अभिभावकले गुनासो गरेपछि माघ मसान्तसम्म भौतिक रुपमा पठनपाठन बन्द
घोराही,२१ माघ । सबै बालबालिकालाई कोरोना विरुद्धको खोप नलगाएसम्म भौतिक उपस्थितीमा पठनपाठन गर्न नहुने भन्दै अभिभावक वर्गबाट गुनासो आएपछि प्रहरीले चासो लिएको छ ।
नेपाल सरकार गृहमन्त्रालय, कोरोना संकट व्यवस्थापन केन्द्रको यसअघिको निर्देशन र परिपत्र कार्यान्वयन संस्थागत विद्यालयले लापरवाही गरेको भन्दै अभिभावकले प्रहरीमा विद्यालयको नामसहित उजुरी दिएपछि प्रहरीले चासो लिएको हो । बिहीबार जिल्ला प्रहरी कार्यालय दाङमा संस्थागत विद्यालयका प्रिन्सिपलहरुलाई बोलाएर सरकारले जारी गरेको निर्देशन पालना गर्न र सबै बालबालिकालाई कोरोना विरुद्धको खोप अभियानमा सरिक गराउन अपिल गरेको छ ।
अभिभावकले विभिन्न ३४ विद्यालयको नामसमेत उल्लेख गरी भौतिक उपस्थितीमै पठनपाठन गर्दा बालबालिका कोरोनाको जोखिममा परेको गुनासो गरेपछि लापरवाही नगर्न र वैकल्पिक माध्यमबाट शिक्षण सिकाई सहजीकरण गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
विद्यालयका प्रिन्सिपलहरुले पठनपाठन गर्न कुनै समस्या नभएको, अभिभावकहरुले पनि बालबालिकालाई सहज रुपमा पठाईरहेको बताउँदै अब भौतिक उपस्थितीमा पठनपाठन गर्ने दावी गरेपछि सरकारको निर्देशन अटेरी गरेर अघि बढे कानून अनुसार कारवाही हुने चेतावनी दिएपछि प्रिन्सिपलहरु हच्किएका थिए ।
‘सरकारको निर्देशन र अभिभावकको गुनासो अनुसार जिल्लामा अहिलेको अवस्थामा पठनपाठन भौतिक उपस्थितीमा बालबालिकालाई नपढाऔँ भनेको हो तर प्रिन्सिपलहरुले शुरुमा अटेरी गरेको जस्तो जवाफ दिनु्भयो, मैले यसो भए कानून अनुसार हामीले पनि प्रकृया अघि बढाउनुपर्छ भनेपछि उहाँहरु हच्किनुभयो,’ प्रहरी उपरीक्षक काफ्लेले भन्नुभयो, ‘भर्चुअलमाध्यमबाट पढाउन कुनै रोकावट छैन, यो बीचमा कोरोना विरुद्धको खोप अभियान चलेको छ, सबै बालबालिकाले खोप लगाए भने सहज हुन्छ भनेपछि मान्न तयार हुनुभएको छ ।’
प्रहरी प्रमुख काफ्लेका अनुसार जिल्लामा माघ मसान्तसम्मलाई भौतिक उपस्थितीमा बालबालिकालाई पठनपाठनमा रोक लगाइएको छ । यो बीचमा भर्चुअल माध्यमबाटै पढाउन आग्रह गरिएको छ । अब सबै विद्यालयले वैकल्पिक शिक्षण सिकाई सहजीकरण अनुरुप अर्चुअल माध्यमबाट पढाउन सक्नेछन् ।
संस्थागत विद्यालयले भौतिक उपस्थितीमै पठनपाठन भईरहेको सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्दै आएका थिए । जसले गर्दा पनि कहीँ पठनपाठन हुने कहीँ नहुने अवस्था आएको भन्दै जिल्लामा एक रुपता ल्याउन अभिभावकहरुले आग्रह गर्दै आएका थिए । सामुदायिक विद्यालयमा भने हाल भौतिक उपस्थितीमा बालबालिकाहरुले पठनपाठन गरिरहेका छैनन् ।
कम्तिमा १० दिनका लागि विद्यालयमा विद्यार्थी बोलाएर पठनपाठन नगर्न गरिएको आग्रह आज शुक्रबारबाटै लागु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख काफ्लले बताउनुभयो । जिल्लामा हाल १२ वर्षदेखि १७ वर्ष उमेर समुहका ६९ हजार ५ सय ५० बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ । यसपछि ५ देखि ११ वर्ष उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय दाङका प्रमु्ख अंगदबहादुर शाहीले जानकारी दिनुभयो ।