ग्रामिण क्षेत्रको विकासले गति लिदै

घोराही २४, माघ । राजपुर गाउँपालिका वडा नम्बर ३ जंग्रहवामा चार वर्षअघि पुग्न निकै सास्ती हुन्थ्यो । सहज बाटोघाटो नहुँदा त्यहाँ पुग्नका लागि जिल्ला सदरमुकाम घोराहीबाट दिनभरको यात्रा तय गर्नुपथ्र्यो । पहिले र अहिले निकै फरक भएको छ । एउटा होइन अनेकन बाटोबाट आउ जाउ गर्न सकिन्छ ।
लमही ८ जहरेहुँदै जंग्रहवा जान राप्ती नदीमा पुल बनिसकेको छ । गढवा हुँदै जान पनि कुनै समस्या छैन । सहज रुपमा आवागमन गर्न सक्ने गरी सो क्षेत्रमा बाटो बनेपछि त्यहाँका नागरिकले उत्पादन गरेका बस्तु बजारसम्म लगेर बिक्रि गर्न र गाउँलाई बजारसम्मको पहुँचमा निकै सहज भएको छ ।
उता दाङको पूर्वमा रहेको राप्ती गाउँपालिका वडा नम्बर ६ कुनै बेला निकै उपेक्षित थियो । वर्षा लागेपछि सम्पर्क समेत हुन कठिन हुने अवस्थामा रहेको त्यहाँ अहिले अचम्मको विकास भएको छ । गाउँका हरेक टोलमा कालो पत्रे बाटो पुगेको छ । बाह्रै महिना सिंचाई सुविधा रहेको त्यहाँ कृषि उत्पादन निकै राम्रो हुने भएकाले गाउँका अधिकांश नागरिक कृषि पेशामा व्यस्त छन् । कृषि व्यवसायबाटै उनीहरुले राम्रो आम्दान िगर्न सफल भएका छन् । घरसम्म कालो पत्रे बाटो बनेपछि उत्पादित कृषि उपज लिन व्यवसायी घरमै आउँछन् । कृषि कर्मले उनीहरुको दैनिकी र जीवनमा सरकारात्मक प्रभाव पारेको छ । राप्तीका धेरै वडाहरु अहिले पूर्वाधार विकासको पहुँचमा पुगेका छन् ।
दंशीशरण गाउँपालिका वडा नम्बर ५ मा पहिले पहिले जान निकै अप्ठ्यारो थियो । तर, अहिले त्यस्तो छैन । कालोपत्रे भएपछि सरर गाउँमै सवारी साधनमा पुग्न सकिन्छ । बाटोको हिसावले दंगिशरण गाउँपालिकामा निकै काम भएको छ । जनप्रनिधिले जिम्मेवारी सम्हाल्दा एक पाइलो पनि कालो पत्रे नदेखिने सो पालिकाका कयौं किलोमिटर सडक कालोपत्रे भएको छ ।्
पश्चिम दाङको बबई गाउँपालिकामा पनि बाटो घाटोका हिसावले धेरै नै सहज भएको छ । धेरै वडाहरु सडक सञ्जालले जोडिएका छन् । दाङबाट सुर्खेत जोड्ने सडक पनि यहि पालिका भएर जाने भएकाले बाटो घाटोको काम भएको छ । पालिकाभित्र अनेत्रका सडकहरु पनि पक्की भएका छन् ।
बंगलाचुली गाउँपालिका पनि सडक सञ्जाल बिस्तारसँगै सहज रुपमा आवतजावत गर्ने आधारमा रुपमा देखा परेको छ । बितेको साढे चार वर्षको यो अवधिमा स्थानीय सरकारले गरेको कामले जिल्लाका ग्रामीण क्षेत्रमा अस्वाभाविक रुपमा पूर्वाधार विकास भएको छ । ग्रामीण क्षेत्रमा भएको विकासका कारण त्यहाँका उत्पादन र सम्भावनाका आधार फराकिलो बनेको छ । दाङका शहर बजारभन्दा गाउँमा विकासको लहर निकै तीव्र रुपमा अघि बढेको छ ।
जिल्लाका सबै पालिकाहरुले पनि यसलाई विकासको आधारको रुपमा अघि सार्दै संघ र प्रदेश सरकारले दिने बजेट ग्रामीण विकासमा गर्दै आएका छन् । गाउँ भनेको देशका नागरिकको जीवनसँग जोडिने हुँदा प्राथमिकतामा पर्ने गरेको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । गाउँमा रहेका राम्रा सम्भावनालाई उत्पादनसँग जोड्न गाउँसँगको सहज सम्पर्क स्थापित गर्नु नै स्थानीय सरकारको प्राथमिकतामा परेको बताउँदै पछिल्ला वर्षमा गरिएको ग्रामीण क्षेत्रको विकासले नागरिकको जीवनमा धेरै सकारात्मक परिवर्तन आएको दावी गरे । अझ भन्ने हो भने करिव १५ बर्षपछि स्थानीय पालिकामा जनप्रतिनिधि चयन भएसँगै अहिले जिल्लाको विकासका लहर गाउँ–गाउँमा उल्लेख्य रुपमा भएको स्वयं गाउँका नागरिकहरुले बताउन थालेका छन् ।
चार वर्ष अघिसम्म बाटोघाटो नपुगेको ठाउँमा अहिले कालोपत्र गरेर बाह्रै महिना जति बेला पनि सरर गाडीमा हिड्न सक्ने अवस्था बनेको घोराही उपमहानगरपालिका वडा नम्बर ७ का मनिराम चौधरीको भनाई छ । घोराही बजारसम्म पुग्न डेढ घण्टा लाग्ने गरेको अनुभव सुनाउँदै उनले अहिले त्यही बाटो १५ मिनेटको मात्रै बनेको बताए । ‘घरघरमै अहिले सवारी साधन पुग्छ, जति बेला जयहाँ जान्छु भने पनि बाटो बनेको छ । बाटो उही हो तर सहजताले दुरी घटाएको महसुस भएको छ,’ उनले भने ।
यी र यस्ता नागरिकका आवश्यकता महसुस गर्दै गरिएको विकासले जनप्रतिनिधि भएको र नभएको धेरै फरक आभास हुन थालेको छ । अहिले स्थानीयले पनि यसको महसुस गरेका छन् । दाङका १० वटै पालिकामा यस्तै गरी ग्रामीण क्षेत्रमा गरिएको विकासले नागरिकलाई हरेक कुरामा सहज भएको छ । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन् ।
जनताले नजिकैको घर दैलोमा स्थानीय सरकारको आभाष गरेका राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरीले बताए । ‘पालिकाले कृषक, उद्यमी, काम गर्न चाहने युवाहरुलाई गाउँघरमै काम गर्ने प्रसस्त आधार बनाएको छ, त्यसका लागि पूर्वाधार निर्माण नै पहिलो प्राथमिकतामा परेपछि सबै काम सहज भएको हामीले ठानेका छौँ,’ उनले भने ।
जिल्लामा यातायात, शिक्षा, स्वास्थ्य र पर्यटनलगायतलाई विकासको मुल आधार मान्दै पालिकाहरुले पूवाएधार विकासमा लगानी गरेका र त्यसबाट अहिले ग्रामीण विकासमा निकै फड्को मार्न टेवा पुगेको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताए । ‘बजारमा सबैको पहुँच पुगेको हुन्छ, तर, ग्रामीण क्षेत्रमा धेरै सम्भावना हुँदा हुँदै पनि पूर्वाधार अभावमा नागरिकले त्यसलाई उपयोग गर्न पाएका हुँदैनन् त्यसैले हामीले गाउँको सम्भावना र विकासका आधार पहिल्याउँदै प्रदेश र संघ सरकारसँग समन्वय गरी विकासका क्षेत्रमा लगानी गरेको छौँ, जसलाई यहाँहरुले प्रत्यक्ष रुपमा देख्न पनि सक्नुहुन्छ,’ उनले भने ।
उहाँले उपमहानगरपालिकाभित्र रहेका सबै सडक सञ्जाललाई १२ महिना सवारी साधन सञ्चालन गर्ने अगाडी बढेको बताउनुभयो । सुरुमा काम गर्नै अन्यौलता भएको भन्दै अहिले जनताको माग अनुसार यातायात, विद्युत, शिक्षा, सञ्चारको विकासमा आफ्नो नगरले काम गरिरहेको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।
प्रदेशकै राजधानीको आधार विन्दु बनेपछि अझ स्थानीय सरकारका रुपमा राप्ती गाउँपालिकामा धेरै कुराको प्रभाव परेको उनको भनाई छ । यसलाई अधिकतम लाभ लिने गरी पालिकाबासीहरुको हीतमा लगानी बढाउने काममा आफुहरु केन्द्रित बनेको अध्यक्ष सुवेदीले बताए । पर्यटनको प्रवद्र्धन बंंगलाचुलीले अहिले बाटोघाटो र पूर्वाधार विकासमा लगानी गरेको छ । केहि क्षेत्र बाहेक सम्पूर्ण क्षेत्र अहिले सडक सञ्जालले छोएका छन् ।
जिल्लाको प्राय सबै ठाउँ पहाडी भूगोल रहेको बंगलाचुलीमा पनि विकासका लहर विस्तारै फरफराउन थालेका छन् । गाउँपालिकामा जनआकांक्षा अनुसार खानेपानीको व्यवस्था, बिजुली, खानेपानीलगायतको उचित प्रबन्ध मिलाउन जनप्रतिनिधिले काम गरिरहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । गाउँका अधिकांश नागरिकको मुख्य पेशा नै कृषि भएकाले यसलाई दीगो रुपमा विकास गर्न स्थानीय सरकारले पनि प्राथमिकता दिँदै आएका छन् । गाउँ गाउँमा बाटो घाटो, विजुलीवत्ती, इन्टरनेट, खानेपानी, स्वास्थ्यको पहुँच बढ्दै गएपछि यसको लाभ लिन पाएको स्थानीय नागरिकहरुको भनाई छ ।