Ad Area

साहुकार नरेशले जालसाजी गरेर सहोदर दिदीको दुई कट्ठा जग्गा पनि बेचिदिए


सर्लाहीको चन्द्रनगर गाउँपालिका– ३ बडकुर्वाका साहुकार नरेश चौधरीले जालसाजी गरेर फसाएका थप पीडितहरू भेटिएका छन् । ४५ हजार ऋण लिँदा दुई वर्षमै १० कट्ठा जमिन गुमाएकी बडकुर्वाकै दनुवार बस्तीकी सुशीला देवी र तीन लाख ऋण लिँदा पाँच कट्ठा जग्गा हडपेर सुकुमबासी बनाइएका चन्द्रनगर– ७ नाडीटोलका विजयसिंह दनुवारबारे आइतबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएको थियो । 

उनै साहुकार नरेशले सहोदर दिदीलाई समेत ठगेको भेटिएको छ । लालबन्दी– १ स्थित पुनर्वास टोलमा रहेको दुई कट्ठा घडेरी ऋण निकाल्न दृष्टिबन्धक राख्ने भनी झुक्याएर बेचिदिएको हरिपुरनिवासी दिदी पसियादेवी चौधरीले नयाँ पत्रिकासँग बताइन् । उनका अनुसार पुनर्वास टोलको उक्त घडेरी ५–६ वर्ष पहिल्यै एक लाख ५० हजारमा किनेकी थिइन् । आफ्नो घडेरीसँगै जोडिएको एक कट्ठा १४ धुर घडेरी पनि बिक्रीमा रहेको जानकारी पाएपछि पसियादेवीले भाइ नरेशलाई सुनाइन् । उनले घडेरी किन्ने इच्छा देखाए । तर, पैसा नभएको बताएपछि पसियादेवीले आफ्नै जमानीमा ५० हजार खोजेर दिइन् । 

त्यतिवेला नरेशले दिदीको विश्वास जित्न उक्त घडेरी पनि पसियादेवीकै नाममा गरिदिए । तर, घडेरी किन्दा लिएको ऋण तिर्न लामो समयसम्म भाइले चासो नदिएपछि समस्यामा पर्न थालिन् । एकल महिला पसियादेवीको थाप्लोमा आफ्नै घडेरी किन्दा र घर बनाउँदाको ऋण छँदै थियो । ऋणको बोझ घटाउन एक मात्र छोरालाई खाडी पठाइन्, तर छोराको कमाइले तत्कालै ऋणमुक्त हुन सक्ने अवस्था भएन । 

तीन वर्षअघि नरेशले लालबन्दी पुनर्वासको घडेरी दृष्टिबन्धकमा राखेर ऋण निकाल्ने र दिदीको पैसा तिरिदिने योजना सुनाए । घर सल्लाह गरेपछि पसियादेवीले स्विकारिन् । एक दिन बिहानै नरेशले मालपोत सेवा कार्यालय हरिवन पुर्‍याए । दिदीलाई बाहिरै बस्न लगाएर उनी कागजात मिलाउन भन्दै मालपोत छिरे । केहीबेरपछि कागजात ल्याएर सहीछाप गर्न भने । दृष्टिबन्धक राख्ने भनिएको घडेरी भाइले बिक्री गरिदिएको पसियादेवीलाई पत्तो भएन । केही समयपछि जग्गा निखनेर निकाल्न भन्दा भाइले वास्ता नगरेपछि मालपोत गएर बुझ्दा मात्रै थाहा पाइन्– तीन कट्ठा १४ धुर नै जग्गा महोत्तरीको साबिक पर्सा गाविसनिवासी कामिनीदेवी सिंहको नाममा रजिस्ट्री पास भइसकेको रहेछ । 

‘भाइ (नरेश)ले घडेरी दृष्टिबन्धकमा राखेर ऋण निकाल्ने र पैसा तिरिदिने भनेर एक दिन बिहानी हरिवन मालपोत पु¥यायो । मलाई बाहिरै बस्न भनेर कागजात मिलाउन भन्दै भित्र गयो । केहीबेरपछि बाहिर आएर कागजातमा सहीछाप गर्न भन्यो । म नपढेको मान्छेलाई के थाहा, उसले भनेअनुसार गरेँ,’ पसियादेवीले नयाँ पत्रिकासँग भनिन्, ‘केही समयपछि जग्गा निखनेर निकाल्न भन्दा वास्ता गरेन । अनि मालपोत गएर बुझ्दा त सबै तीन कट्ठा १४ धुर जग्गा महोत्तरीको साबिक पर्सा गाविसनिवासी कामिनीदेवी सिंहको नाममा रजिस्ट्री पास भइसकेको रहेछ ।’ 

भाइले जग्गा बेचिदिएपछि पसियादेवीले समाज गुहारिन् । १ चैत ०७७ मा गाउँमा केही भद्रभलाद्मीसमेतको उपस्थितिमा छलफल भयो । नरेशले दिदीलाई पाँच लाख दिने सहमति गरे । तर, अहिलेसम्म पैसा दिएका छैनन् । कि जग्गा कि पैसा माग्दा मुद्दा हाल् भन्दै धम्क्याउने गरेको पसियादेवीले गुनासो गरिन् । जब कि त्यही घडेरी किन्दाको ऋण तिर्न खाडी छिरेको छोरो ऋणकै कारण अहिलेसम्म घर फर्किन सकेका छैनन् । 

Blog Post Ad

‘भाइले नै ममाथि विश्वासघात गर्‍यो । अहिले जग्गाको कुरा ग¥यो भने मुद्दा हाल् भनेर धम्क्याउँछ । म अनपढ मान्छेले के गर्न सक्छु ?’ उनले भनिन्, ‘त्यही जग्गा किन्दा लागेको ऋण चुक्ता नहुँदा खाडी गएको छोरो घर फर्किन पाएको छैन । छोरीको बिहे भइसक्यो । म एक्लै घरमा तनावमा छु ।’ 

मजदुरी गरेर फर्किएका ऋणीसँग पैसा मात्रै लुटेनन्, नागरिकता पनि जफत गरे
बडकुर्वा गैरीटोलाका प्रदीपकुमार माझीले पनि साहुकार नरेशसँग ३० हजार ऋण लिएका थिए । केही पैसा घरपरिवारलाई छाडी केही पैसा बोकेर उनी मजदुरी गर्न पन्जाब पुगे । ६ महिना पन्जाबमा मजदुरी गरेर ३० हजार जम्मा गरे । केही समयअघि त्यही पैसा लिएर घर फर्किएका उनी साहुकार नरेशबाट बाटैमा लुटिए । 

‘साहुलाई नै तिरौँला भनेर ३० हजार लिएर आएको थिएँ । उनले म फर्किएको थाहा पाएछन् । बाटैमा पैसा खोसिदिए । नागरिकता जफत गरे,’ प्रदीपले आइतबार नयाँ पत्रिकासँग भने ।  मूलधन खोसेर लगेपछि प्रदीपले ब्याजको हिसाब देखाउन भने । नरेशले एक लाख ५० हजार तिर्नुपर्ने हिसाब देखाए ।साहुकारको हिसाब सुनेर उनी रुनु न हाँस्नु भए । ‘मजदुरी गरेर मुस्किलले परिवार पालिरहेको मान्छे, त्यत्रो पैसा कसरी तिर्नू,’ प्रदीपले गुनासो गरे, ‘नागरिकता पनि जफत गरेको छ । ऋण तिरेपछि मात्रै फिर्ता गर्ने रे ! नागरिकता नहुँदा स्थानीय सरकार र संघसंस्थाले कहिलेकाहीँ दिने राहतबाट समेत वञ्चित हुनुपरेको छ ।’ 

५० हजार ऋणको हिसाब वर्ष दिनमै दुई लाख ४० हजार, भैँसी पनि पालिदिनुपर्ने
ईश्वरपुर नगरपालिका– ३ सिंहटोला सुकुमबासी बस्तीकी अबतीदेवी सिंहले वर्ष दिनअघि ५० हजार ऋण लिएकी थिइन् । तर, ६ महिनामा ७० हजार र त्यसको चार महिनामा ६० हजार गरेर एक लाख ४० हजार तिरिसकिन् । साहुकार नरेशले भने अझै एक लाख दिनुपर्ने भन्दै दबाब दिँदा उनी बेचैन छिन् । त्यति मात्रै होइन, ऋण दिएकै नाममा नरेशले अबतीदेवीलाई भैँसी पाल्न लगाए । एक वर्षपछि किलोबाट फुकाएर लगे । भैँसी पालेबापत उनले केही पाइनन् । 

‘कागज गरेको एक महिनापछि मात्रै ५० हजार ऋण पाएँ । त्यो पनि पटक–पटक गरेर । तर, एक वर्षमा एक लाख ४० हजार तिरिसक्दा पनि एक लाख तिर्न बाँकी छ भन्छन् । नतिरे सुकुमबासी बस्तीबाटै विस्थापित गरिदिने धम्की दिन्छन्,’ अबतीदेवीले भनिन्, ‘ऋण लिएकै नाममा भैँसीसमेत पालिदिनुप¥यो । तर, एक वर्षपछि किलोबाट फुकाएर लगे । मैले केही पाइनँ ।’ 

नरेशको धम्कीकै कारण शोभारथले घरै छाडे
सिंहटोला सुकुमबासी बस्तीमा अबतीदेवीकै छिमेकी थिए शोभारथ माझी । तीन छोरी, दुई छोरा र श्रीमतीसहित सातजनाको सुकुमबासी परिवार पाँच धुर ऐलानी जग्गामा फुसले छाएको झुपडीमा बस्थ्यो । दैनिक ज्याला मजदुरी गरेर परिवार पालेका शोभारथले डेढ वर्षअघि श्रीमती सुत्केरी हुँदा साहुकार नरेशसँग ३० हजार ऋण लिएका थिए । चौधरीले कागज गरेरै ऋण दिए, तर कागजमा के लेखे पत्तो दिएनन् । ब्याज कति तिर्नुपर्ने हो पनि भनेनन् । 

ऋण लिएको ६ महिनामा शोभारथले नरेशकहाँ लगेर ३० हजार बुझाए । तर, सरक्क पैसा लिएका साहुकारले उनलाई थप केही भनेनन् । केही समयपछि ऋण तिर्न ताकेता गर्न थाले । सावाँ तिरिसकेका शोभरथलाई लागेको थियो, ब्याज मात्र त खासै धेरै छैन होला । उनले हिसाब देखाउन भने । साहुकार नरेशले एक लाख ५० हजार तिर्नुपर्ने देखाए ।

३० हजार सावाँको ब्याज त्यति छोटो समयमै डेढ लाख देखाउँदा शोभारथ छाँगाबाट खसेझैँ भए । त्यत्रो पैसा तिर्न सक्ने कुनै उपाय नै थिएन । तर, साहुकारले छिटो ऋण नतिरे ऐलानी जग्गाबाट पनि उठीवास लगाइदिने धम्की दिन थाले । सार्वजनिक रूपमै पटक–पटक गालीगलौज र अपमान गर्न थालेपछि सहन नसकेर शोभारथ छरै छाडेर हिँडे ।  ‘साहुकारको धम्की सहन नसकेर उनीहरूले घरै छाडे । अहिले भारततिर छन् रे भन्ने सुनेको छु,’ छिमेकी अबतीदेवीले भनिन् । शोभारथको घर खण्डहर बनिसकेको छ । 

 ५० हजार ऋणको डेढ वर्षमा डेढ  लाख पुर्‍याए, नतिरे भैँसी उठाउने चेतावनी
सर्लाही ईश्वरपुर नगरपालिका–३, सिंहटोला सुकुमबासी बस्तीकै बिन्देदेवी माझीले पनि साहुकार नरेशसँग भैँसी किन्न भनेर ५० हजार ऋण लिएको डेढ वर्ष भयो । उनलाई पनि एक लाख ५० हजार तिर्न दबाब दिइरहेका छन् । ५० हजार ऋण डेढ वर्षमै डेढ लाख पुगेपछि उनी तिर्न नसक्ने अवस्थामा छिन् ।

Blog Post Ad Blog Post Ad