Ad Area

कोरी समुदाय राज्यबाट सँधै उपेक्षित


घोराही, ११ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर ८ बेलुवामा बस्दै आएका कोरी समुदाय अहिले पनि राज्यको सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन् । बाउबाजेको पालादेखि बस्दै आएका कोरी समुदायले मुलुक संघीयतामा गएको लामो समय बितिसक्दा पनि राज्यको नजरमा पर्न नसकेको भन्दै दुखेसो पोखेका छन् ।

सम्वाद समुह सचिवालयले बुधबार कोरी समुदायसँग गरेको छलफलमा उनीहरुले समाजमा अहिले पनि आफुहरुलाई गर्ने व्यवहार अपमानजनक रहेको अनुभव सुुनाएका छन् । स्थानीय शान्ति कोरीले आफ्ना बालबच्चा शिक्षाको पहुँचबाट बन्चित भएको, रोजगारी नहुँदा खानपानमा समस्या भएको, चरम गरिबीका कारण बस्ने आफुहरुको ओत समेत भरपर्दो नभएको बताईन्।

यस्तै, नवीन कोरीले दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएपनि बालबच्चाको शिक्षादिक्षा, लालनपालन र औषधी उपचारमा निकै समस्या झेलिरहेको जानकारी गराए। वर्षौदेखि ऐलानी जग्गामा बस्दै आएको यो अल्पसंख्यक समुदायले राज्यको मूल प्रवाहीकरणमा स्थानीय सरकारले पनि ध्यान दिन नसकेको भन्दै गुनासो गरेका छन् ।

स्थानीय जगतराम कोरीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरीले अल्पसंख्यक समुदायका रुपमा रहेको कोरी समुदायको उत्थानका लागि आफुहरु गम्भीर रहेको बताए। सो छलफलमा संवाद समुहका सदस्य लक्ष्मी आचार्य, सुशीला पौडेल, सम्झना डाँगी, जनप्रतिनिधि बलबहादुर बुढाथोकी, स्थानीय दीपक पाण्डेलगायत सहभागी थिए । कार्यक्रमको सहजीकरण संवाद समुहकी सहजकर्ता सुस्मा गिरीले गरेकी थिईन् ।

Blog Post Ad Blog Post Ad