Ad Area

स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता


दाङ, ५ फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ । निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ । दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ । दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ ।

विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।

राजनीतिक दलको विधानमा दलको नाम, झण्डा, छाप, चिह्न, कार्यालयको ठेगाना, सङ्गठनात्मक संरचना, सदस्यता प्राप्त र गुम्ने अवस्था, केन्द्रीय, प्रदेश र स्थानीय तहको विवरण, महाधिवेशनसम्बन्धी व्यवस्था, बैठक बोलाउने र निर्णय गर्ने कार्यविधिलगायतको व्यवस्था उल्लेख हुनुपर्ने व्यवस्था छ ।
आयोगमा हाल करिब ११९ दल दर्ता कायम छ । विसं २०७४ को निर्वाचनमा भाग लिएका दलमध्ये स्थानीय तहमा तत्कालीन १८ दलको प्रतिनिधित्व थियो ।

Blog Post Ad Blog Post Ad