Ad Area

दाङमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु


घोराही, २ फागुन । १४ औ दक्षिण एशियाली खेल तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै दाङमा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा नारायणपुर तेक्वान्दो डोजाङ्गको प्राविधिक सहयोगमा सोमबारबाट शुरु भएको प्रतियोगितामा जिल्लाभरबाट विभिन्न उमेर समुहका खेलाडी सहभागी भएका छन् ।

दुुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाभरका २७ वटा डोजाङ्गबाट करीव २ सय बढी खेलाडी सहभागी भई प्रतिष्पर्धा गरिरहेका दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए । विष्णु अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा सहभागी वक्ताहरुले जिल्ला र देशलाई चिजाउने गरि खेलमा लाग्न अपिल गरे ।

स्वस्थ नागरिक उत्पादनमा खेल क्षेत्रले भूमिका खेल्ने हुँदा यसका लागि राज्यले पूर्वाधारमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याईएको थियो । कार्यक्रममा नगरप्रमुख चौधरीले खेलमा व्यावसायिकरण गर्न जरुरी भएको हुँदा पालिकाले एक वडा एक खेल मैदानको अवधारणालाई मूर्त रुप दिने काम गरिरहेको बताए ।

कार्यक्रममा २०६६ सालमा ११ औ दक्षिण एसियाली खेलमा नेपालको तर्फबाट टिमकोचको रूपमा सहभागी भई नेपाललाई पदक दिलाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै शुभास चन्द्र केसीलाई नारायणपुर तेक्वान्दो डोजाङका तर्फबाट र जिल्ला छनौट सफल बनाउन महत्वपूर्ण भुमिका खेलेको भन्दै प्रमोद चौधरी र नारायणपुर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख तिलक झाक्री मगरलाई सो अवसरमा विशेष सम्मान गरिएको थियो ।

Blog Post Ad

विभिन्न तौल समुहमा भई रहेको प्रतिष्पर्धामा सिनियर तर्फ महिला र पुरुषमा ८–८ वटा समुह तथा जुनियर तर्फ महिला र पुरुषमा ५–५ समुहमा खेल भईरहेको अध्यक्ष अधिकारीले बताए । जुनियर खेलाडीहरुको हकमा सन् २००५ देखि २००८ सम्म जन्म भएकाहरु मात्रै समावेश गरिएको छ । जारी प्रतियोगिताबाट सबै समुहबाट प्रथम र दोश्रो हुने २६ जना तथा तेश्रो हुने ५२ जना छनौट हुने भएका छन् ।

खेलकुुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनमा यस प्रकारको प्रतियोगिता निकै प्रभावकारी हुने हुँदा जिल्लाभरका खेलाडी भाग लिन आएका आयोजकले जनाएको छ । खेल क्षेत्रमा लागेपछि खेलाडीले आफ्नो पहिचान स्थापित गर्ने मात्रै नभई जिल्ला र राष्ट्रको नाम अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सक्षम हुने गरेका छन् ।

Blog Post Ad Blog Post Ad