आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी
दाङ १८, माघ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ । त्यसअघि नै स्थानीय तहको चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । जसको आधारमा सत्तारुढ दलले निर्वाचनको तयारी स्वरुप विभिन्न पक्षसँगको भेटघाट र परामर्शको काममा तीव्रता दिएको छ ।
निर्वाचन अनिवार्य शर्त बनेपछि सत्तारुढ दललाई स्थानीय तहको निर्वाचनको मिति तोक्न दवाव बढेको छ । उता, निर्वाचन आयोगले पनि स्थानीय तहको चुनाव गर्नका लागि तयार बताईरहेका बेला सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गर्नुभएको थियो भने आयोगले पनि त्यही मितिमा चुनाव गर्न सकिने परामर्श दिएको थियो ।
छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावको तयारी अघि बढाउन आयोगलाई आग्रह गर्नुभएको छ । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । तर सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको चुनावको मिति तोक्न सकेको थिएन ।
यसैबीच, निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च हुने प्रस्ताव गरेको छ । सात सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्दा झन्डै १२ अर्ब रुपैयाँ खर्च हुने आयोगका पदाधिकारीले बताएका छन् । चुनावमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुने आयोगको भनाइ छ ।
२०७४ सालमा तीन चरणमा चुनाव गर्दा आठ अर्बभन्दा बढी रकम खर्च भएको आयोगले जनाएको छ । यसपालि कोरोना भाइरसको जोखिम भएकाले पनि यसअघिको भन्दा खर्च बढ्ने आयोगको अनुमान छ ।