Ad Area

थारू महिलाहरूको क्षमता विकासका लागि ढकिया बुनाइ तालिम


दंगीशरण, ८ फागुन । दंगीशरण गाउँपालिकामा सञ्चालित उद्योगहरूको स्तरोन्नति तालिम कार्यक्रमअन्तर्गत् ४५ दिने ढकिया बुन्ने तालिमको शुक्रवार समापन गरिएको छ । थारू हस्तनिर्मित वस्तुहरूको जगेर्ना गर्ने महिलाहरूलाई व्यावसायिक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
तालिममा दंगीशरणका २० जना थारू महिलाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै सहभागीहरूले अबका दिनमा सिकेको सीपलाई व्यवहारमा लागू गरी ढकिया उत्पादन गर्नतर्फ आफू अग्रसर हुने बताए । सहभागी दंगीशरण गाउँपालिका वडा नं. ४ की रेश्मा चौधरीले सीपलाई निरन्तरता दिइ व्यावसायिक रूपमा लैजानका लागि अगाडि बढ्ने बताइन् । ‘आफैले थाहा पाइराख्ने, आफै प्रयोगमा ल्याउने वस्तु बनाउने सीप आप्mनै हातमा नभएकाले धेरै पछि रहेको अनुभा भयो, समयमै सीप सिकेको भए यसैबाट धेरै अगाडि बढिसक्थेँ’, उनले पछुतो व्यक्त गरिन् ।

यस्तै सुभगी चौधरी पनि घरमा बचेको समयलाई सदुपयोग गर्नका लागि बेलैमा सीप सिक्ने अवसर पाएको बताइन् । “आफनै घरमा यही ढकिया, डेल्वा चाहिन्छ तर हातमा सीप नहुँदा अरुबाट माग्नुपर्छ, अब काम चलाउनका लागि आफैले तयार पार्न सकिने भइयो’, उनले भनिन् । २३ वर्षकी सीमा चौधरी पनि सीप सिकेर धेरै फाइदा भएको बताइन् । ‘पछिल्लो पुस्ताले थारू हस्तकलाप्रति कमै मात्रामा ध्यान दिने भएकाले आजभोलि घरमा ढकिया पाउन पनि मुस्किल छ, सीप नसिकेर नै आफ्नै घरमा प्रयोगमा आउने वस्तु किन्नुपर्ने अवस्था आएको छ’, सीमाले भनिन्, ‘अब त ढकिया, डेल्ला सबै बुन्न सक्छु भन्ने लागेको छ ।’

समापन कार्यक्रममा उद्यम सहजकर्ता भुवन चौधरीले व्यवसायलाई अगाडि बढाएमा आप्mनो तर्फबाट जहिले पनि सहयोग गर्न तत्पर रहने बताए । महिलाहरू आप्mनो क्षमता वृद्धि गर्न अरु काम सँगसँगै उद्यमी बन्न उत्तिकै अग्रसर हुन जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणका महिलाहरूलाई आत्मनिर्भर बनाउँने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

दंगीशरणमा कोशेली घर निर्माण भइसकेकाले कोशेली घरमा सजावट स्वरूप राख्ने र त्यहीँबाट विक्री वितरण गर्न सकिने बताए । थारू जातिको बाहुल्यता रहेको दंगीशरणमा थारू पहिचान दर्शाउने सामान उत्पादनमा कमी नहोस् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताए । ‘हरेक चीज वस्तुको प्रबद्र्धन गर्न जरुरी छ र समृद्ध दंगीशरणमा जुट्नु छ’, अध्यक्ष चौधरीले भने । गाउँघरमा पाइने कच्चापदार्थको उपयोग गरी व्यवसाय सञ्चालन गर्नका लागि महिलाहरू अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य धमकली चौधरीले थारू परम्परागत सामग्री उत्पादन गरी विक्री वितरणमा टेवा पुगोस् भन्ने उद्देश्यले प्रदेश सरकारबाट कोशेली घर निर्माणका लागि बजेट विनियोजन गरेको बताइन् । अब हामी बाहिर नगइ आप्mनै ठाउँबाट व्यवसाय सञ्चालन गर्न सकिने उनका भनाइ थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका उमबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विक्रम केसीले गरेका थिए । तालिमको प्रशिक्षकमा हिराकुमारी चौधरी रहेकी थिइन् । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा दंगीशरण गाउँपालिकाको सहयोगमा तालिमको आयोजना गरिएको थियो । समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad