Ad Area

बर्सेनी खानेपानीकै समस्या…


दाङ,२६ माघ । घोराही उपमहानगरपालिका–१९ खोलीगाउँ निवासी बिष्णीकुमारी पुनलाई गर्मी मौसम सुरु हुनै लाग्दा पानीको चिन्ता हुन्छ । घरमा विहान उठेदेखि साँझ नसुत्दासम्म चाहिने पानीका लागि गाउँमा भरपर्दाे व्यवस्था छैन् ।

जसले गर्दा गाउँमा खानेपानीको अभाव टार्न वडाकै करिब १४÷१५ किलोमिटर टाढा खुम्बासबाट ल्याइएको छ । तर त्यो पानी पनि एकदिन बिराएर धारामा आउँछ । काम गर्दा कहिलेकाहीँ पानी भर्न पाइएन भने पानी ल्याउनकै लागि आजभोलि करिब आधा घण्टा दुःख पाइने गरेको बिष्णी बताउँछिन् । ‘गाउँमा खानेपानीको भरपर्दो व्यवस्था छैन । जसले गर्दा गाउँदेखि टाढा रहेको अर्काे गाउँ खुम्बासबाट पानी ल्याएका छौ, त्यो पनि एक दिन बिराएर आउँछ’, उनले भनिन्– ‘त्यो पनि भर्न पाइएन भने समस्यै हुन्छ ।’

उनले आजभोलि एकदिन बिराएर धारामा आउने पानी गर्मी दिनमा कहिलेकाहीँ त ४ दिनमा एकपटक आउने गरेको बताइन् । त्यस्तो अवस्थामा चार÷पाँच घण्टा खानेपानीकै लागि हिँड्नुपर्ने उनले बताइन् । पानीको भरपर्दाे स्रोत नहुँदा मानिससँगै गाईभैसीलाई समेत समस्या हुने गरेको विष्णीले बताइन् । ‘पहिले गाउँको तल खोलामा धारा थियो । त्यसैमा पानी जम्मा हुन्थ्यो र सबैले खान्थ्यौ’, उनले भनिन्–‘तर केही बर्षदेखि धारामा पानी आउन कमहुँदै गयो ।

अहिले त एक गाग्री पानी भर्न आधा घण्टा कुर्नपर्ने अवस्था छ ।’ उनले आफूजस्तै करिब १५÷१६ घरपरिवारले पानीको समस्या भोग्दै आएको बताइन् । गाउँमा पानीको व्यवस्था नहुँदा स्थानीयले कृषि तथा पशुपालन व्यवसाय छोड्नुपरेको उनी बताउँछिन् । खोलीगाउँ मात्र होइन घोराही बजारदेखि नजिकै रहेको घोराही उपमहानगरपालिका वडा नं. १८ को हात्तीखर्कमा पनि खानेपानीकै समस्या छ । करिब १६ देखि २० घर रिवारसम्म बसोवास गर्ने हात्र्तीखर्कवासीले एक गाग्री खानेपानीकै लागि दैनिक एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय समीक्षा बुढामगरले बताइन् ।

खानेपानी पानीकै लागि स्थानीय आधा जाने र आधा घण्टा आउने गर्दा एक घण्टा लाग्ने गरेको उनले बताइन् । ‘गाउँमा खानेपानीको व्यवस्था छैन, पर खोलामा धारा छ । त्यही गएर पानी ल्याउने हो’, उनले भनिन्, ‘टाढा छ ।’ त्यसैमा पानीको ग्रागी बोकेर हिँड्दा आउने जाने एक घण्टा लाग्छ ।’ उनले गाउँमा खानेपानीको धारा आउने भयो रे भनेर सुन्न थालेको धेरै भए पनि अझै आउन नसकेको बताइन् । ‘गाउँमा कोही नेता आएपछि खानेपानीका लागि बजेट परेको छ भन्न छोड्दैनन्’, उनले भनिन्, ‘तर गाउँमा खानेपानीको धारा भने आउँदैन ।’

उनले पानी नहुँदा खाने, पकाउने, नुहाउनेदेखि घरमा गाईभैसी पाल्न समेत समस्या भएको बताइन् । पानी नहुँदा कठिनाई भए पनि जनप्रतिनिधिले स्थानीयको समस्या नबुझेको उनी बताउँछिन् । उनीहरु प्रतिनिधिपात्र मात्र हुन्, उनीहरुजस्तै धेरै घोराही उपमहानगरपालिका वडा नं. १८ अन्तर्गत हात्तीखर्क, जोगीडाँडा र घोराही उपमहानगरपालिका–१९ अन्तर्गत रहेको खोलीगाउँका करिब ३०÷३५ घर परिवारले पानीको समस्या बर्सेनी भोग्ने गरेका छन् ।

Blog Post Ad

उनीहरुले पानी नहुँदा पिउने, पकाउने, नुहाउने मात्र होइन गाउँमा केही व्यवसाय गर्न समेत सकेका छैनन् । घोराही बजारदेखि नजिकैको बस्ती हात्तीखर्क भए पनि स्थानीयले खानेपानीको भरपर्दाे व्यवस्था नभएको गुनासोगर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad