Ad Area

एमसीसी परियोजनामा देउवा पछि हटेपछि आजको प्रतिनिधि सभामा पेश नहुने


दाङ, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः पछाडि सरेका छन् । आज एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुुन् ।
सत्ता साझेदार दल माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निर्णय गरेको थियो । जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाटै बाहिरिने माओवादीले निष्कर्ष निकालेसँगै प्रधानमन्त्री देउवा हच्किनुुभएको बताईएको छ ।
संसदीय दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुुगेका थिए । बालुवाटार पुगेर प्रचण्डले संशोधन बिना अहिलेको अवस्थामा एमसीसीका अघि नबढाउन तथा बढाइए सरकारबाट बाहिरिने सम्मको पार्टीको निर्णय सुनाएका थिए ।

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने एमसीसीको पक्षमा मतदान गर्ने दाबी कांग्रेस नेताहरुको छ । प्रतिनिधिसभामा १९ मत रहेको जसपाका नेता डा. बाबुराम भट्टराई खुलेर एमसीसीको पक्षमा लागेका छन् भने अध्यक्ष उपेन्द्र यादव मौन अवस्थामा छन् । गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सुरुदेखि एमसीसीको विपक्षमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकै आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले आजका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका थिए । आज बुधबार दिउँसो १ बजे बस्ने संसद बैठकका लागि हिजो मंगलबार सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा एमसीसी राखिएपनि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट एजेण्डा राख्ने प्रयास गरिएको थियो । जसका लागि विभिन्न राजनीतिक दलहरुले आज देशभर आम हड्ताल गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad