Ad Area

सञ्चारकर्मीका साझा मुद्दामा सबै संगठन एक हुनुपर्छ- शर्मा


प्रेस सेन्टर, नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा सञ्चारकर्मीका साझा मुद्दामा सबै संगठन एक हुनुपर्ने बताउँछन्, प्रेस सेन्टरले । न्याय, स्वतन्त्रता, परिवर्तन र अग्रगमनको पक्षमा निरन्तर कलम चलाइरहने उनको भनाई छ । प्रेस सेन्टर दाङको गतिविधि, योजना, पत्रकार महासंघमा सेन्टरको भूमिका लगायतका विषयमा केन्द्रित रहेर शर्मासँग पत्रकार सन्तोष डाँगीले गरेको कुराकानीको सम्पादित अंशः

प्रेस सेन्टर, नेपाल दाङले अहिले के गरिरहेको छ ?

प्रेस सेन्टर नेपालमा जनपक्षीय पत्रकारिता गर्ने कलमजीविहरुको संस्था हो । न्याय, स्वतन्त्रता, परिवर्तन र अग्रगमनका लागि कलम चलाउनेहरू प्रेस सेन्टरमा आवद्ध हुन सक्छन् । हामीले चौथो जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा केही प्रतिवद्धताहरू व्यक्त गरेका थियौँ । साथै, अधिवेशनपछि नयाँ कार्यसमितिको बैठकमा मैले तीन वर्षे कार्ययोजनाहरू पेश गरेको थिएँ ।

अहिले ती कार्ययोजनाहरू कार्यान्वयन गर्ने काम भइरहेको छ । मैले खास गरी तीन चार ओटा मुद्दामा केन्द्रित भएर कार्ययोजना ल्याएको थिएँ । पहिलो भनेको सङ्गठनका साथीहरुको क्षमता विकास गर्ने । त्यस अनुरूप हामीले अहिले केही तालिमहरू सञ्चालन गर्दैछौँ । सङ्गठनमा आवद्ध भइसकेका साथीहरू र नयाँ पत्रकारहरूको क्षमता विकास गर्ने मेरो पहिलो प्राथमिकता हो । अर्को कुरा हामी पेशागत संगठनमा जोड दिएका छौँ ।

कलमको माध्यमबाट समाजमा भएको विकृति विसंगतिका विरुद्ध र समुन्नत तथा समृद्ध समाज निर्माणका लागि कमल चलाउने मात्रै होइन । संस्थागत रुपमा पनि हामीले सामाजिक एजेण्डाहरूलाई उठाउनु पर्नेछ । हामीले जिल्ला तथा राष्ट्रिय स्तरमा उठ्ने सामाजिक बहस तथा एजेण्डाहरूमा आफ्नो भूमिका निर्वाह गर्नु पर्नेछ ।

श्रमजीवि पत्रकारहरूको विषयमा तपाईँहरूले केही कुरा उठाउनु हुँदैन ?

Blog Post Ad

निश्चय नै, श्रमजीवि जनताको पक्षमा कुरा उठाउने पत्रकारहरूले श्रमजीवि पत्रकारको पक्षमा कलम नचलाउने भन्ने कुरै हुँदैन । हामी श्रमजीवि पत्रकारहरूको अधिकारको पक्षमा निरन्तर लडिरहेका छौँ । श्रमजीवि पत्रकारहरूको हकहीत, उनीहरूले पाउनुपर्ने पारिश्रमिक, सेवा सुविधा आत्मसम्मानका लागि हामी निरन्तर संघर्षमा छौँ । यो एजेण्डा आजको आजै पूरा हुने विषय होइन, अभियान जारी छ ।

समाजमा वर्ग रहँदासम्म श्रमिकहरूले निरन्तर संघर्ष गर्नुपर्ने नै हुन्छ । हामीहरूले श्रमजीवि पत्रकार ऐनले प्रदान गरेका अधिकारहरूको कार्यान्वयनका लागि पहल गर्दै थप अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने हुन्छ । अहिले पनि हामी निरन्तर श्रमजीवि पत्रकारहरूको हकहीत र अधिकार कार्यान्वयनका लागि निरन्तर संघर्ष गरिरहेका छौँ ।

प्रेस सेन्टर अहिले संघीय संरचनामा गएको छ । दाङका पालिकाहरूमा कहिलेसम्म संगठन विस्तार भइसक्छ ?

हो ! वास्तविक रुपमा हामी संघीयतालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने सञ्चार संगठनहरुमा पहिलो भएका छौँ । हामीले संघीयताको अभ्यासमा संगठन संरचना निर्माण गरेको नयाँ संविधान बन्नुभन्दा पनि पहिले हो । हामीले विगतदेखि नै संगठनलाई प्रदेश संरचनामा स्थापित गरेका थियौं । हाम्रो विधानले अहिले सङ्गठनमा तीन ओटा संरचना निर्माण गरेको छ । केन्द्रीय समिति, प्रदेश समिति र पालिका समिति गरेर तीन ओटा संरचनमा संगठन बनेको छ ।

जिल्ला समितिहरु अब समन्वयमा परिणत भएका छन् । सम्पूर्ण कार्यकारी अधिकारसहितको काम अब पालिका कमिटीहरुले गर्नेछन् । अब जिल्ला समन्वयले खालि पालिकाहरुको समन्वयको काम मात्र गर्नेछ । हामीले जिल्लाको चौथो अधिवेशन गरेपछि पालिकामा कमिटी निर्माण शुरु गरिसकेका छौँ । तुलसीपुर उपमहानगरपालिकामा कमिटी निर्माण भइसकेको छ । हामी छिट्टै नै सबै पालिकाहरूमा कमिटी गठन गरिसक्ने छौँ । अहिलेको जिल्ला समिति अधिवेशनबाट निर्वाचित भएकाले केही कार्यकारी जस्तो देखिए पनि खासमा समन्वय गर्ने कमिटी मात्रै हो । सबै पालिकाहरूमा कमिटी गठन भइसकेपछि स्वतः हामी समन्वय समितिमा सिमित हुनेछौं ।

अहिले भएको अधिवेशन नै अन्तिम अधिवेशन हो । अब प्रेस सेन्टरका कुनै पनि जिल्लामा अधिवेशनबाट समिति गठन हुने छैन । सम्बन्धित जिल्लाका पालिका समितिहरु गठन भइसकेपछि सबै पालिकालाई समन्वय गर्ने गरी जिल्ला समन्वय समिति मात्र बन्ने छ ।

प्रेस सेन्टरको जिल्ला समितिहरु कमजोर भएको हो ?

जिल्ला समिति कमजोर या बलियो हुने भन्ने प्रश्न नै होइन । मुख्य कुरा त हाम्रो विधान हो । विधान अनुसार नै संगठन संरचना बन्ने हो । भलै नेपाल पत्रकार महासंघ अहिले संघीय संरचना अनुसार प्रदेश समितिसम्म गठन भएको छ । अझै पालिका समितिहरु गठन भएको छैन ।पालिका संरचनामा पत्रकार महासंघ गई नसकेकाले जिल्ला समिति नै कार्यकारी छ ।

पत्रकार महासंघ हामी सबैको साझा संस्था हो । साझा संस्थाको जिल्ला कार्यकारी भएकाले हामीले ऊसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । जस्तै दाङको हकमा १० ओटा स्थानीय तहहरु रहेका छन् ।पत्रकार महासंघ जिल्ला समितिसँग १० ओटै पालिकाले समन्वय गर्न सम्भव हुँदैन । त्यस्तो अवस्थामा प्रेस सेन्टरको जिल्ला समन्व समितिले समन्वयको काम गर्नेछ ।

पत्रकार महासंघ दाङको निर्वाचनमा दुई पक्षीय निर्वाचन भएको थियो । निर्वाचनमा प्रेस सेन्टरका उम्मेदवारहरु विजयी हुन सकेनन् । यसलाई तपाईहरुले कसरी लिनुभएको छ ?

यस पटक पत्रकार महासंघको निर्वाचनमा हामीले अनपेक्षित परिणाम व्यहोर्नु पर्यो । यसले हामीलाई निश्चय नै दुखित तुल्याएको छ । जे नहुनुपर्ने हो त्यो भएको छ । सम्बन्धीत पक्षहरुबाट इमान्दारिता पालना नगरिएको हामीले निष्कर्ष निकालेका छौं । हुन त निर्वाचन भइसकेपछि परिणामलाई सबैले स्वीकार गर्नुपर्छ । हामीले पनि निर्वाचन परिणामलाई सहज रुपमा स्वीकार गरेका छौँ ।

लोकतन्त्रको सवल पक्ष भनेकै निर्वाचन हुनु र निर्वाचित कमिटीले सहज ढंगले काम गर्न पाउनु हो । यसलाई यही रुपमा बुझौँ । तर, गठबन्धन गरिसकेपछि त्यसका सबै उम्मेदवारहरुलाई विजयी बनाउनु सबैको दायित्व हो । एउटै गठबन्ध भित्र एउटा पक्षले निर्वाचनमा विजयी हासिल गर्ने र अर्को पक्ष पराजित हुने कुरा सुहाउने विषय होइन । यसले हामी भित्रका विश्वासहरुमा बज्रपात गरेको छ ।

तपाईले निर्वाचनमा गठबन्धन भित्रबाट अन्तर्घात भयो भन्नुभएको छ । के साच्चिकै अन्तर्घात भएकै हो त ?

यस विषयमा हाम्रो संगठनले निर्वाचन सकिए लगत्तै औपचारिक रुपमा धारणा व्यक्त गरिसकेको छ । हाम्रो संगठन प्रेस सेन्टर दाङका तत्कालिन अध्यक्ष प्रकाश चौधरीले संस्थागत रुपमा हाम्रो धारणा सार्वजनिक गरिसक्नुभएको छ । हामीले संगठनको तर्फबाट गठबन्धनको मुख्य घटक प्रेस युनियनलाई पत्र पठाएर औपचारिक रुपमा हाम्रो धारणा सार्वजनिक गरिसकेका छौँ ।

पत्रकार महासंघ दाङमा प्रेस सेन्टरको भूमिका के रहन्छ ?

पत्रकार महासंघ सबै सञ्चारकर्मीहरुको साझा संगठन हो । महासंघको पदमा को व्यक्ति आउँछ भन्ने कुरा गौण हो । मुख्य कुरा महासंघले सबै सञ्चारकर्मीहरुलाई कसरी समेटेर लैजान्छ भन्ने नै हो । हामी निर्वाचित साथीहरुको सफल कार्यकालको कामना व्यक्त गर्दछौं । संगठनको तर्फबाट वर्तमान नेतृत्वलाई सफल बनाउन रचनात्मक सल्लाह, सुझाव र आलोचना गर्दछौँ ।

हाम्रा अग्रजहरुले देखाउनुभएको बाटो र महासंघको साझा चरित्रलाई कसैले पनि कमजोर बनाउनु हुँदैन । महासंघ सबैको सmाझा हो भन्ने कुराको अनुभूति दिलाउन नेतृत्वले हरदम कसरत गर्नुपर्छ । सञ्चारकर्मीहरुका साझा मुद्दामा पत्रकार महासंघ लगायत सम्पूर्ण सञ्चार संगठनहरु एक ढिक्का भएर लाग्नुपर्छ ।

Blog Post Ad Blog Post Ad