Ad Area

खेलको विकासमा राज्यको ध्यान पुगेन : पूर्व सभामुख महरा


दाङ,२८ फागुन । पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारको ध्यान पुग्न नसकेको बताएका छन् ।

अल्फा तेक्वान्दो डोजाङ घोराहीले शनिवार आयोजना गरेको सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व सभामुख महराले खेल क्षेत्रको विकासका लागि राज्यले ध्यान नदिदा खेल क्षेत्र पछाडी पर्नुका साथै सम्भावना बोकेका खेलाडीहरु पछि पर्नुपर्ने अवस्था रहेको बताए ।

खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारले प्रशस्त लगानी गर्न अवस्था भएपनि खेल क्षेत्रमा लगानी हुन नसकेको बताए । ‘खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकारले लगानी गर्न सकेका छैनन्’,उनले भने,‘जसले गर्दा खेलकुद क्षेत्रसँगै सम्भावना बोकेका खेलाडीहरु पछि पर्नु परेको छ ।’

खेल क्षेत्रको विकासका लागि पूर्वाधार विकास हुन आवश्यक रहेको बताए । उनले दाङमा खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकारसँग आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । राज्यका प्रतिनिधिहरुले खेलकुद क्षेत्रलाई बुझन नसक्दा देशका नागरिक शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ हुँदै गएपनि राजनीतिक दलहरुको बोली र व्यवहार स्वस्थ हुन नसक्दा राष्ट्र नै अस्वस्थ बन्न पुगेको बताए ।

खेल क्षेत्रमा हरेक नागरिकको आकर्षण बढ्दै गएकाले यसको पूर्वाधार विकासमा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । अल्फा तेक्वान्दो घोराहीका प्रमुख प्रशिक्षक दिपक केसीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक जगत विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा खेल सहजताका लागि खेल सामग्री म्याटलगायत अरु सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका ६९ जनालाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

२ लाख २२ हजारमा खरिद गरिएको म्याट पाएपछि तेक्वान्दो प्रशिक्षार्थी खुशी भएका अल्फा तेक्वान्दोकी प्रशिक्षक सुनिता बिष्टले जानकारी दिइन । प्रशिक्षक सुनिता बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मोहित मगरले गरेका थिए ।