Ad Area

कौवाघारीमा स्वास्थ्य सचेतना


घोराही, ६ फागुन । दंगीशरण गाउँपालिका वडा नम्बर २ कौवाघारीमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमअन्तर्गत बुधवार मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

ज्येष्ठ सदस्य छिता बस्नेतको अध्यक्षता, दंगीशरण गाउँपालिका २ का वडाध्यक्ष तुलसीराम देवकोटाको प्रमुख आतिथ्यता र दंगीशरण गाउँपालिका १ का सदस्य जानकी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्य, मानसिक समस्या भनेको के हो, मानसिक समस्या हुनुका कारण, समाजमा देखिने मानसिक समस्याका प्रकारहरू, मानसिक समस्याको लक्षणहरू, समस्या समाधानका उपायहरू, सामना गर्ने तरिकालगायतका विषयमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराएकी थिइन् । महिला शान्ति र सुरक्षा कार्यक्रम र सशस्त्र द्वन्द्वका कारण हालसम्म समाजमा देखिएका समस्याका विषयमा कार्यक्रम प्रमुख रमेश केसीले जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य हाम्रो लागि अत्यावश्यक भएको बताएका थिए । उनीहरूले समाजमा विभिन्न कारणले मानसिक समस्या बढ्दै जान थालेको भन्दै यस्ता कार्यक्रमले मानसिक स्वास्थ्यबारे सबै जना सचेत हुन अनुरोध गरे ।

उनीहरूले हरेक गाउँमा समाजमा मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम गर्न आवश्यक भएको भन्दै यसका लागि स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक भएको बताएका थिए । कार्यक्रममा सहभागी कृष्णी खत्री, सीता डाँगी, रामबहादुर खत्रीलगायतले आफ्नो भनाइ राखेका थिए ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad