Ad Area

दाङमा ‘मिटर ब्याजको कालो धन्दा’, चर्को ब्याज दरले उठीबास


दाङ, १९ असोज । कुनै बैंक वा वित्तिय संस्थाबाट ऋण लियो भने वार्षिक ब्याज कति तिर्नु पर्ला ? सय रुपैयाँको बढीमा १४ रुपैयाँ । यो रकम पनि बैंकको अवस्था र तरलता हेरेर कम पनि पर्न सक्छ । बैंकहरुले प्रवाह गरेको ऋणको ब्याज दर राष्ट्र बैंकले निर्धारण गरेको ‘पोर्ट फोलियो’ का आधारमा तय हुने हुँदा पछि गएर ऋणिले शुरुवाती चरणमा सम्झौता गरेभन्दा ठूला अन्तर पर्ने गरी ब्यान भुक्तानी गर्नुपर्दैन ।

तर, आकस्मिक रुपमा चाहिने ऋण, व्यक्तिबाट लिईने ऋणको ब्याज दर भने असामान्य हुने गरेको छ । दाङमा मिटर ब्याजको सञ्जाल भित्रभित्रै निकै मौलाएको खुलासा भएको छ । एकै व्यक्तिबाट रकम लिएर थुप्रै व्यक्तिहरुलाई चर्को ब्याज दरमा अनाधिकृत र गैरकानूनी रुपमा रकम लगानी गरी व्यक्तिलाई ‘उठीबास’ लगाउने गरी ‘मिटर ब्याजको धन्दा’ चलिरहेको रहस्य खुलेको हो ।

जिल्लाका आर्थिक पक्ष बलियो भएकाहरुले थोरै समयमा राम्रो आम्दानी हासिल हुन सक्ने भएपछि गैरकानूनी बाटो रोजेको पाइएको हो । लगानीको जोखिम बहन हुने कुरा धरौटीमा समेत राखेर मिटर ब्याजमा चर्को ब्याज असुल्नेको संख्या ठूलो छ । जिल्लामा मिटर ब्याजको करौडौंको कारोबार हुने गरेको प्रहरीको आशंका छ ।

सिमित आम्दानीको श्रोत भएका, अपर्झटमा कसैलाई रकम चाहिएमा यस्ता व्यक्तिहरु बिचौलियाको सम्पर्कमा पुग्ने र उनीहरुले पनि कमिशन लिएर चर्को ब्याज दरमा रकम दिलाउने गरेका छन् । उनीहरुले वार्षिक ६० प्रतिशतसम्म ब्याज दरमा मिटर ब्याज लगाउने गरेका श्रोतले बताएको छ । जसले गर्दा उनीहरुलाई बाध्यात्मक अवस्थाबाट माथि उठ्नै नसक्ने गरी आर्थिक धरासयी बन्ने अवस्थामा पुग्ने गरेका छन् । जिल्लामा मिटर ब्याजीको फन्दामा परेर घरबार लिलाम भएको र बसोबास गरिरहेको ठाउँबाट उठीबास लागेको घटना समाजमा बढ्दै गएको छ ।

जिल्लामा अहिले केही ‘माडे’ भनिनेहरुले बिचौलियको माध्यम बनाएर आफु बाहिर नदेखिने गरी भित्रभित्रै करोडौँ रकम मिटर ब्याजमा लगाएको बुझिएको छ । यो रकम मानिसले अत्यावश्यक कामका लागि लिने गर्छन् ।

बिचौलियाको माध्यमबाट मिटर ब्याजमा लिएको रकम माग गरिएको बराबर पनि ऋणीले पाउँदैन । सामान्यतया कुनै पनि ऋणीले १ लाख माग गरेमा उसको हातमा आईपुग्दा बढीमा मुस्किलले ७० हजार मात्रै हुन्छ । १ लाखको १० हजार कमिशन मिटर ब्याज लगाउनेले राख्छ । त्यसपछि कम्तिमा ५ प्रतिशत कमिशन बिचौलियाले लैजान्छ । त्यही १ लाखको ३ महिनाको अग्रिम ब्याज लिईन्छ । ब्याज दर उसको लबिङ्गका आधार वार्षिक ३६ प्रतिशतदेखि ६० प्रतिशतसम्म पनि हुने गरेको छ । यसरी हेर्दा मिटर ब्याज कुनै आर्थिक गिरोहको बलियो पकड स्थापना गर्न पनि हुने गरेको कतिपयले बताएका छन् ।

Blog Post Ad

मिटर ब्याजमा ऋण लैजानेहरुबाट यस्ता व्यक्तिले उसको धितोका रुपमा कपाली तमसुक बनाएर जग्गासमेत राख्ने गरेका छन् । कसैले मिटर ब्याजमा लगेको रकम निर्धारित समयमा भुक्तानी गर्न नसकेमा पर्न सक्ने जोखिमलाई मध्ये नजर गर्दै ‘जग्गाको छिनुवा पास’ समेत गर्ने गरेका श्रोतले बताएको छ । यसरी भाका दिएको समयमा सावाँ ब्याज बुझाउन नसक्नेको मिटर ब्याजमा कारोबार गर्नेले उठीबास लगाएको घटना दाङमा बढ्दै गएको छ ।

तर, कपाली तमसुकका आधारमा हुने यसको प्रकारको अवैध र गैर कानूनी काममा पीडित बनेकाहरु हत्तपत्त बाहिर आउन चाहदैनन् । उनीहरु सामाजिक प्रतिष्ठा र ऋणको कुरालाई बाहिर ल्याउन नचाहँदा अनुसन्धानमा समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए । उसो त, वास्तविक कर्जा प्रवाहवाला को हो ? भन्ने थाहा नहुँदा पनि कतिपयले आफु अन्यायमा पर्दा पर्दै पनि गुनासो वा जाहेरी दिन आनाकानी गर्ने गरेका हुन् ।

अहिले यो विषयमा प्रहरी प्रशासनको चासो र निगरानी बढेको प्रहरी उपरीक्षक काफ्लेले बताए । केही दिनयता, प्रहरीको विशेष टोलीले मिटर ब्याजको गिरोह नजिक पुग्न विभिन्न खालका रणनीति तय गरी अघि बढेको उनको भनाई छ । गुनासो नआएका होईनन्, मिटर ब्याजमा आफु नराम्ररी फसेको, जालसाजी गरी आर्थिक टाट पल्टाउने ‘कुत्सित योजना’का साथ ऋण दिएका जस्ता गुनासो लिएर जिल्ला प्रहरी कार्यालयमा पुग्नेहरु अहिले बिस्तारै आउन थालेका उनले बताए ।

घटनाका बारेमा पीडित पक्ष नै गुनासो गर्न आएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक काफ्लेले बताए । ‘हामीले घटनाको गहिराईमा पुग्ने योजनाका साथ अनुसन्धान अघि बढाएका छौँ , यो आजको आजै नतिजा बाहिर आउने विषय होईन, मिटर ब्याजको गैर कानूनी कारोबार गर्नेको ठूलो समुह दाङमा छ भन्ने हामीले आशंका गरेका छौं, प्रहरी प्रमुख काफ्लेले भने, ‘मिटर ब्याज लगाउनेहरुको बारेमा बलियो प्रमाण पनि फेला परेको छ ।

यसले घटनाको गहिराईमा पुगेर कानून अनुसार कारवाही अघि बढाउन सहज हुने अपेक्षा छ ।’ केही व्यक्ति प्रहरीको निगरानीमा परिसकेकाले ढिलो चाँडो मिटर ब्याजीवालाहरु फन्दा पर्ने उनको विश्वास छ । बिचौलियका माध्यमबाट चर्को ब्याज दरमा गैर कानूनी कारोबार गर्नेहरुको समुह बाहिर ल्याई छाड्ने प्रहरी उपरीक्षक काफ्लेको प्रतिवद्धता छ ।

मिटर ब्याजीहरुले कपाली तमसुक बनाउने, जग्गा छिनुवा पास गर्न लगाउने, ऋणीलाई दवावमा राखेर दुई वटा कागज बनाएर मोटो रकम असुल्ने उनीहरुको उद्देश्य हो । जसले गर्दा लिएको ऋण रकमको भन्दा कैयौँ गुणा रकम एक दुई वर्षमा थपिने गरेको पीडितहरु बताउँछन् । उसो त, मिटर ब्याज र साधारण ब्याजको यो दुरीले एउटा सानो सानो परिवारको घरखर्च नै चल्ने भएपछि केही पैसा हुनेहरु वा अरु कतैबाट कर्जा लिएर भएपनि मिटर ब्याज खानका लागि मानिसहरु हौसिएर फसेको देखिन्छ ।

 

Blog Post Ad Blog Post Ad