाई काम गर्ने जिम्मेवारी दिइएको छ ।
तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४ दशमल ४६ किलोमिटर सडक चार लेन र १३ दशमल ७३ किलोमिटर दुई लेन सडक निर्माण गर्ने जिम्मा पाएका हुन्। बबई नदीदेखि–कुटवा खोलासम्म ६ दशमल ५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दुधरासम्मको ३ दशमलब ७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोकसम्म ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तिखौवासम्म ८ दशमलब ३१ किलोमिटर सडक चारलेन बनाउने गरी तीन पेटी ठेकेदारले कामको जिम्मा पाएका छन् ।
पहिलाका ठेकेदार पक्ष अनुप पाण्डेयले ल्याब परीक्षणको रिपोर्ट नदिएपछि माटो परीक्षण गर्न केन्द्रमा पठाउनुपर्दा काममा ढिलाई भएको बताएको निर्माण कम्पनीले लामो समय बितिसक्दा पनि केही प्रगति भएको छैन । प्रदेश सभा क्षेत्रीय कार्यालय, क्षेत्र नम्बर २ ‘ख’ का सभापति अभियान बस्नेतको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएको नेता गिरीले अहिलेको वर्तमान राजनीतिक अवस्था बारेमा पनि धारणा राखे । गठबन्धन दिगो बनाउने भन्दा पनि परिस्थितीलाई मिहिन ढंगले बुझेर नेतृत्वले निर्णय गर्नुपर्ने बेला आएको बताए ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले पार्टीका नेता तथा कार्यकर्तालाई तीनै तहको निर्वाचन जित्नका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । आसन्न तीनै तहको निर्वाचनमा विजय प्राप्त गर्नका लागि पार्टीका गतिविधि अगाडि बढाउन आग्रह गरेका हुन् ।
‘जनताका माझ काङ्ग्रेसको उपस्थिति अभिभावकीय हुनु पर्दछ । विगतदेखि नै काङ्ग्रेसले आफूलाई जनताका सामु अभिभावका रुपमा उभ्याएको छ । समयका कालखण्डसँगै आएका परिवर्तनले पनि काङ्ग्रेसलाई जनताबाट त्यति टाढा राख्न सकेन, यो जनताले काङ्ग्रेसप्रति गरेको विश्वास र आशा हो । जनताको विश्वासलाई गुम्न नदिनु र आशालाई निराशा नबनाउनु नै काङ्ग्रेसको दायित्व हो, जिम्मेवारी हो । यसलाई हामीले बिर्सनुहुँदैन ।’ नेता गिरीले भने ।
कार्यालय उदघाटन कार्यक्रममा केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले राजनीतिक प्रसंगका धारणा राख्दै सामुहिक प्रयासले मात्रै पार्टी सहि गतिमा अघि बढ्न सक्ने हुँदा नेतृत्वले यस तर्फ ध्यान दिनुपर्ने बताए । ‘आफु बाहेक अरुलाई सम्झिन नसक्ने, अरुलाई केही नठान्ने त्यो नेता होईन । योगदान दिएका सबैले अवसर पाउदैन । सिमितले मात्रै पाउँछ,’ उनले भने । उनले काममा ध्यान दिन तर नतिजाको लाभ आफुले लिन्छु भन्ने मानसिकता कहिले पनि नबनाउन आग्रह गरे । उनले भने, ‘खेतीपाती धेरैले गर्छन् तर स्याहार्ने एउटा हुन्छ । खेती एउटाले गर्न स्यहार्ने अर्काे हुन्छ ।’
सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाल, सहमहामन्त्री खगराज पाण्डे, जिल्ला सभापति शंकर डाँगी, राष्ट्रिय सभा सदस्य एवंप्रमुख सचेतक अनिता देवकोटा, पूर्व जिल्ला सभापति विरकेशरी गौतम, महासमिति सदस्य भुपबहादुर डाँगी, क्षेत्र नम्बर २ सभापति भीमप्रकाश खड्का, क्षेत्र नम्बर ३ सभापति जगतबहादुर खड्का, कांग्रेस नेता भरतबहादुर न्यौपाने, महाधिवेशन प्रतिनिधि कमलबहादुर वली, तरुण दल जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि टीका घर्ती, क्षेत्र नम्बर २ ‘क’ का सभापति प्रकाश श्रेष्ठ, घोराही नगरसभापति तिलक रावत, तुलसीपुर नगर सभापति सुरेश हमाल, वडा नम्बर ८ सभापति कुलप्रसाद रजौरेलगायतले धारणा राखेका थिए । वक्ताहरुले अब वडा, टोल, नगर सबैतिर पार्टीको गतिविधि बढाउँदै कार्यक्रम गाउँ गाउँमा लैजान जरुरी रहेको बताए ।
उहाँहरुले संगठनको कमजोरी सच्याउन जरुरी रहेको धारणा राख्दै १४ औँ महाधिवेशनमा जित र हार व्यहोर्नेले कमजोरी सच्याउनु पर्ने बेला आएको तर्क गरे । ‘जित्नेले हार्नेलाई सम्बोधन गर्ने र हार्नेले जित्नेलाई सम्मान गर्न सकेन भने ठुलो क्षति व्यहोर्न बाध्य हुनेछ,’ वक्ताहरुले भने, ‘दाङ कांग्रेसले एकताको सन्देश खोजेको छ । कालाकाटेदेखि गंगटेसम्मको एक ढिक्का हुनु छ । यो सन्देश कस्ले भन्ने ? मात्रै हो ।’ सो अवसरमा पार्टीको कार्यालय स्थापनाका लागि जग्गा दान गरेका जग्गादाता स्वर्गीय लोकबहादुर डाँगीको परिवारलाई सम्मान गरिएको थियो भने पछिल्लो समय सहयोग पुर्याएका अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सचिव तिलक केसीले गरेका थिए ।