Ad Area

सुपथ मूल्य पसल : घोराहीमा नून, तुलसीपुरमा चामल


अमरराज आचार्य

दाङ, १९ असोज । सरकारले नागरिकलाई चाडपर्वको समयमा सस्तो तथा सुलभरुपमा दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले हरेक वर्ष सुपथ मूल्यको पसल सञ्चालन गर्दै आएको छ । तर यो सरकारी अभियानले उपभोक्ताहरुलाई राहतभन्दा पनि लज्जास्पद बनाएको छ । घोराहीमा नून र चिनी सुपथ मूल्यमा बिक्री गर्ने भनिएको पसलमा नूनमात्रै रहेको छ भने तुलसीपुरमा सरकारले सन्चालन गरेको सुपथ मुल्य पशलमा चामल मात्रै छ ।

सरकारले सञ्चालन गर्ने सहुलियत पसलमा सरकारले भनेका सामग्रीहरु किन्न पाइँदैन । दाङ पनि सरकारीस्तरबाट चाडपर्व लक्षित गरेर सञ्चालनमा ल्याइएको सहुलियत (सुपथ मूल्य) पसल नाम मात्रको रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । सरकारको स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनले घोराहीमा सञ्चालनमा ल्याएको पसलमा उपभोक्ताले नूनमात्र पाउने भएपछि नाम मात्रको भएको नागरिकको भनाइ रहेको छ । संघीय सरकारको निर्णयअनुसार दाङमा पनि असोज १ गतेदेखि साल्ट ट्रेडिङ कर्पोरेशन दाङ घोराही शाखाले सहुलियत पसल सञ्चालनमा ल्याएको थियो तर यसरी सञ्चालनमा ल्याएको पसलमा नूनमात्र बिक्री गर्ने गरिएको छ । नूनमात्र पाइने भएकाले नागरिकको आकर्षणसमेत देखिँदैन ।

चिनी किन्नका लागि टाढा–टाढाबाट आउने नागरिकहरु चिनी नपाउँदा रित्तो हात फर्किने गरेका छन् । चिनी लिन आए पनि नपाएपछि रित्तो हात फर्किंनुपरेको घोराहीका उपभोक्ता राधा शर्माले बताइन् । ‘अन्य स्थानमा भन्दा सस्तोमा पाइन्छ भनेर आएको चिनी नै पाइएन’, उनले भनिन्– ‘यहाँ आउन–जान कष्ट झेल्नुबाहेक केही पाएनौं ।’ अन्य स्थानभन्दा केही रुपैयाँ भए पनि कम मूल्यमा पाइन्छ कि भनेर आए पनि पाउन नसकेको उनको भनाइ रहेको छ । उनीजस्तै अहिले धेरै उपभोक्ताहरु साल्ट टे«डिङसम्म आउने र फर्किने गरेका छन् । चिनी आउन नसक्दा नागरिकलाई प्रदान गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेशन घोराहीका प्रमुख रामबावुप्रसाद गुप्ताले जानकारी दिए । चिनीका लागि आफूहरुले पटक–पटक जानकारी गराइराखेको उनको भनाइ रहेको छ । ‘चिनी आउने बित्तिकै हामीले नागरिकलाई बिक्री गर्न सुरु गर्दछौँ’, गुप्ताले भने । अहिले नूनमात्र बिक्री भइरहेको उनको भनाइ छ ।

एकजना व्यक्तिलाई ६ केजी नून दिइने गरेको छ । नून नागरिकले पटक–पटक आएर लैजाने गरेको उनको भनाइ रहेको छ । नागरिकले नून प्रतिकेजी १८ रुपैयाँमा पाउने गरेका छन् । नूनको अन्य पसलमा उपभोक्ता मूल्य प्रतिकेजी २३ रुपैयाँ रहेको छ तर पसलेहरुले भने प्रतिकिलो २५ रुपैयाँमा बिक्री गर्दै आएका छन् । भारतबाट चिनी आयात नहँुदा सरकारीस्तरबाट जिल्लासम्म चिनी ल्याउन नसकिएको साल्ट ट्रेडिङ लिमिटेडले जनाएको छ ।

उता तुलसीपुरमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा चामल मात्र राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सञ्चालन गरेको सहुलियत पसलमा चामलमात्र रहेको छ । सुपथ पसलबाट चामल बिक्री गर्ने गरिएको व्यापार कम्पनीका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । उनका अनुसार असोज १ गतेबाट सञ्चालन गरे पनि हालसम्म ५० क्वीन्टल पनि चामल बिक्री हुन सकेको छैन । तुलसीपुर क्षेत्रमा चामल किनेर खानेहरु कम भएका कारण चामल कम बिक्री भएको उनको भनाइ छ । ‘यस क्षेत्रमा अधिकांशको घरमै धान हुने गरेको छ, त्यसैले पनि कम बिक्री भएको हो’, निमित्त प्रमुख चौधरीले भने । घरमा धान हुने तर मसिनो चामल खान मन भएकाले किनेर लैजाने गरेको उनले बताए ।

Blog Post Ad

खाद्य व्यवस्था कार्यालयले यसो भनिरहँदा तुलसीपुर बजारबाटै स्थानीय उपभोक्ताहरुले दैनिकरुपमा सयौं क्वीन्टल चामल खरिद गर्ने गरेको व्यवसायीहरुले बताएका छन् । समग्र तुलसीपुर उपमहानगरपालिकासमेत खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन भने बजार क्षेत्रमा त किनेर खानेहरु अत्यधिक रहेको बताइन्छ । गुणस्तरीय चामल नभएकाले खाद्यको चामल करिब २० दिनमा ४० क्वीन्टल पनि बिक्री हुन नसकेको हो । तुलसीपुर कम्पनीले बिक्री गर्ने चामल बजारको मूल्यभन्दा प्रतिकिलो १० देखि १५ रुपैयाँ सस्तो रहेको निमित्त प्रमुख चौधरीको दावी रहेको छ । उपभोक्ताहरुले भने च्वाइसअनुसारको चामल नै खाद्यमा नरहेकाले त्यसतर्फ आकर्षण हुन नसकेको बताएका छन् ।

Blog Post Ad Blog Post Ad