Ad Area

सार्वजनिक स्थलका धाराःभए बिचरा


घोराही २०, माघ । कोरोना महामारीको शुरुवाती चरणमा मास्क लगाउने, सेनिटाइजरको प्रयोग नियमित रुपमा गर्ने, पटक पटक साबुनपानीले राम्रोसँग हात धुने अभियान चलाइयो । यो नियम केही समय पालना पनि भयो । जसका लागि सार्वजनिक स्थलहरुमा स्थानीय सरकार, विभिन्न संघसंस्थाहरुले सावुनपानीको व्यवस्था गरे । कयौं स्थानमा नागरिकको स्वास्थ्य सावधानीका लागि धाराहरु पनि जडान गरियो । अहिले ती धारा प्रयोग बिहिनको अवस्थामा छन् । धारा छ, पानी छैन । साबुनको त झन ठेगान हुने कुरै भएन । हात धुन जडान गरिएको प्यानमा पुकार, गुट्खा, सुर्तीका खोस्टा र अरु फोहोर राख्ने थलो बनेको छ ।

सफा हुन बनाइएको स्थल नै फोहोर राख्ने स्थानका रुपमा परिणत भएको देख्न सकिन्छ । कयौं सार्वजनिक स्थान र सरकारी कार्यालयमा यस्तो अवस्था देख्न सकिन्छ । घोराहीको मुख्य चोकमा हात धुनका लागि जडान गरिएको प्यानसहितको धारामा पानी, साबुन केही छैन । धुलो लतपतिएको छ । त्यही ठाउँबाट दिनहुँ हजारौँ जना बाटो काटेर जान्छन् । तर, यसमा कसैको ध्यान पुगेको छैन । शुरुशुरुमा यही हात धुने धाराको प्रयोग धेरैले गरे । सबैको नजरमा यो धारा परेको पनि थियो । तर, बिस्तारै यसको प्रयोग हुन छाड्यो । धारामा पानी नआएपछि प्रयोग गर्न सक्ने अवस्था पनि भएन । यस्ता धारा बजारका विभिन्न स्थानमा यत्तिकै अलपत्र अवस्थामा फोहोर राख्ने भाँडोका रुपमा परिणत भएको छ ।

जुन प्रयोजनका लागि बनाइएको हो, त्यस तर्फ सम्बन्धित निकायले निरन्तरता दिन नसक्दा नै आर्थिक खर्च गरेर बनाइएको सार्वजनिक सम्पत्तिको दुरुपयोग हुने गरेको छ । यस्ता कारणले पनि आम नागरिकमा स्वास्थ्य सतर्कता र सावधानीमा कम चासो पर्दै गएको आभाष हुने गरेको छ । दुई वर्षअघि कोरोना महामारी भित्रिदा दाङमा बेग्लै सतर्कता थियो । हरेक नागरिकमा कोरोनाबाट कसरी बच्न सकिन्छ भन्दै स्वास्थ्य सावधानी अपनाउने काम हुँदै आएको थियो । अहिले हिजोको जस्तो अवस्था छैन । कोरोना महामारीको तेस्रो लहरले धेरैलाई संक्रमित बनाए पनि पहिलेको जस्तो स्वास्थ्य सतर्कता अपनाउने, स्वास्थ्य सावधानी अपनाएर सार्वजनिक स्थलमा निस्कने काममा सम्वेदनशील भएको पाईएको छैन ।

स्वास्थ्य कार्यालय, स्थानीय सरकार, विभिन्न संघ संस्था, राजनीतिक दलहरुले कोरोना महामारीबाट बच्न स्वास्थ्य सावधानी अपनाउन र यसको व्यवहारिक कार्यान्वयनमा चासो कम हुँदै गएको पाइएएको छ । दाङको मुख्य बजार घोराहीमा अहिले पनि दैनिक हजारौँको ओदोरदोहोर हुन्छ । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भीडभाड नगर्न, भेला, सभा समारोह, जमघट नगर्न भनेपनि सार्वजनिक स्थलमा अहिले पनि ठूलो भीड देखिन्छ । बजारमा कामको सिलसिलामा ओहोरदोहोर गर्नेहरुले प्रायः न मास्क लगाएका छन्, न भौतिक दूरी कायम गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा जनस्वास्थ्यको मापदण्ड पालनामा लापरवाही गरिएको छ । जसले गर्दा जिल्लामा ‘मास्क खोई’ अभियान पनि सञ्चालन गरिएको छ । प्रहरीले पुनः शुरु गरेको तपाईको मास्क खोई अभियान अन्तर्गत विभिन्न संघसंस्था, राजनीतिक दलहरुले पनि अभियान अघि बढाए पनि नागरिकले यो विषयलाई खासै गम्भीर रुपमा लिएको पाइएको छैन ।

निजी क्षेत्र दाङ जिल्ला उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, गैर सरकारी संस्था लगायतले स्थानीय सरकार, प्रहरी सँगको सहकार्यमा हजारौँ थान मास्क सर्वसाधारणलाई बाँडी सकेका छन् । यसरी सार्वजनिक स्थलमा हजारौँ थान मास्क बाँड्नु भनेको नागरिक सार्वजनिक स्थलमा निस्कँदा मास्क बिना नै निस्केको प्रष्ट हुन्छ । ‘फेरि जोखिम बढ्यो । मास्क नलगाई हिड्नेहरु धेरै भेट्यौँ सावधानी अपनाउन पर्छ भन्ने तर्फ खासै चासो दिएको पनि पाईदैन खै किन हो नागरिक वर्गमा कोरोना प्रतिको दृष्टिकोण फेरिएको हो कि लापरवाही हो,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले भने, ‘यसप्रकारको लापरवाहीले जनस्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । तसर्थ सजगता अपनाउन जरुरी छ ।’

सरकारले २५ जना भन्दा बढीको भिडभाड निषेध गरेको छ । अनिवार्य जनस्वास्थ्यको मापदण्ड पालना गर्न अपिल गरेको छ । तर, नागरिकहरुले त्यसको पालना गरेका छैनन् । ‘जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोरोना भाइरसको जोखिमबाट बच्न सकिने भन्दै पटक पटक सचेतनाका कार्यक्रम गरिए पनि यस प्रति नागरिक वर्ग अपेक्षाकृत सम्वेदनशील नभएको पाइएको छ तर सेचतना र खबरदारी निरन्तर गर्नुपर्छ,’ स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले भने, ‘सरकारले मापदण्ड जारी गरेको छ । त्यो मापदण्ड इमानदारीपूर्वक पालना हुनुपर्छ ।’

Blog Post Ad

स्थानीय सरकारले पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न नागरिकहरुलाई अपिल गर्दै आएको छ । तीव्रगतिमा कोरोना भाइरसको संक्रमण फैलिरहँदा त्यसबाट जोगिन सजकता अपनाउन र खोप लगाउन प्रेरित गर्दै आएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी बताउछन् । ‘स्थानीय सरकारले नगरबासीहरुमा अपिल गरेको छ । लापरबाही र हेलचक्र्याइँ कतैबाट नहोस् भन्ने नै हो, सामान्य लापरवाहीले भोलि हुने ठूलो क्षति बारे बेलैमा सोँच्नुपर्छ’ उनले भने, ‘हामी भविष्यमा आउन सक्ने विपत्तिको सामना गर्नेगरी अघि बढेका छौँ ।’
उसो त, अहिले आम नागरिकलाई कोरोना विरुद्धको खोप अभियानमा जोडेपछि नागरिकहरुमा आत्म विश्वास बढेर गएको छ । जसका कारण स्वास्थ्य सावधानी अपनाउने भन्दा खोपले नै सुरक्षा गर्छ भन्ने धारणाको विकास हुँदै गएको पाइएको छ । तर, खोप नै कोरोना नियन्त्रणको सबै विकल्प नभएको स्वास्थ्यकर्मीहरुको भनाई छ । स्वास्थ्य सावधानी अपनाउनु हरेक नागरिकको कर्तव्य भएकाले आफु सुरक्षित छु भनेर भ्रममा नबस्न सबैमा सरकारले अपिल पनि गर्दै आएको छ ।

 

Blog Post Ad Blog Post Ad