Ad Area

सिरूगैरा ताल जसले बाँसगजेरी गाउँको मुहार फेर्यो


घोराही, फागुन । कुनै समय सिंगो गाउँले शव दाहका रुपमा प्रयोग गर्दै आएको त्यही ठाउँमा अहिले गहिरो ताल बनेको छ । मुर्दा जलाउने ठाउँमा सिंगो गाउँलेको खेतबारीमा सिंचाई सुविधा पुर्याउन गत वर्षमात्रै कृत्रिम जलाशय निर्माण गरेपछि सो ठाउँको मात्रै होईन, सिंगो गाउँको मुहार फेर्न अहं भूमिका खेलेको छ । जुन ठाउँ हो, घोराही उपमहानगरपालिका वडा नम्बर ११ बाँसगजेरी ।

सिंगो गाउँको मुहार फेर्न कोशेढुंगा सावित बनेको कृत्रिम जलाशयको नाम हो, सिरुगैरा ताल । वर्षौदेखि वन्जर सो ठाउँ अहिले बाह्रै महिना हराभरा हुँदै गएको छ । करीव २ सय ५० घरधुरी बस्दै आएको बाँसगजेरी गाउँमा सिंचाइं सुविधा पुगेपछि स्थानीयले आफुहरुको जीवनमा ठूलो परिवर्तन सम्भव भएको बताएका छन् । स्थानीय हीरा बहादुर थापाले सिंचाई सुविधाले धेरै फाईदा गरेको बताए । जीवनमा पहिलो पटक आफ्नो तोरी बारीमा पानी सिंचाई गर्न पाएकोमा खुशी हीरा निकै खुशी छन् ।

तोरी, केराउलाई पानी पुगेपछि अहिले उनको जस्तै सिंगो गाउँको खेतबारी यो पटक हराभरा भएका छन् । खेतका भराभरा गरामा घाँस काट्दै गरेकी सोही ठाउँकी ५५ वर्षीया खिमसरी खड्कालाई जीवनमै पहिलो पटक यसरी यो याममा खेतबारमा गादोभरी घाँस संगाल्न पाएको अनुभव सुनाईन् । ‘पहिले–पहिले हिउँद र गर्मीयाममा गाईबस्तुलाई कहाँबाट घाँस ल्याएर पाल्ने होला भन्ने पिरलो हुन्थ्यो, यो वर्ष त अचम्मै भयो । जता हेर्यो हराभरा भएको छ । यो सिंचाई सुविधाले त हामीले नयाँ जीवन पाएको ठानेका छौँ,’ खिमसरीले कुरा गर्दै भनिन् ‘खेतबारीमा लगाएका अन्नबाली पनि सप्रेका छन्, गाईबस्तुुलाई पनि घाँसको समस्या पनि टरेको छ ।’

अमर बहादुर पुन उमेरले ६४ पुगे । उनले पनि बाँसगजेरीमा जीवनमा ६४ याम बिताई सके । उतिबेलाको बाँसगजेरी र अहिलेको बाँसगजेरी आकाशपातालको अन्तर भईसकेको उनको अनुभव छ । ‘पहिले बाटो घाटो थिएन, बिजुुली पनि भरपर्दो थिएन, आफ्नै गाउँठाउँमा मोटरगाडी गुड्ने अवस्था आयो, हामीलाई सँधैको सास्ती पानी कै हुन्थ्यो, त्यो पनि अब हटेको छ,’ अमरले भने, ‘बाँचेपछि आफ्नै ठाउँमा आएको विकासको लहर देख्न पाईने रहेछ ।’ टिकाराम खनाल सोही गाउँकै सामुदायिक विद्यालयको संस्थापक प्रधानाध्यापक हुन् ।

Blog Post Ad

उनले पनि आफ्नो ठाउँमा पछिल्लो समय भएको विकास र सुविधा देखेर मख्ख छन् । बालबालिकालाई सहज विद्यालय पहुँचका लागि बाटोघाटो, खानेपानीको सुविधा, विद्युत बिस्तारले शिक्षा क्षेत्रमा पनि स्थानीयबासी आकर्षित भएको बताए । ‘चाहने हो भने यस्तो राम्रो काम पनि हुने रहेछ भन्ने सबैका लागि उदाहरण पनि हो,’ खनालले भने, पछिल्लो समयमा सिंचाई सुविध पुगेपछि त यो ठाउँ हाम्रा लागि स्वर्ग जस्तै बनेको छ ।’

घोराही बजारसँग जोड्ने घोराही– तुलसीपुरको आँखा अस्पताल सडक अहिले कालो पत्रे भईरहेको छ । सो सडकले पनि बाँसगजेरीलाई छुन्छ । सो ठाउँमा अब कालो पत्रेसहितको सडक पनि बिस्तार हुन थालेपछि स्थानीयहरु थप उत्साहित भएका छन् । ‘हाम्रा खेतबारी सिंचाई सुविधा नभएर प्राय बाँझै हुन्थे, यो पटक छरेको तोरी, मसुरो, केराउ, गहुँले पानी पायो, अब उत्पादन पनि बढ्छ, यसले हामीलाई राम्रो टेवा दिएको छ,’ स्थानीय मोती थापाले भने । विजय उत्साव टोल, मुलखोली टोललगायतका सो क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका स्थानीयबासीले दुखका दिन पनि अब बिस्तारै टर्दै गएको बताएका छन् ।

वर्षौदेखि आर्यघाटका रुपमा चिनिएको सिरुगैरा ताल क्षेत्र सूूर्यज्योति सामुदायिक वन परिसरमा पर्ने भएकाले कुुनै बेला त्यो ठाउँ खुला चौर थियो । गत वर्षको पुस महिनाबाट सिमसार जस्तो मानिएको ठाउँलाई खनेर गहिरो ताल बनाइएको छ । स्थानीयबासीको उत्साहका कारण करीव ६ महिनामै काम सकाएर सिंचाईका लागि योग्य बनाएको ड्याम निर्माण समतिका अध्यक्ष मान बहादुर हमालले बताए। सिंचाई डिभिजन कार्यालय तुलसीपुरसँग करीव ५३ लाख बजेट निकासा गरी वडा नम्बर ११ ले प्रकृया बढाएपछि कामले सार्थकता पाएको वडा अध्यक्ष कुलबहादुर लामिछानेले जानकारी गराए।

सो जलाशयबाट सिंचाई सुविधा पुगेपछि अहिले गाउँको पूर्वी टोल र पश्चिम टोलका केही भाग बाहेक सबै ठाउँमा सहज सिंचाई पुगेको छ । ती ठाउँमा पनि पाईप बिछ्याएर र नयाँ योजनालाई कार्यान्वयनमा ल्याएर सिंचाई सुविधा पुर्याउन आफु लागि परेको वडा अध्यक्ष लामिछानेले जानकारी दिए। ‘स्थानीयबासीका सकारात्मक साथ सहयोगले कुनै बेला सखाप भएको वन पनि जोगिएको छ, अहिले त्यहाँ सालका रुखले वन मनमोहक भएको छ । स्याउलाले बारेका घरले स्वरुप फेरेका छन्, गोठेमलले यो ठाउँमा अर्गानिक उत्पादन भईरहेको छ । अब त झन बाह्रै महिना सिंचाई पुुग्यो ।’ वडा अध्यक्ष लामिछानेले भने, ‘बाँसगजेरी जस्तै वडाको अरु विकट ठाउँमा पनि हाम्रो नजर परेको छ । सेवा सुविधा र सहज पहुँचमा नागरिक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

खासमा अहिले त्यही सिंचाई सुविधा पुगेपछि त्यो ठाउँमा धेरैले नजर लगाउन थालेका स्थानीयको भनाई छ । सिरुगैरा ड्यामले सुख्खा हुने ठाउँ सिंचित भएको छ । जंगली जनावरलाई पनि खानेपानीको सुविधा भएको छ । तल झरेको पानी गाईबस्तुलाई पानी खुवाउन पनि सजिलो भएको अमरबहादुर पुनले बताए । वन संरक्षणसँगै स्थानीयको जनजीवनमा पनि भरपर्दो बनेको सिरुगैरा तालले आगामी दिनमा सो ठाउँमा कृषि पेशालाई व्यावसायिक बनाउन, तरकारी खेती गर्न तथा अरु जमीनको उपयोगितामा धेरै आकर्षित हुदै गएको सुर्य ज्योति सामुदायिक वनका ताराबहादुर रोकाले बताए।

२०३५ सालभन्दा अघिबाट सोही सामुुदायिक वन हेरालुका रुपमा कार्यरत ६७ वर्षीय तिलक बहादुर रोकाले यो ठाउँमा भएको विकास क्रम देखेर दंग छन् । ‘मैले यो वनको चप्पाचप्पा हिँडेको छु । यो ठाउँमा हिजो कस्तो थियो तर अहिले धेरै परिवर्तन भयो । यसले हामी सबैलाई फाईदा गरेको छ,’ उनले भने। हिजोआज बाँसगजेरीबासी दिनभर जसो खेतबारीमा व्यस्त हुन थालेका छन् । खेतबारीमा छरेका कृषिउपजको रेखदेख गर्दैमा उनीहरुको दैनिकी बित्न लागेपछि कृषि उत्पादन बढ्ने र घरको आयस्तरमा पनि योगदान पुुग्ने स्थानीयले विश्वास लिएका छन् ।

घोराही उपमहानगरपालिकाका धेरै जसो वडामा बाँसगजेरीमा जस्तै सहज सिंचाई सुविधा बिस्तार हुँदै गएको छ । जसले स्थानीय नागरिक उत्साहित भएका छन् भने कृषि उत्पादनमा बढावा पुग्ने पालिकाले विश्वास लिएको छ ।

Blog Post Ad Blog Post Ad