Ad Area

सासुको हत्या गर्ने बुहारीसहित २ जना पक्राउ


घोराही, ६ फागुन । दाङमा आफ्नै सासुको हत्या गर्ने एक महिलासहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१९ खानीगाउँका २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँका २२ वर्षीय दुर्गा घर्ती रहेका छन ।

घोराही उपमहानगरपालिका वडा नं १९ खानिगाउँ निवासी ५५ वर्षीय ईन्द्रकुमारी घर्तीको बुधबार आफ्नै बुहारीले घरायसी विवादका कारण हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।बुधबार छिमेकीको घरमा न्वारान खान गएकी मृतक ईन्द्रकुमारी घर्ती सोही दिन राति अबेरसम्म घर नआएपछि आफन्तले खोजी गर्दै जाँदा बिहिवार घर नजिकैको खोल्सामा रगताम्य हुने गरी शब फेला परेको थियो ।

उक्त घटनामा बुहारी बसन्ती घर्तीले सासुसँग घरायसी विवाद गर्ने क्रममा काठको मुङ्ग्रोले प्रहार गर्दा सासु अचेत भएको र त्यसपछिको समयमा छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको ढिकबाट खोल्सामा खसालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका २ जनामाथि थप अनुसन्धान भइरहेको बताए ।

Blog Post Ad Blog Post Ad