प्रतिबन्धित वन्यजन्तु रेडपान्डाकाे छालासहित ३ जना पक्राउ

घाेराही, १४ फागुन । जिल्ला प्रहरी कार्यालय दाङले प्रतिबन्धित बन्यजन्तु रेडपान्डाकाे छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ बन्यजन्तु ओखेटोपहार रेडपाण्डाको छाला ठुलो मात्रामा हिमाली क्षेत्रबाट ल्याई बिक्री बितरणका लागि दाङ जिल्ला हुँदै काठमाण्डौं तिर लैजादै गरेकाे भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको संयुक्त प्रहरी टोलीले हिजाे शुक्रबार बेलुकी करिव ७ बजे पक्राउ गरेकाे हाे ।
जिल्ला दाङ राप्ती गाउँपालिका वडा नं.१ भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ बन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित पक्राउ गरि घटना अनुसन्धान अघि बढाएकाे अाज शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराईएकाे छ । छालासहित पक्राउ पर्ने गिराेह सबै राेल्पाका हुन् ।
रोल्पाकाे सुनिलस्मृति गाउँपालिका वडा नं.७ बस्ने वर्ष ३२ का राम बहादुर थापा, लुङग्री गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० को रुपक खडका र सुनछहरी गाउँपालिका वडा नं.७ बस्ने वर्ष १९ को राम कुमार पुन मगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेकाहरुले हिमाली क्षेत्रबाट कसैसँग काराेबार गरि अन्यत्र लैजाँदै गरेकाे बुझिएको छ । लाेपाेन्मुख हुन लागेकाे रेडपान्डा यति ठूलाे परिमाणमा मारिनु भनेकाे यसकाे अस्तित्व नै थप संकटमा पर्ने अवस्थामा पुगेकाे उनले बताए ।
बजारमा रेडपान्डाकाे छालाकाे मुल्य नभए पनि अवैध रुपमा यसकाे काराेबार हुने गरेकाे छ । पक्राउ परेका तीन जनालाई अब जिल्ला वन कार्यालयमा थप अनुसन्धान र कानुनी कार्वाहीका लागि बुझाउने तयारी गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।