Ad Area

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : विद्यालय तहबाटै खेलको विकास


दाङ, १९ फागुन । खेल क्षेत्रको विकासमा भूमिका खेल्न घोराही उपमहानगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । मावि रझेनाको आयोजनामा घोराही–१८ को नवलपुरको खेल मैदानमा बुधवारदेखि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपानले गरेकी हुन् ।

प्रतियोगितामा नगरका सामुदायिक तथा निजी गरी झण्डै २ दर्जन विद्यालयका विद्यार्थीहरु सहभागी छन् । प्रतियोगितामा विद्यालयका विद्यार्थीले मार्चपाससमेत गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख न्यौपानेले खेल क्षेत्र स्वस्थता कायम राख्ने र अनुशासन सिकाउने माध्यम भएको चर्चा गरिन् । खेलकुद मानव स्वास्थ्यका लागि अपरिहार्य भएको भन्दै उनले विद्यालय तहबाटै यसतर्फको आकर्षण बढाउनुपर्नेमा जोड दिइन् ।

खेल क्षेत्र राष्ट्रको पहिचानसमेत भएको भन्दै उनले घोराही उपमहानगरले एक वडा एक खेल मैदान बनाएर खेलप्रति युवाहरुको आकर्षण बढाएको बताइन् । ‘नगरपालिका खेल क्षेत्रको विकास गर्न तयार छ’, उनले भनिन्– ‘त्यो अनुसार एक वडा एक खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा काम गरिरहेको छ ।’ मावि रझेना विद्यालय व्यवस्थापन समितिका सदस्य भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षा, युवा तथा खेलकुद महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले विद्यार्थीहरुमा रहेको खेलप्रतिको रुचिलाई प्रस्फूटन गराउने गरी विद्यालयहरुले खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उद्धब न्यौपानेले विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि खेल महत्वपूर्ण विधा भएको बताए । विद्यालय शिक्षक अभिभावक संघका सदस्य मातृका पाण्डेले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा खेलप्रतिको आकर्षण बढ्ने र मेलमिलापको समेत विकास हुने बताए । २१ गतेसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, लङजम्प, हाईजम्प, सटफुट, कबड्डी र भलिबल खेलहरु हुनेछन् । प्रतियोगिता उद्घाटन कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक गिरिप्रसाद भट्टराई र बसन्ता पाण्डेले गरेका थिए ।

Blog Post Ad Blog Post Ad