Ad Area

राप्ती नदी तटबन्धले सयौँ बिगाहा जमीन उकासिन लागेपछि स्थानीय हर्षित


घोराही, २२ फागुन । राप्ती नदीको कटान नियन्त्रणका लागि तटबन्ध बनेपछि राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ का आधा दर्जन गाउँवासी खुसी देखिएका छन् । खेतीयोग्य जमिन तथा गाउँ कटान र पटानबाट जोगिने भएपछि उनीहरू हर्षित बनेका हुन् ।

राप्ती नदीको कटान नियन्त्रणका लागि यस वर्ष समयमै तटबन्ध बन्ने भएपछि राप्ती गाउँपालिका वडा नम्बर ७ का हरिष चौधरी निकै खुशी भएका छन् । वर्षायाममा आउने भेलले सँधै दुख दिने गरेको बताउँदै यो पटक अजंगको तटबन्ध निर्माण भएपछि खेत डुबानमा पर्ने समस्या सदाका लागि अन्त्य भएको बताए । केही ठाउँमा तटबन्धको काम सकिएको छ भने अन्य स्थानमा तटबन्धको काम तीव्र गतिमा भईरहेको छ । उक्त तटबन्धले राप्तीको बगरापुर, छोट्की सिसहनियाँ, भगवानपुर, केरुनियाँ, छिंगटपुरलगायतका बस्ती र खेतीयोग्य जमीन जोगिने विश्वास गरिएको छ ।

कटान रोक्न ९ मिटर अग्लो तटबन्ध गरिँदै छ । नदीको सतहमा ३५ मिटर चौडाइबाट तटबन्ध गरिएको छ । ‘राप्तीको कटान रोक्न तटबन्ध गरिएपछि घरखेत सुरक्षित हुने आशा जागेको छ,’ बाढीपीडितसमेत रहेका दुखीराम चौधरीले भने, ‘तटबन्ध नभएका कारण बर्खामा विस्थापित हुनुपर्ने स्थिती थियो खेती गर्ने जग्गा बालुवाले पुरिएका थिए, अब जोगिने भयो ।’

राप्ती नदीको धार कहिले वारी कहिले पारी जाने हुँदा नदीको कुनै ठेगान थिएन । वारी तर्फको बस्ती र खेत जोगाउन थालिएको यो काम पारीका बस्ती महदेवा, घुस्रा, रतनपुर, गोबरडिहा, खड्गपुरलगायतका गाउँ र त्यहाँका खेतबारीहरु जोगाउन प्रयास भईरहेको छ । तटबन्धको काम नहुँदा नदी धारले निकै दुख दिएको बताउँछन्, छोटकी सिसहनियाँका माधव चौधरी ।

‘अग्लो तटबन्धको काम वर्खा नलाग्दै सम्पन्न हुने देखिन्छ । त्यसैले अब खेतबारी डुबानमा पर्ने डर हराउँदैछ’ स्थानीय रामसेवक चौधरीले भने, ‘पक्की तटबन्धले निकै राहत मिल्ने विश्वास छ । खेतमा नदीको अब बालुवा भरिने छैन ।’ बर्षेनी वर्षायाममा नदी छेउछाउका बस्ती र खेत बगर बनेको थियो । तटबन्धनसँगै एउटै गाउँमा सयौँ बिघा जमिन खेतीयोग्यमा विस्तार हुने देखिएको छ ।

Blog Post Ad

वर्षौसम्म नदीकै रुपमा परिणत भएको लालपूर्जावाल जग्गामा अब उपभोग गर्न पाउने अवस्था बनेपछि आफुहरुलाई निकै खुशी लागेको रामकुमार चौधरीले बताए । देउखुरीको बगरापुरमा मात्रै ३ सय बिगाहा भन्दा धेरै जमीन तटबन्धले उकास बनाउँदैछ । ‘अन्य गाउँमा पनि जमिन विस्तार हुने सम्भावना छ,’ सगरापुरका पुरन चौधरीले भने, ‘हाम्रा बाउबाजेले समेत प्रयोग गर्न नपाएको जमीन हाम्रो पालामा बल्ल उपभोग गर्न पाईन भईयो ।’

राप्ती नदी क्षेत्रका स्थानीयले जग्गाको उपभोग गर्न नपाए पनि मालपोत कर भने वर्षैअघि देखि तिर्दै आएका थिए । आफ्नो जमिनको नियमित मालपोत बुझाउँदै आएका स्थानीयलाई अब बल्ल जग्गाको उपभोगले राहत दिने विश्वास लिएका छन् । ‘अब नदी बग्ने जग्गामा पनि खेतीपाती गर्न पाइने भइयो, नदीमा तटबन्ध नहुँदा कहिले नदीवारि कहिले पारि जग्गा नै खोज्नुपर्ने अवस्था थियो,’ भगवानपुरका रामहर चौधरीले भने ‘राप्ती नदी आसपास बगरको मालपोत कर तिरेको अब लाभ मिल्ला जस्तो छ ।’

तर, नदी उकास भएको जग्गा कहाँ कुन ठाउँमा छ यसको यकिन गर्नुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् । ‘यो सबै बिस्तारै मिल्दै जाला तर हाम्रो जमीन अब जोगिने भयो भन्नेमा ढुक्क छौँ,’ स्थानीय भन्छन्, ‘बालुवामय नदी किनारमा अब बगरखेती गर्दै बिस्तारै उर्वराशक्ति ल्याउँछौँ ।’
राप्ती नदीको बहाव स्थिर नहुने हुँदा वर्षायाममा राप्तीको भेल अनियन्त्रित बनेर बग्ने गर्दछ । जसले गर्दा नदीले सयौँ बिगाहा जमीन नदी र बगरका रुपमा परिणत भएको छ । लालपूर्जावाल जग्गा पनि अहिले नदीको बीच भाग छ ।

कतिपय जग्गा बगरका रुपमा वर्षौदेखि प्रयोग बिहिनको अवस्थामा छ । जसले गर्दा हातमा लालपूर्जा भएपनि उपभोग गर्न नपाएका स्थानीयबासीलाई नदी उकासले फाइँदै फाईदा गर्ने भएको छ । नदीको धार नियन्त्रण भएपछि पानीको श्रोत संरक्षण र नदीजन्य बस्तुको सुरक्षा हुने तथा नदी उकासले जमीनको प्रयोगबाट कृषिजन्य बस्तु उत्पादन गर्न सकिने भएको छ ।

जनताको तटबन्ध कार्यक्रमअन्तर्गत नदी छेउमै रहेको अर्नाहनपुर गाउँको घुुस्रा तर्फको खेत र पश्चिम तर्फ पर्ने चिकोटी, त्यो भन्दा अझ ठूलो खेतीयोग्य जमीन रहेको क्षेत्र नजिकै ३ किलोमिटर पक्की तटबन्धको काम भएको छ । अहिले देशकै दोश्रो लामो पुलभन्दा पश्चिम तर्फ प्रगन्ना कुलो सिचाई आयोजनाबाट सुनछहारी कन्स्ट्रक्सनले यही माघको अन्तिमबाट तटबन्धको काम थालेको निर्माण कम्पनीका बेलमान बुढामगरले बताए ।

यही वर्षको असार मसान्तसम्म काम सक्ने सम्झौता भएअनुसार अहिले थप ३ किलो मिटरमा काम भईरहेको छ । खासमा १० किलो मिटरको काम भएपनि हाललाई थप बजेट विनियोजन नभएकाले टेण्डर बमोजिम काम भईरहेको उनले बताए ।

९ मिटर स्लोप जाली, ९ मिटर लम्बाईसहितको तटबन्धले नदी कटान र खेत डुबानको समस्या समाधान गर्दा कृषक निकै खुशी भएका छन् । अहिले जनताको तटबन्धमार्फत राप्ती नदीमा भईरहेको तटबन्धको कामले नदी उकास क्षेत्र बिस्तार मात्रै नभई कृषियोग्य जमीन संरक्षणमा ठूलो टेवा पुगेको जनताको तटबन्धका कार्यालय प्रमुख बद्री कार्कीले बताए ।

तटबन्ध निर्माणको काम अहिले धमाधम भईरहेकाले लक्षित समयमै काम सम्पन्न हुने निर्माण कम्पनीको भनाई छ । तर, नदीमा अहिले चाहिने ढुंगा नभएकाले अन्यत्रबाट ल्याउँदा झन्झटिलो भएको उनीहरुको भनाई छ । काममा स्थानीय नागरिक खटिएका छन् ।

Blog Post Ad Blog Post Ad