दिनभित्रै नेविसङ्घको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने

दाङ १८, माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनभित्रै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् ।
महामन्त्री थापाले यही आउँदो शुक्रवार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसङ्घको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताए हो । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसङ्घका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
मङ्गलवार नेपाल विद्यार्थी सङ्घका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसङ्घभित्र देखिएको समस्या समाधान गर्ने काम त्यही सङ्गठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाइ नहुने बताए । उनले भने, ‘केही दिनभित्रै हामी निर्णय गर्छाैँ । नेविसङ्घलाई अधिवेशनमा लिएर जाने वातावरण बनाइ दिन तपाईँहरूलाई आग्रह गर्दछु ।’
महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसङ्घभित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको पनि स्मरण गराए । भेटमा नेविसङ्घका नेताहरूले महाधिवेशन छिटो सम्पन्न गराएर क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने काममा सहयोग गरिदिन आग्रह गर्दै महामन्त्री थापालाई अनुरोध पत्र बुझाएका थिए ।