Ad Area

सैघामा चुनढुंगा उत्खननकाे सिफारिस,स्थानीयबासीको विरोध


दाङ, १० फागुन । घोराही उपमहानगरपालिका–१९ सैघामा चुनढुंगा उत्खननकाे  लागि वडा कार्यालयले सिफारिस दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्रको जमिनमा उपभोक्तासँग समवन्य नै नगरेर घोराही उपमहानगरपालिका वडा नं. १९ वडा कार्यालयले चुनढुङ्गा उत्खनन्का लागि काठमाडौंमा रहेको स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालिलाई व्यवसाय सञ्चालनका लागि सिफारिस दिएको भन्दै उक्त सिफारिस फिर्ता लिन आग्रह गरेका हुन् ।

उनीहरूले स्थानीयसँग प्रत्यक्ष सरोकार राख्ने वन तथा चुनढुङ्गा उत्खनन्को विषयमा जनतालाई सूचना नै नदिई सुटुक्क उद्योगलाई दिने कार्य तत्काल फिर्ता लिन समेत वडा कार्यालयलाई आग्रह गरेका छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने वनजंगल र पहाड सिध्याउने र वातावरणीय जोखिम निम्त्याउने गरी वडाध्यक्षले जनतासँग छलफल नै नगरी सुनाली थान सामुदायिक वन उपभोक्ता समूहको जग्गा चुनढुंगा उत्खनन्का लागि २०७६ कार्तिक ३ गते स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालिलाई अनुमति दिएको सुनाली थान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागेश्वर घर्तीले जानकारी दिएका छन् ।

 

उनकाअनुसार वडाले घोराही उपमहानगरपालिका–१६ निवासी तेजबहादुर महराको नाममा दर्ता श्रेस्ता भएको साविक सैघा गाविस–९ अन्तर्गत् रहेको कित्ता नं. १५४ को जग्गा व्यवसाय सञ्चालनका लागि सिफारिस दिएका छन् । स्थानीयकाअनुसार सोही ठाउँमा स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालिले चुनढुंगा उत्खनन्का लागि २०७६ असार ३१ गते खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको छ । उक्त अनुमतिपत्रमा प्रालिले २०७६÷३÷३१ गतेदेखि २०९६÷३÷३० गतेसम्म खनिज पदार्थको उत्खनन् अनुमति पाएको छ ।

चुनढुंगा उत्खनन् गर्दा आम जनजीवनमा प्रभाव पार्नुका साथै खानेपानीका मुहानहरू सुक्ने, धुवाँधुलोका कारण मानवीय जीवनसँगै जीवजन्तु र वनस्पतीहरूमा असर पुग्नुका साथै उक्त क्षेत्रमा चरिचरणको समस्या हुने र भू–क्षयलगायतको जोखिम रहने भन्दै चुनढुंगा उत्खनन्का लागि स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालिलाई दिएको सिफारिस फिर्ता लिन वडाध्यक्षलाई आग्रह गरेका छन् ।

Blog Post Ad

‘स्थानीय जनजीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वनक्षेत्र र त्यसमा भएको चुनढुंगा उत्खनन्का लागि सिफारिस दिँदा वडाध्यक्षले स्थानीयसँग छलफल गराएर सिफारिस दिनुपथ्र्याे’, वन समूहका अध्यक्ष घर्ती मगरले भने, ‘तर वडाध्यक्षले जनतासँग छलफल नै नगरेर मानवीय र भौगोलिक रूपमा गम्भीर असर पुग्ने गरी उद्योग सञ्चालनका लागि भनेर सिफारिस दिनुभएको छ, त्यो फिर्ता हुनुपर्छ ।’ उनले मावन बस्ती नै जोखिममा पर्ने गरी २० वर्षसम्मका लागि चुनढुङ्गा उत्खनन्का लागि दिइएको अनुमति खारेज गर्नुपर्ने बताए ।

स्थानीयलाई झुक्याएर वडाध्यक्षले चुनढुङ्गा उत्खनन्का लागि स्वर्गद्वारी माइन्स एण्ड मिनरल्स प्रालिलाई जग्गा उपलब्ध गराउनका लागि हस्ताक्षर गराएको अर्का स्थानीय मंगल घर्तीले बताए । ‘गाउँमा के उद्योग सञ्चालन हुँदैछ, त्यो बारेमा वडाध्यक्षलाई जानकारी हुनुपथ्र्याे र सिफारिसमा के उद्योग सञ्चालनका लागि सिफारिस दिइँदै छ त्यो सिफारिस पत्रमा लेखिनुपथ्र्यो’, उनले भने, ‘तर वडाको सिफारिस–पत्रमा उद्योग सञ्चालनका लागि जग्गा सिफारिस भनिएको छ, के उद्योग सञ्चालनका लागि जग्गा दिइएको हो भनेर केही खुलाइएको छैन ।’

सिफारिस पत्रमा केही नखुलाएर स्थानीयको हस्ताक्षर गर्नुले नै जनतालाई भ्रममा पार्ने काम वडाध्यक्षले गरेको उनले बताए । वातावरणीय असरसँगै पानीको स्रोत सुक्ने र बस्ती नै विस्थापित गराउने गरी उद्योगले करिब ४० रोपनी बढी जग्गा स्थानीयसँग किन्ने काम गरेको स्थानीयले बताएका छन् ।

व्यवसाय सञ्चालनको मात्रै सिफारिस : वडाध्यक्ष

वडाध्यक्ष हर्क घर्तीले व्यवसाय सञ्चालनका लागि माग भएअनुसार वडा कार्यालयले सिफारिस दिएको बताएका छन् । सिफारिसमा चुनढुङ्गा उत्खनन्का लागि भनेर कहीँकतै पनि उल्लेख नभएको उनले दाबी गरे । उनले यदि झुक्याउने गरी घुमाउरो तरिकाले कसैले व्यवसाय सञ्चालनका नाममा चुनढुङ्गा उत्खनन् गर्ने कार्य भएको भए त्यसलाई रोक्न कानुनी प्रक्रिया वडा कार्यालयले नै अघि बढाउने बताए ।

‘साविकको सैघा ९ को लिखाममा व्यवसाय सञ्चालनका लागि घर बनाउन भनेर सिफारिस माग भएकाले व्यवसाय दर्ताका लागि वडा कार्यालयले सिफारिस दिएको हो’, वडाध्यक्ष घर्तीले भने, ‘चुनखानी उत्खनन्का लागि सिफारिस दिएका छैनौँ, यदि त्यसो गरिए त्यसको कानुनी उपचार खोज्ने छौँ ।’ वडाले चुनढुङ्गा उत्खनन् गर्ने गरी व्यवसाय सञ्चालनका लागि दिएको सिफारिस फिर्ता लिन माग गर्दै स्थानीयले घोराही उपमहानगरपालिका–१९ वडा कार्यालय, घोराही उपमहानगरपालिकाका नगर प्रमुख, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । स्था

नीयकाअनुसार घोराही उपमहानगरपालिका–१९ का तीन स्थानबाट चुनढुङ्गा उत्खनन् प्रयास भइरहेको छ । त्यीमध्ये घोराही उपमहानगरपालिका–१९ को मालारानी सामुदायिक वन, सुनाली थान सामुदायिक वन र गेरुखोला सामुदायिक वन क्षेत्रबाट किरण कोल उद्योगले चुनढुङ्गा उत्खनन्का लागि प्रक्रियामा रहेका छन् ।

Blog Post Ad Blog Post Ad