Ad Area

आफै सहिद बन्न बाध्य घोराही-होलेरी ‘सहिद मार्ग’


घोराही, ४ फागुन । दाङको घोराहीदेखि रोल्पाको होलेरीसम्मको करिब ३१ किलोमिटर सहिद मार्ग आफै नाम जस्तै सहिद बन्दै गएको छ । कालोपत्रे गरेर हस्तान्तरण नहुँदै सो सडक खण्डको कालोपत्र उप्किएर छियाछिया भइसकेको छ । कुनै बेला गरिएको कालो पत्रेको केही अंक ठाउँ ठाउँमा प्रमाणका रुपमा मात्रै छन् । ती प्रमाण पनि सवारी साधनको टायर नपरेको कुनै किनारमा मात्रै देखिन्छन् ।

सडक अहिले खोलाको बगर जस्तै भएको छ । पहाडी बाटो उकालो, अप्ठ्यारो र तिखा मोडमा चल्ने सवारी साधनले सडक छियाछिया बनेको छ । जोखिमपूर्ण बाटोमा गुड्ने सवारी साधनमा यात्रुु यात्रा गर्न बाध्य छन् । पहाडी घुम्ती उक्त सडकमा दर्जनौं स्थानमा ठूल्ठूला खाल्डा परेपछि सवारीचालक र यात्रु हैरान बनेका छन् । ‘यो बाटो ५ वर्ष अघि जस्तो सजिलो पनि छैन, त्यो बेला बसमा यात्रा गर्दा अलि सजिलो हुन्थ्यो अहिले त झन खत्तम भयो, बसमा चढ्न पनि डर लाग्छ,’ होलेरीका रामबहादुर बिकले भने ।

सडक छेउ भएर पानी बग्ने नाली बनेका छैनन् । साँधुरो सडक त्यसमा पनि नाली नहुँदा वर्षातको समयमा परेको पानी सडक हुँदै बग्ने र भार बहन भएका टिपर गुड्ने भएपछि सडक कामै नलाग्ने गरी क्षत विक्षत भएको छ । ‘वर्षाको बेलामा कहाँ कति बेला पहिरो जाने हो की सडकमा परेका ठूला खाल्डामा परेर टायर चिप्लिने हो भन्ने डर हुन्छ,’ सो सडक खण्डमा बस चलाउँदै आएका एक चालकले भने ।

हस्तान्तरणअघि सडक भत्किएपछि यातायात सञ्चालनमा समस्या भएको छ । कम्पनीले तोकिएको समयमै काम सम्पन्न गरे पनि सिमेन्ट उद्योगका लागि क्लिंकर ओसार्ने टिपरले सडक बिगारेको गुनासो छ । पानी पर्दा हिलो र घाम लाग्दा अचाक्ली घुलो उड्ने भएपछि साना सवारी संचालन गर्न कठिन छ । ठूला सवारी पनि निकै सकस पूर्ण रुपमा यात्रा तय गर्ने गरेका छन् । बस एक गियरभन्दा माथि चलाउनै सकिँदैन, दुुई गियरमा हाल्यो की बस अगाडी जाला भन्दा पछाडी आउन खोज्छ, उकालो अनि मोड त्यसमा तलाउ बनेका ठूला खाडलसहितको ढुंगे बाटोले निकै हैरानी दिएको स्थानीयको गुनासो छ ।

कालोपत्र गरेको सहिदमार्गमध्ये घोराहीदेखि रोल्पा र दाङको सीमासम्मको करिब ३१ किलोमिटरसम्म दैनिक ३ सयजति टिपर चल्ने भएकाले सडक जीर्ण बनेको हो । दाङमा रहेका दुईवटा सिमेन्ट उद्योग सोना र सम्राट उद्योगका लागि रोल्पा र दाङबाट क्लिंकर ओसार्न टिपर चल्ने गरेका छन् । उद्योगलाई चाहिने ढुंगा र क्लिंकर लैजाने अनुमति रोल्पाको रुन्टीगढी गाउँपालिका र दाङको बंगलाचुली गाउँपालिकाले दिएका छन् । दाङ, रोल्पा, रुकुम र डोल्पालाई सडक मार्गले जोड्ने उद्देश्यले सहिद मार्गको निर्माण आर्थिक वर्ष २०६४-०६५ देखि निर्माणको काम थालिएको थियो । सडक योजना कार्यालयका अनुसार २ सय २० किलोमिटर लामो सडक रुकुम पूर्वको मैकोटसम्म पुर्याइएको छ ।

Blog Post Ad

सिमेन्ट उद्योगका लागि वैकल्पिक मार्ग भए पनि त्यो प्रयोग नगरी टिपर चालकहरूले सहिद–मार्ग नै रोज्ने गर्छन् । सहिद–मार्गमा सोनापुर सिमेन्टका लागि दैनिक दर्जनौ टिपर चुनढुंगा बोकेर कुद्ने गर्छन् । उद्योगले चुनढुंगा ओसार्न अर्को सडकको स्वीकृति ल्याएको भए पनि सहिद–मार्ग नै प्रयोग गरिरहेको छ । कालोपत्रे भएको १४ महिना नबित्दै टिपरका कारण सडक तहसनहस भए पनि मर्मत गर्नेतर्फ कसैको ध्यान गएको छैन । होलेरी नजिक रहेको चुनढंगा खानीबाट दैनिक रुपमा टिपरले त्यही सहिद मार्ग भएर ढुवानी गर्छन् । चुनढुंगा उत्खनन् क्षेत्र पनि अहिले उजाड बनि सकेको छ । सिंगो पहाड उत्खनन् पछि अहिले तलाउ बन्दै गएको छ । रोल्पाका अधिकांश पहाडहरु चुनढुंगा उत्खनन्ले खोक्रो बन्दै गएको छ ।

विकास निर्माणको कच्चा पदार्थको रुपमा रहेको चुनढुंगा बोक्ने तिनै टिपरका कारण भने सहिद मार्ग आफै सहिद बन्न बाध्य भएको रुन्टीगढी गाउँपालिका वढा नम्बर ९ का मोहनलाल बिष्टको भनाई छ । होलेरी नजिकको सडक पनि अहिले जीर्ण बन्दै गएको छ । सडकको बीचमा परेका साना खाडल बेलैमा पुर्ने वा मर्मत गर्ने तर्फ कसैको ध्यान जान सकेको छैन ।

सामान्य क्षति भएको बेलामा सरोकारवालाले चासो नलिँदा सहिद मार्गमा आरामको यात्रा गर्ने रोल्पालीको सपनामा धक्का लागेको होलेरी जसपुरका उमेश थापाको भनाई छ । घोराही १८ को बगालेबाट उकालो शुरु हुने सहिद मार्गको यात्रा आफैमा मृत्युमार्ग भन्दा कम नभएको घोराही १४ का पृथमान रोकाले बताए । ‘पहाडी बाटो त्यसमा सडकको अवस्था हेर्दा मन सिरिङ्ग हुन्छ, यो बाटोमा यात्रा गर्दा भगवानको नाम जप्दै कति बेला गन्तव्यमा पुगिएला भन्ने हुन्छ, निकै तनाव हुन्छ,’ अर्का अनिल बुढाले भने ।

Blog Post Ad Blog Post Ad