Ad Area

चार वर्षदेखि अलपत्र बाल अस्पताल


दाङ,२४ माघ । बालबालिकाको उपचारका लागि करिव डेढ दशक अघि स्थापना भएको सामुदायिक बाल अस्पताल चार बर्षदेखि अलपत्र अवस्थामा रहेको छ । २०६६ सालमा घोराही उपमहानगरपालिका–१६ स्थित सर्रामा स्थापना भएको सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घरछेउँमै अस्पताल बनेपछि आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाइने भएपछि स्थानीय खुशी थिए ।

तर स्थानीयको त्यो खुशी लामो समय टिक्न सकेन । बाल रोगको विशषेज्ञ सेवा दिने भनेर सञ्चालन ल्याएको बाल अस्पतालले स्वास्थ्य सेवा दिन सुरु गरेको वर्षदिन नपुग्दै अस्पताल बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आवासको रुपमा प्रयोग ग¥यो । अस्पतालको भवनमा प्रहरी झण्डै छ वर्ष बस्यो । तर बाल अस्पताल सञ्चालन हुन सकिन ।

प्रहरीले आफ्नै भवन निर्माण गरेपछि ६ बर्षपछि २०७३ सालमा प्रहरीले भवन खाली ग¥यो । प्रहरीले भवन छोडेपछि अस्पताल पुनः सञ्चालन गरियो । १० शैया, एक्सरे मेशिन र ल्याबसहितको सेवा राखेर अस्पताल पुनः सञ्चालनमा ल्याइयो । तर सात वर्षपछि सञ्चालनमा आएको अस्पताल छ महिना पनि राम्रोसँग चल्न सकेन । आर्थिक अभावसँगै व्यवस्थापकिय अभावमा चल्न नसकेको अस्पताल बन्द भएपछि अहिलेसम्म खुल्न सकेको छैन । पुनः बन्द भएको अस्पताल तीन वर्षयता पूर्ण रुपमा बन्द भएको छ ।

सञ्चालनका प्रयास भएपनि हुन नसकेको बताइएको छ । भारतीय दूतावासको सहयोगमा ०६६ सालमा ६६ लाखको लगानीमा अस्पताल निर्माण गरिएको थियो । दुई तले भवनसहित सञ्चालनमा ल्याएको अस्पताल आर्थिक कारणले पटक–पटक सञ्चालन हुँदै बन्द हुने गरेको छ । बाल अस्पतालको रुपमा स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले १० वर्षअघि स्थापना भएको अस्पताल अहिले पूर्णरुपमा बन्द अवस्थामा छ । करिव ११ कट्ठा जमिनमा रहेको अस्पतालको गेटमा अहिले ताला लागेको छ ।

अस्पतालको साइन बोर्ड समेत छैन । लामो समयदेखि अस्पताल सञ्चालन नहुँदा लाखौंका मेसिन तथा स्वास्थ्य उपकरणहरु खिया लागेका छन् । यता अस्पताल व्यवस्थापन समितिले भने आर्थिक अभाव देखाउँदै अस्पताल बन्दु गर्नु परेको बताउछ । आवश्यक पूर्वाधार भएपनि अस्पताल सञ्चालन गर्न आर्थिक स्रोत नभएका कारण बन्द गर्नुपरेको अस्पताल व्यवस्थापन समितिका सचिव भोला डाँगीले बताएका छन् ।

‘अस्पताल सञ्चानका लागि आन्तरिक स्रोत भएन’ अस्पताल व्यवस्थापन समितिका सचिव भोला डाँगीले भने, ‘केही समय चन्दाले पनि चलायौं । तर त्यसरी सम्भव नभएपछि अस्पताल पुनः बन्द गर्नुपर्ने अवस्था आयो ।’आन्तरीक श्रोतबाट अस्पताल सञ्चालन गर्न नसकिने भन्दै स्थानीय तहको मातहातमा यसलाई सञ्चालन गर्नुपर्ने अस्पताल व्यवस्थापन समितिको भनाइ छ ।

‘अस्पताल सञ्चालन गर्न नसक्ने भएपछि अस्पतालले सञ्चालन गर्न नसकिने भएपछि घोराही उपमहानगरपालिका मातहात अन्तर्गत चलाउन पटक–पटक आग्रह ग¥र्याै’,उनले भने, ‘तर सुनुवाई भएन ।जसले गर्दा भौतिक संरचना भएपनि अस्पताल चल्न सकेको छैन ।’

यद्यपि अस्पताल सञ्चालनका लागि भने प्रयास भइरहेको छ सचिव डाँगीले भने,‘ अस्पताल पुनः सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने तयारी भइरहेको छ । प्रदेश सरकारलाई पनि सहयोग गर्न भनिरहेका छौं ।’ अस्पताल सञ्चालनका लागि आवश्यक दाता र सहयोग प्राप्त भए अस्पताल पुनः सञ्चालन गरिन उनको भनाई छ ।

अस्पतालको समस्या यति मात्रै छैन । अस्पतालको भवनमा झण्डै सात वर्ष प्रहरी बस्दा झण्डै एक लाख २५ हजार बराबरको विद्युत महसुल तिर्नुपर्ने थियो । तर प्रहरीले विद्युत महसुल नबुझाएपछि विद्युत कार्यालयले अस्पतालमा विद्युत काटिदिएको छ ।

‘विद्युत महसुल बुझाउन भनेर प्रहरी प्रशासन धायौं । आग्रह ग¥यौं’,सचिव डाँगीले भने, ‘तर प्रहरीले महसुल बुझाएन । विद्युत नभएपछि अस्पताल सञ्चालनमा थप समस्या भयो ।’ आफै आर्थिक अभाव झेल्दै आएको अस्पतालले बिजुलीको महसुल बुझाउन नसक्ने अवस्थामा रहेको उनी बताउछन् । स्थानीय निकायको सहयोग बिना अस्पताल सञ्चालन गर्न नसकिने व्यवस्यापन समितिको निश्कर्ष छ ।

घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले अस्पतालमा अख्तियारी परेकाले तत्काल केही गर्न नसकिने बताए । ‘अस्पताल राम्रोसँग सञ्चालन हुन सकेको छैन, बन्द छ’ उनले भने, ‘अष्तियारी समेत परेको बेला उपमहानगरले त्यो विषयमा हात हाल्दा राम्रो हुँदैन ।’