नागरिकको आक्रोश –ढलानका टुक्रा उठाएर भवन डिभिजनको कार्यालयमा थुपारियो

घोराही, १८ माघ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय दाङको प्रांगणमा मंगलवार ढलान उम्काएका टुक्राहरुको थुप्रो थियो । घोराहीको भरतपुर क्याम्पस रोडमा उम्काएर छरपस्ट पारिएका ढलानका टुक्रा बटुलेर कार्यालयमा फालिएको हो । सडक निर्माणको सम्झौता भएको तीन बर्ष हुँदा पनि काम सुरु नभएका कारण भरतपुरका नागरिकहरु आक्रोशित हुँदै शहरी विकास तथा भवन डिभिजन कार्यालयले उम्काउन लगाएको टुंक्राहरु फालेका हुन् ।
सडकमा जथाभावी रुपमा फालिएका ढलान गरिएका सिमेन्ट, सरियाका एक टिप्पर लिएर कार्यालयको गेट भित्र फालेका हुन् । २०७७ साल चैत १ गते आत्रेय÷पूर्णचन्द÷बस्नेत जेभी निर्माण कम्पनी संग सडक विभाग रोड देखि तल्लो भरतपुर रोड सम्मको सडक निर्माणको सम्झौता गरिएको थियो । निर्माण सम्झौता भएको चार महिना अर्थात असार अन्तिम सम्ममा निर्माणको काम सक्नुपर्ने थियो । तर कोरोना भाइरसका कारण काम सुरु हुन नसकेपछि प्रदेशको नीति अनुसार यही ०७८ चैत अन्तिम सम्म समय थप गरिएको छ । तर भरतपुरका नागरिकहरुले जथाभावी रुपमा खनेर जोखिमपूर्ण सडक बनाएको भन्दै विरोध गरेका हुन् ।
सडकको नालासहित फुटपाट बनाउने जिम्मा पाएका निर्माण कम्पनीले समयमै काम नगरेपछि भत्काएर सडकमा छोडेका सामग्री लगेर सहरी विकास तथा भवन कार्यालयको थुपार्नुपरेको माथिल्लो भरतपुर टोल विकास समितिका अध्यक्ष गुरु प्रसाद आचार्यले बताए । “भिग्रेली चोक देखि भरतपुर स्कुल सम्म सडकको अवस्था जोखिम पूर्ण छ”–उनले भने । जथाभाबि खनेर बिगारिएको सडक निर्माणको लागि कार्यालयमा धाउदा पनि निर्माण कार्य अगाडी नबढेपछि यो कदम उठाउनुपरेको उनको भनाई थियो । सडकको दायाबाँया खनेर छोडिएको छ, भने निर्माण सामाग्रिहरु जथाभावी रुपमा थुपारिएको छ । जसले सडकलाई साघुरो बनाएको छ । सडकमा परेका ठुला खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ ।
सडक निर्माण अगाडी बढाउने भन्दै छेउछाउ खनिदा खानेपानीको पाइप काटिएका छन् । “गएको बर्ष बाटो खन्दा पाइपलाइन काटिएका हुन्, ती पाइपलाईनहरु बनाइराख्नुपर्ने भएको छ, ट्याक्करको पानी खानुपर्ने स्थिति छ”टोल विकास समितिका अध्यक्ष आचार्यले भने । “काटिएर जोडिएका पाइपलाईन छुट्दा सडकभर पानी बनेर चिप्लो भएको हुन्छ, यसले दुर्घटना समेत बढाएको छ, स्थानिय दीपक आचार्यले भने । ठेकेदारले नाला निर्माण गर्ने भन्दै भएको नाला समेत भत्काएपछि हिडडुल गर्न समस्या भएको बताए । नाला तथा सडक निर्माणका लागि भन्दै निर्माण व्यवसायीले सडकमा डोजर लगाएपछि बाटोको अवस्था झन बिग्रिएको हो ।
सहरी विकास तथा भवन कार्यालयले भने निर्माण व्यवसायीको अटेरीपनाका कारण नालासहितको फुटफाट निर्माणमा समस्या भएको बताएको छ । कार्यालयका इन्जिनियर नारायण ओलीका अनुसार निर्माण कम्पनीले आफ्नै ढंगले काम सुरु गरेको थियो । प्राबिधिकको सल्लाह बिना काम सुरु गर्दा सडक भन्दा माथिल्लो भागबाट नाला निर्माण गर्न सुरु गरेको थियो । तर भवन डिभिजन कार्यालयका प्राबिधिकले निर्माणको काम मापदण्ड अनुसार नभएको भन्दै भत्काउन लगाएपछि निर्माण व्यावसायिकको आलटाल बढेको हो । तर पछिल्लो समयमा निर्माणको काम अगाडी बढाउने प्रतिवद्धता गरेको इन्जिनियर वलीले जानकारी गराए । प्रदेश सरकारको योजना अनुसार नाला सहितको फुटपाथ निर्माण गरिनेछ । भने घोराही उपमहानगरपालिकाले कालोपत्रे गर्ने गरि निर्माणको सम्झौता भएको छ ।