Ad Area

‘रोक्का जग्गा फुकुवा गर्न अदालतको आदेश एसबीआई बैंकद्वारा अस्वीकार’


दाङ,२ फागुन । रोक्का गरेको जग्गा फुकुवा गर्न अदालतले आदेश दिएपनि नेपाल एसबीआई बैंक दाङ शाखाले फुकुवा गर्न अस्वीकार गरेको एक परिवारले बताएको छ ।

यसअघि २०७६ कार्तिक १७ गते, २०७८ कार्तिक १७ गतेको दावी खारेज पत्र बमोजिम उच्च अदालत तुलसीपुरको २०७८ मंसिर १६ गतेको आदेश अनुसार दाङ जिल्ला अदालतले २०७८ माघ २१ गते वादीहरुलाई अंशभागमा परेको जग्गा फुकुवा गर्न एसबीआई बैंक घोराही शाखालाई दिएको आदेश नमानेको भन्दै वादी पक्षले गुनासो गरेको छ ।

आफ्नो अंश भागमा परेको जग्गा फुकुवा गर्न उच्च अदालत तुलसीपुरले आदेश दिए पनि एसबीआई बैंक दाङ घोराही शाखाले फुकुवा गर्न नमानेको घोराही उपमहानगरपालिका–१५ निवासी प्रेरणा खड्का बस्नेतले बताइन् ।

उनले आइतवार घोराहीमा पत्रकार सम्मेलन गर्दै आफ्नो श्रीमानसँगको अंश भागमा परेको जग्गाको फुकुवा नगर्दा आफु अन्यायमा परेको भन्दै न्यायका लागि पहल गरिदिन अनुरोध गरेकी छिन् ।

उनले घोराही उपमहानगरपालिका–९ बस्ने गेहेन्द्र बस्नेतसँग करीव १० वर्षअघि अंश दावीको माग गर्दै अदालतमा दिएको निवेदनमा अदालतले पछिल्लो फैसलामा बैंकको ऋणमा आफ्नो दायित्व नपर्ने तथा जग्गाको कित्ता र क्षेत्रफल किटान गरी अंशवण्डा गर्न दिएपनि रोक्का गरिएको जग्गा बैंकले फुकुवा नगरेको उनले बताएकी हुन ।

‘अदातले अशं भागमा परेको जग्गा फुकुवा गर्न बैंकलाई आदेश दिएको छ, तर बैंकले मानेको छैन’,पत्रकार सम्मेलनमा बस्नेतले भनिन्, ‘अदालतको आदेश पालना नगर्नेलाई कारवाही हुन्छ कि नाई ?’ उनले एसबीआई बैंक घोराहीका प्रमुखले अदालतको आदेश नमान्ने भन्दै धम्काउने गरेको समेत उनले बताइन् ।