Ad Area

लुम्बिनी प्रदेशमा ४१ जनालाई कालाजार


घोराही, २० माघ । कालाजार उपेक्षित रोगमा पर्दछ । यो रोगका कारण मानिसहरु प्रभावित बनेका छन् । कम सुनिएको तथा वास्ता नगरिएको रोग भएपनि कालाजारका कारण समस्या भने निम्तिएको छ । लुम्बिनी प्रदेशमा सबै जिल्लामा कालाजार रोगका विरामीहरु रहेको स्वास्थ्यको तथ्याङ्क छ ।
प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा ४१ जना कालाजार रोगका बिरामी रहेको तथ्यांक छ । जसअनुसार सबैभन्दा बढी बर्दियामा आठ जना, बाँकेमा सात, दाङमा चार, कपिलबस्तुमा तीन, रुपन्देहीमा पाँच, नवलपरासीमा दुई, पाल्पामा चार जनामा कालाजार रोग देखिएको छ ।

यस्तै गुल्मीमा एक, अर्घाखाँचीमा तीन, प्युठानमा तीन, रोल्पामा एक जना बिरामी भेटएको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयका ल्याव टेक्निसियन खिमलाल पाण्डेयले कालाजार एक किसिमको प्रजिवाणु लैसमनिया डेनोभनीको कारणबाट हुने रोग भएको बताए ।

यो जिवाणु कुकुर, स्याल, फ्याउरो, दुम्सी, मुसा तथा अन्य स्तनधारी जनावरको शरीरमा विकसित हुन्छ । त्यहाँबाट फ्लेबोटोमिइस जातको पोथी स्यान्डफ्लाइ भुसुनामा सर्छ र उक्त भुसुनाले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्छ । खेतबारीमा काम गर्दा, वनजंगलमा घाँस–दाउरा गर्दा, खोला, ताल, पोखरीवरिपरि काम गर्दा, माछा मार्दा यस भुसुनाले मानिसलाई टोक्ने सम्भावना हुनेगर्दछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कालाजार उमेरकामा हुन सक्ने भए पनि दस वर्ष मुनिकामा बढी पाइन्छ । महिलाभन्दा पुरुष दोब्बरले बढी पीडित रहेको देखिन्छ । साथै घरबाहिर खेतीपातीमा संलग्न मानिसमा बढी आक्रमण भएको पाइन्छ । कालाजारको लक्षण औलो रोगसँग पनि मिल्दोजुल्दो हुने भएकाले प्रयोगशाला परीक्षणबिना यसको पहिचान हुन गाह्रो पर्छ ।
संक्रमित स्यान्डफ्लाईले स्वस्थ व्यक्तिलाई टोकेपछि लगातार ज्वरो आउनु ९९ प्रतिशतमा यसको प्रमुख लक्षण हो । तर भुसुनाले टोकेको एकदेखि चार महिनाभित्र प्रायः देखिन्छ, तर दुईदेखि आठ महिनापछि र केहीमा त १०–१२ वर्षमा मात्र रोगको लक्षण देखा पर्न सक्छ । भुसुनाले टोक्नासाथ सबैलाई कालाजार रोग लाग्छ भन्नेचाहिँ छैन र यो प्रत्येक व्यक्तिको रोग–प्रतिरोधात्मक क्षमतामा भर पर्छ । कालाजार रोग लागेमा हप्ताभन्दा बढी समयदेखि मन्द ज्वरो आइरहन्छ र एकै दिनमा बढ्ने र घट्ने हुन्छ । पसिना आउँछ । छालामुनि फोका उठी छालाको तहमा घाउ बन्छ । घाँटी तथा काखीका ग्रन्थि सुन्निन्छ । फियो र कलेजो ठूलो भई पेट पनि घैंटोजस्तो ठूलो हुने र दुख्ने गर्छ । कमजोरी र आलस्य महसुस हुन्छ ।
शरीर निकै दुब्लो भई पातलो हुन्छ । कुपोषणले प्रतिरोधात्मक शक्तिमा ह्रास ल्याई अवसरवादी जीवले पटकपटक संक्रमण गर्ने गर्छ । टाउकोका रौं झर्न थाल्छन् । खान मन लाग्दैन । तौल घट्दै जान्छ । रगतको कमी हुने र रक्तअल्पताले बिरामी फुस्रो, पहेंलो देखिने गर्छ । अनुहार, हात, खुट्टा तथा पेटको छाला सुख्खा हुने, खस्रो देखिने र कालो हुँदै जाने गर्छ । झाडाबान्ता हुन्छ । खोकी लाग्छ । बिरामी साह्रै कालो, दुब्लो र कमजोर भई क्षयरोग, निमोनिया, आउँ जस्ता संक्रमणले जटिल अवस्था निम्तिन सक्छ ।