मावि चरकमटियामा राम्जाको अध्यक्षतामा पूर्व विद्यार्थी समाज गठन

घोराही, १४, फागुन । सरस्वती माध्यमिक विद्यालय चरकमटिया दाङमा अध्ययन गरेका विद्यार्थीहरुको एक भेलाले पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरेको छ । पूर्व विद्यार्थी प्रेमबहादुर राम्जाको अध्यक्षतामा शनिबार बसेको एक भेलाले ११ सदस्यीय पूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको हो ।
पश्चिम दाङको बबई गाउँपालिका वडा नम्बर ७ स्थित सो विद्यालयको शैक्षिक उन्नयन र संस्थागत विकासका लागि गठित समाजको उपाध्यक्षमा अनिता केसी, कोषाध्यक्षमा इन्द्रबहादुुर डाँगी, सचिवमा जगत चौधरी, सह–सचिवमा बीरेन्द्र भण्डारी चयन भएका छन् । यसैगरी, सो भेलाले पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।
विद्यालयबाट शिक्षा आर्जन गरी अहिले विभिन्न क्षेत्रमा आवद्ध भएका पूर्व विद्याथीहरुले आफुुले अध्ययन गरेको विद्यालयका लागि गर्नु पर्ने सहयोग, विकास र उत्थानमा समाजले काम गर्ने लक्ष्य राखिएको पूर्व विद्यार्थी समाजका अध्यक्ष राम्जाले बताए।
सो विद्यालयबाट अध्ययन पूरा गरेकाहरु विद्यार्थीहरु अहिले राजनीति, चिकित्सा, शैक्षिक, प्रशासनिक, सुरक्षालगायत विभिन्न संघसंस्थामा आवद्ध भई जिम्मेवारी सम्हालिरहेका छन् । सबै पूर्व विद्यार्थीहरुलाई एकतावद्ध गर्दै विद्यालय प्रतिको दायित्व निर्वाह गर्न उत्प्रेरित गर्ने समाजले लक्ष्य राखेको अध्यक्ष राम्जाले बताए ।