Ad Area

किन बनेन फोरलेन सडक ?


घोराही २०, माघ । घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको काम पुसको दोश्रो साताबाट युद्धस्तरमा हुने भनेको धेरै भयो तर कामको अवस्थाबारे अत्तोपत्तो छैन । पछिल्लो समय सर्वाधिक चासोको रुपमा रहेको सो सडकको काम यसअघि मंसीर १० गते निर्माणको जिम्मा लिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले एक सातामा काम शुरु गर्ने बताए पनि पहिलेको पेटी ठेकेदारसँगको कागजी प्रकृया मिलाउँदा तथा भौतिक प्रगति अघि बढाउन अपनाउनु पर्ने कानूनी र प्राविधिक प्रकृयामा ढिलाई हुँदा पुसको दोश्रो साताबाट व्यापक जनशक्ति र मेशीनरी प्रयोग गरेर काम शुरु हुने बताएको निर्माण कम्पनी आफै गमुनाम बनेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि विजय पाठकले कामको जिम्मा लिएको पहिलो ठेकेदारको लापरवाहीका कारण कागजी र कानूनी प्रकया मिलाउँदा काम गर्न ढिलाई भएको जानकारी गराउँदै प्रहरी प्रशासन र सडकको इन्जिनियरिङ गरेको कन्सल्टेन्सीले कागजात उपलब्ध गराएसँगै कामको प्रकृया अघि बढेको बताएको महिनौ बितिसक्दा पनि कामको प्रगति केही हुन सकेको छैन ।

अहिले भौतिक प्रगति नदेखिँदा सबैलाई काम किन भएन भनेर जिज्ञासा बढ्दै गएको छ । निर्माण कम्पनीले मंसीर १० गतेयता कम्पनीको कागजी प्रकृया अघि बढाएको, निर्माणका लागि चाहिने माटो ढुंगा खोज्ने काम भएको, स्ट्याम जेभी कन्सल्टेन्सीसँग सडकको पूरा इन्जिनियरिङ डिजाईन ल्याउने तथा माटो परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने काम गरेको बताएपनि यसको आधिकारिकतामै प्रश्न उब्जिएको छ ।

निर्माण कम्पनी तथ्यले आफै काम गर्ने जिम्मेवारी लिएपछि सडकको बेञ्च मार्क प्वाइन्ट पत्ता लगाउने, पुनः सबै स्थलको सर्वे गर्ने काम गरेको बताए पनि अहिलेसम्म निर्माण स्थलमा काम भताभुङ्ग बनाउने बाहेक केही हुन सकेको छैन । निर्माण कम्पनीका प्रतिनिधि पाठकले पुरानो जनशक्ति आफुसँग नहुँदा पनि बेञ्च मार्क प्वाईन्ट पत्ता लगाई ईन्जिनियरिङ गर्न समस्या भएको बताए छ । अहिले पनि निर्माण कम्पनी आफैले फिल्डमा काम नगरेर तीनवटा सब कन्ट्रयाक्टरबाट काम गर्ने तयारी गरेपनि ती पेटी ठेकेदारको अवस्था पनि एकादेशको कथा जस्तै बनेको छ ।

सबै दायित्व सम्बन्धित कम्पनीको रहने गरी तीन भागमा विभाजन गरेर पेटी ठेकेदार नियुक्त गरेको निर्माण कम्पनीका प्रतिनिधि पाठकले बताए । उहाँका अनुसार, पहिलो खण्डको ५ किलोमिटर बेडा बाबा कन्स्ट्रक्सनले, दोश्रो खण्ड १२ किलोमिटर विमला निर्माण सेवाले र तेश्रो खण्डको १२ किलोमिटरको काम शिवपुरी निर्माण सेवाले गर्ने बताए पनि उनीहरु कहाँ छन् भन्ने ठेगान छैन ।
फोरलेन सडक अन्तर्गत बबई नदीदेखि कटुवा खोलासम्म २ लेन ११ मिटरको ६. ५३ किलोमिटर घोराहीको डिके पेट्रोल पम्पदेखि सर्रा चोकसम्मको ४ किलोमिटर ४ लेन २१ मिटर चौडाई बन्ने भएको छ । यस्तै, सर्रा चोकदेखि नारायणपुर बजारसम्मको ३.३ किलोमिटर ११ मिटर चौडाईको २ लेन सडक बन्ने भएको छ भने, नारायणपुर बजारदेखि खैरा चोकसम्म २.१ किलोमिटर २१ मिटर चौडाईको ४ लेन, खैरा चोकदेखि दुधरास ३.७ किलोमिटर ११ मिटर चौडाईको २ लेन र दुधरास चोकदेखि हात्ती खौवासम्म ८.३ किलोमिटर २१ मिटरको चार लेनको सडक निर्माण हुनेभएको छ ।
कुल २८.१९ किलोमिटर सडक खण्डमा १४.४६ किलोमिटर ४ लेन र १३.७३ किलोमिटर २ लेनको बनाउने गरी सडकको दुवै किनार भताभुङ्ग पारिएको छ । सन् २०१९ जुलाईबाट कार्य प्रारम्भ गरी मे २०२० मा सडक निर्माण कार्य सम्पन्न गरी फोरलेन सडक हस्तान्तरण गर्नुपर्ने बेलासम्म सडकको भौतिक प्रगति सात प्रतिशत मात्रै भएको छ ।

 

Blog Post Ad
Blog Post Ad Blog Post Ad