Ad Area

च्याउबाट आम्दानी लिँदै ऋषिराम


दाङ, ४ फागुन । १६ बर्षअघि सुरु गरेको च्याउखेती घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ऋषिराम चौधरीका लागि अहिले आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लगेका छन् ।

सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा १६ बर्षअघि २०६२ साल मंसिर १० गतेदेखि च्याउखेती गर्न थालेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लागेको बताए । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि करिब २५ सय रुपैयाँबाट सुरु भएको व्यवसायलाई बढाएर अहिले करिब १५ लाख बराबरको बनाएको बताउँछन् ।

‘२०६२ सालमा २५ सय रुपैयाँबाट च्याउखेती सुरु गरेको थिए । अहिले १६ बर्ष भयो । म निरन्तररुपमा च्याउ उत्पादन गर्दै आएको छु’, उनले भने– ‘यो अवधिमा २५ सयबाट सुरु भएको व्यवसाय करिब १५÷१६ लाख बराबरको व्यवसाय भएको छ ।’ करिब दश बर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याँउखेतीमा लाग्ने व्यवसायीहरु समेत थपिँदै गएको बताए ।

उनले दैनिक करिब २५ केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने चौधरीले उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने गरेको छ । यसअघि रोल्पा, प्युठान, बुटवललगायतका ठाउँहरुमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसरलगायतका बिरामीहरुले खान मिल्ने र मासु नखानेहरुले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको बताए ।

‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ’, उनले भने– ‘अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा जति उत्पादन गरे पनि जिल्लाभित्रै खपत हुन्छ ।’ च्याउखेतीका लागि दुई वटा टनेल निर्माण गरेका चौधरीले अर्गानिक च्याउ उत्पादन गर्ने गरेको बताए ।

Blog Post Ad

केही व्यक्तिहरुले च्याउ बढी फलाउने र चाँडै उत्पादन लिने आशामा औषधि प्रयोग गर्ने गरे पनि आफूले त्यस्तो नगर्ने गरेको बताए । च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बीउ नपाउँदा व्यवसायीहरु समस्यामा परेको उनले बताए । चौधरीले आफ्नो फर्मका लागि काठमाडौँको कालिमाटीबाट च्याउको बीउ ल्याउने गरेको बताए ।

च्याउ नबिके सुकुटी

च्याउ नबिके सुकुटी बनाएर बिक्री गर्ने गरेको बताए । च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिन समेत ल्याउनका छन् । उक्त मेसिन प्रधानमन्त्री आधुनिकीकरण पकेट कार्यक्रममार्फत ल्याएको बताए । सुकुटी बनाएको च्याउ प्रतिकेजी २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको चौधरीले बताए ।

‘च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिकेन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भने– ‘च्याउ १ सय ६० देखि १ सय ७० रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी २ हजारसम्म बिक्री हुने गर्दछ ।’ उनले बर्षमा तीन लटसम्म च्याउ उत्पादन गर्दछन् । उत्पादन भएको च्याउ बजार बिक्री गर्ने र नबिकेको च्याउलाई सुकुटी बनाउने गर्नाले आफ्नो च्याउ खेर जान नपाएको समेत उनले बताएका छन् ।

उनका अनुसार च्याउ भदौ महिनादेखि फागुनसम्म राम्रो आम्दानी लिन सकिने बताए । उनले वन कार्यालय लगायतका संघसंस्थामा काम गर्दा रहरमा सुरु गरेको व्यवसाय अहिले घरमा आम्दानीको प्रमुख स्रोत बन्न पुगेकोसमेत बताए । उनले प्रधानमन्त्री आधुनिकीकरण पकेट कार्यक्रममार्पmत कृषि ज्ञान केन्द्रबाट १ लाख ५० हजार र यसबर्ष कोभिड प्रभावित किसानका रुपमा राज्यबाट सहयोग लिए पनि त्योभन्दा अन्य कुन सहयोग नलिएको समेत बताए ।

Blog Post Ad Blog Post Ad