प्रहरीलाई चरेस बेच्न खोज्ने दुईजना पक्राउ

दाङ,२४ माघ । दाङमा प्रहरीले सात केजी बढी लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुकुम जिल्ला भुमे गाउँपालिका ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ वसपार्कमा बस्ने ५० वर्षीय दलबहादुर कामी र रुकुमको भुमे गाउँपालिका–९ घरभई हाल घोराही उपमहानगरपालिका–१८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार राति साढे ११ बजेतिर दलबहादुरको कोठाबाट ७ किलो ७७९ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको हो । ‘विशेष सूचनाका आधारमा खटिएको प्रहरीले नयाँ बसपार्कबाट दलबहादुर कामीलाई पक्राउ गरेको थियो’,एपसी काफ्लेले भने,‘पक्राउ परेका दलबहादुरलाई सोधपुछसँगै फोनकलका आधारमा कर्णबहादुर पुन पनि पक्राउ परेका हुन ।’
प्लास्टिकको बोरामा हरियो पोलिथिनभित्र लामो, चेप्टो पोका बनाएर राखेको अवस्थामा १६ वटा टुक्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए । पक्राउ परेका कामी र पुनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
दोषी ठहरिए लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा १४ को खण्ड (घ) को ४ मा भएको व्यवस्था अनुसार दुई किलोग्रामदेखि दश किलोग्रामसम्म परिमाण भए एक बर्षदेखि तीन बर्ष कैद र पाँच हजारदेखि पच्चिस हजार रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।