Ad Area

‘महिलाले गर्ने श्रमको मूल्यांकन भएन’


दाङ, २५ फागुन । महिलाको श्रमको अझै मूल्यांकन भएको छैन । सम्मान प्रकृतिको काममा समेत अझै विभेद कायमै छ । श्रमको मूल्यांकन भएमा महिलामाथि हुने यो विभेद्मा कमी आउने ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा घोराहीमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले समाजमा अझै महिलाको श्रमको मूल्यांकन हुन नसकेको वताए । उनले महिला सशक्तीकरण सबैको साझा सरोकारको विषय भएको समेत बताए । ‘तीनवटै तहका सरकारले महिला सशक्तीकरण र महिलाको अधिकार सुनिश्चितताका लागि आ–आफ्नो क्षेत्रबाट समन्वयात्मक भूमिका आवश्यक छ,’ उनले भने ।जिल्लामा क्रियाशील विभिन्न संघसंस्थाले संयुक्तरुपमा कार्यक्रम गरेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाले घरमा विहानदेखि साँझसम्म गर्ने कामको सम्मान हुन नसक्दा विभिन्न खालका हिंसा भोग्नुपर्ने बाध्यता रहेको समेत उनले बताए ।

महिला हकअधिकार र उपलब्धि संस्थागत गर्नका लागि समेत महिला एकता आवश्यक भएको प्रमुख नेपालीले बताए । महिलामाथि हुने विभेद र लाञ्छना पितृसत्तात्मक सोचको उपज भएको भन्दै उनले समृद्ध समाज र देश निर्माणका लागि पितृसत्तात्मक सोचलाई हटाउँदै सकारात्मक सोचको बिकास हुन आवश्यक रहेको समेत बताए । उनीहरुले महिलाहरूलाई आर्थिक, सामाजिक, न्यायिक र राजनीतिक रुपमा अघि बढ्न आग्रह समेत गरे ।

नेकपा एमालेका पोलिटव्युरो सदस्य शान्ता चौधरीले राज्यका हरेक निकायका उपस्थिति हुनु भनेको महिलाहरुको उपलब्धि भएको बताइन् । उनले महिलाहरूलाई राजनीतिमा आफ्नो अस्तित्व कायम गर्नेदेखि पार्टीलाई समाबेशी बनाउन महिलाहरु लाग्नुपर्ने बताइन् । महिला सहभागिता अनिवार्य गरेका कारण पार्टीदेखि स्थानीय तहमा सहभागिता हुने गरे पनि कार्यकारी पदमा पुग्न नसकेको बताइन् । महिला दिवस आयोजक समितिका संयोजक तथा सिसा नेपालकी अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावतले श्रमिक महिला दिवस र उपलब्धि विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्सालले श्रमिक महिलाहरुको हकअधिकारका लागि एकजुट हुनुपर्ने बताइन् । उनले राज्यले महिला पुरुषलाई समान अधिकार दिए पनि अधिकारको कार्यान्वयन नहुँदा महिलाहरु समाजमा पीडित हुनु परेको बताइन् । उनले महिलाहरु अधिकारका नाममा अरुको अधिकार हनन् गर्न नहुने बताइन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासघका केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्का, महिला मानव अधिकार संजालकि पूर्व केन्द्रीय सचिव लक्ष्मी आचार्य, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुमा डिसी, नेकपा माओवादीका दिलमाया बुढा, अन्तरपार्टी महिला सञ्जाल दाङका पूर्व अध्यक्ष साबित्रा राना, नेपाल पत्रकार महासघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग थापा, सौभाग्य महिला ऋण तथा बचत सहकारी संस्थाका कमला देउजा, नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी राना, शान्ता घिमिरे, दिपा वलीलगायतले महिला र पुरुषलाई समान अधिकार दिएकाले पाएको अधिकारको उपयोग गर्नका लागि महिलाहरु अघि बढनुपर्ने बताएका थिए ।

Blog Post Ad

कार्यक्रममा निर्मला थापा, रचना कुमालले महिला अधिकारसम्बन्धी गीत र मुक्तकगायतका रचना बाचन तथा गायका थिए । महिला मानव अधिकार रक्षकहरुको सन्जालका जिल्ला संयोजक सुशीला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी कल्पना योगीले गरेकी थिइन् ।

महिलालाई सम्मान

११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पाँच जना महिलाहरूलाई सम्मान गरिएको छ । घोराहीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सीता चौधरी, कालिका सुनार, सुशीला बस्नेत, माया शर्मा र अनन्ती पुनलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नारी दिवसमा स्वास्थ्य सचेतना

नारी दिवसको अवसरमा घोराही उपमहानगरपालिका वडा नं. १७ मा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकाशको सुनिश्चितता’ भन्ने मूल नाराकासाथ मनाईएको दिवसको अवसरमा नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भएको हो । नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत मंगलवार मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले विभिन्न कारणले समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेकाले सचेतना आवश्यक भएको बताए ।

उनले घोराही उपमहानगरपालिका वडा नम्बर १७ ले मानसिक स्वास्थ्यका लागि सचेतना कार्यक्रम गरिरहेको पनि बताए । समाजमा लैंगिक समानतासँगै महिलाहरुले न्यायको अनुभूति गरेमा दिगो विकासको सुनिश्चितता हुने बताए । कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक समस्या भनेको के हो ?

मानसिक समस्या हुनुका कारण, समाजमा देखिने मानसिक समस्याका प्रकारहरु, मानसिक समस्याको लक्षणहरु, समस्या समाधानका उपायकहरु, सामना गर्ने तरिकाहरुलगायतका विषयमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी गराएकी थिइन् । कार्यक्रममा वडा नं. १७ का सदस्य रेवन्ता पुन, सहभागीहरु कमला पन्थी, भवानी चौधरी, जिउरानी चौधरीले विचार राखेका थिए । कार्यक्रमको सहजीकरण केन्द्रका सरस्वति चौधरीले गरेकी थिइन् ।

अटोचालक महिला सम्मानित

तुलसीपुर उपमहानगरपालिकाले महिला दिवसको अवसरमा अटो चालक महिलालाई सम्मान गरेको छ । दिवसको अवसरमा उपमहानगरले तुलसीपुरमा अटो चलाउने ९ जना महिलालाई सम्मान गरेको छ । सम्मानित हुनेमा निमा विक, टंकी नेपाली, पुष्पा श्रेष्ठ, शारदा खड्का, पुष्पा योगी, मिना छन्त्याल, बिमला अधिकारी, दुरुपता विक, बिमला विक सम्मानित भएका छन् । आफूहरुको मेहनतलाई मूल्यांकन गरेर सम्मान गरेकोमा अटो चालक महिलाहरु निकै खुशी भएका छन् ।

तुलसीपुरले आफ्नो कामको मूल्यांकन गरेर सम्मान गरेकोमा थप काम गर्न उत्साह, हौसला थपेको अटो चालक महिलाहरुको भनाइ छ । कार्यक्रममा महिला हिंसाविरुद्धका नाटक, कविता, नृत्य लगाएत प्रस्तुत गरिएको थियो । कार्यक्रम तुलसीपुर उपमहागरपालिका सामाजिक विकास समितीका संयोजक कुमार लामिछानेको अध्यक्षता एवम नगर उपप्रमुख माया आर्चायको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Blog Post Ad Blog Post Ad