Ad Area

घोराहीमा फोहरबाट ग्याँस उत्पादन,उपभोक्ताको घरमा पुर्याउने तयारी


दाङ, १८ माघ । घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको हो । करिब ३ महिना अघिदेखि फोहरबाट ग्यास उत्पादन सुरु गरिएको नेपाल उर्जा विकास कम्पनी प्रालिका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले बताए । दैनिक ३ सय घनमिटर ग्यास उत्पादन हुने गरेको उनले बताए ।

‘अहिले फोहरसमेत कम राखिएको छ जसले गर्दा ग्याससमेत उत्पादन कम भएको हो’, उनले भने । केही समय फोहर धेरै राखेर ग्यास उत्पादन वृद्धि गरिने उनले बताए । नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको उनले बताए । उत्पादन भएको ग्यास पाइपलाइन मार्फत घर–घरसम्म पु¥याउने योजना छ । जसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा ढिला भएको श्रेष्ठले बताए । ‘हामीलाई आवश्यक पर्ने एनडिपी पाइप हो, यो अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको छ’, प्लान्ट म्यानेजर श्रेष्ठले भने ।

पहिलो चरणमा ४ सय ५० घरधुरीमा पु¥याउने भनेर सर्भे गरिएको छ । थप पछि विस्तार गरिने भएको छ । उत्पादन गरिएको ग्यास वरिपरिका स्थानीय वासिन्दाहरु, नारायणपुर, सर्रासम्म पु¥याउने उनले बताए । पाइपमार्फत ग्यास प्रयोग गरेवापत मिटर अनुसार रकम तिर्नुपर्ने छ । सुरुमा ग्यास उत्पादन गरेर सिलिण्डरमा भरेर बजारमा पठाउने योजना भए पनि पनि नयाँ डिपिआर गरेर पाइपलाइनमार्फत ग्यास वितरण गर्न थालिएको उनले बताए । कोरोना संक्रमणका कारण निर्माण कार्य केही ढिला भएको प्लान्ट म्यानेजर श्रेष्ठ बताउँछन् । सुरुका दिनमा संरचना निर्माण गर्दा उक्त स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनको प्रक्रियामा समय लागेकाले निर्माण कार्य ढिला भएको उनले बताए ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल उर्जा विकास कम्पनी प्रालि र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको श्रेष्ठले बताए । त्रिपक्षीय सम्झौता २०७५ मंसिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले करिब २० करोड लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घर–घरसम्म ग्यास पु¥याउनुपर्ने भएपछि करिब २२ करोड लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताए ।

यो रकम घर–घरसम्म ग्यास पाइपमार्फत पु¥याउँदा खर्च हुनेछ । फोहरबाट ग्यास उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैले व्यहोर्ने सहमति भएको श्रेष्ठ बताउँछन् । संरचना निर्माणका लागि नगरपालिकाले करिब ३ बिगाहा जग्गा उपलब्ध गराएको छ । उक्त ग्यास प्लान्ट २ हजार घनमिटरमा छ । फोहरबाट ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने उनले बताए ।

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौता अनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताए । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने उनले बताए । ‘नगरपालिका र कम्पनीबीच २० वर्षको सम्झौता भएको छ, त्यसपछि सबै नगरपालिकालाई हस्तान्तरण गर्नेछौं’, म्यानेजर श्रेष्ठले भने– ‘यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सकेमा नगरपालिकाको आम्दानीको स्रोत हुनेछ ।’

Blog Post Ad

ग्याससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने भएपछि फोहर व्यवस्थापनमा समेत सहजता हुने अपेक्षा गरिएको छ । जिल्लामा नै फोहरबाट ग्यास उत्पादन भएपछि ग्यासको मूल्य पनि कम हुने नागरिकले अपेक्षा लिएका छन् । फोहरबाट ग्यास उत्पादन गर्न थालिएको जिल्लामा यो पहिलो हो । जिल्लामा निर्माण गर्न थालिएको यस प्रकारको कार्य अवलोकन गर्नका लागि जिल्ला तथा बाहिरी जिल्लाहरुबाट नागरिक आउने गरेका छन् ।

फोहरबाट ग्यास तथा कम्पोष्ट मल उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने नगरपालिकाको अपेक्षा छ । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । नगल्ने फोहरसमेत उपमहानगरपालिकाले किन्न थालेको छ । यसले नगर सरसफाईमा सहयोग पुग्ने अपेक्षा नगरपालिकाको छ ।

Blog Post Ad Blog Post Ad