Ad Area

खेल क्षेत्रको विकासमा प्रशस्त लगानी : नगर प्रमुख चौधरी


घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार

दाङ,२८ फागुन । दाङको घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार सुरु भएको छ । हाप्किडो खेल सम्वन्धी प्रशिक्षण दिने उद्देश्यले नेपाल र भारतका प्रशिक्षकहरुको सहभागीता रहेको तीन दिने इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार शनिवारदेखि सुरु भएको हो ।

अन्तर्राष्ट्रिय सेमिनारको उद्घाटन गर्दै घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले प्रशस्त लगानी गरेको बताएका छन् । उनले स्थानीय सरकारले काम गर्न थालेयता खेल क्षेत्रको पूर्वाधार विकासका लागि घोराहीमा प्रशस्त मात्रा लगानी भएको बताए । उनले घोराही उपमहानगरपालिकामा एक वडा एक खेल मैदान योजना अनुुरुप लगानी गर्दै अघि बढेको हुँदा अहिले खेलकुुद प्रवद्र्धनमा सहयोग पुुगेको विश्वास व्यक्त गरे ।

प्रदेश सरकार र संघीय सरकारको लगानीमा पनि घोराहीमा खेल पूर्वाधारको विकासको काम अघि बढेकाले अब जिल्लामा खेलकुदका कार्यक्रम गर्न पूर्वाधार अभाव नहुुने बताएका थिए । नगर प्रमुख चौधरीले अन्तरदेशीय सेमिनार आयोजनाले खेलकुद र भावनात्मक एकता कायम गर्न सहयोग पुुग्ने हुँदा यस्ता कार्यक्रमले खेलाडीको मनोबल बढाउन थप भूमिका खेल्ने बताए । उनले प्रदेश सरकारको लगानीमा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा बहुुउद्देश्यीय रंगशाला बन्न लागेको भन्दै उक्त स्थानमा पछि दक्षिण एशियाली खेलकुदका कार्यक्रम आयोजना गर्न सकिने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले स्वास्थ्यसँगै देशको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्र्ने बताएका थिए । उनीहरुले खेल हरेक नागरिकको स्वास्थ्यसँगै अनुशासीत समेत बनाउने भएकाले युवाहरुलाई खेलकुदसँग जोड्नुपर्ने बताए । हाप्किडो आत्म सुरक्षाका लागि समेत महत्वपूर्ण भएकाले जिल्लामा पछिल्लो समय बालबालिकादेखि युवाहरुको राम्रो आकर्षण भएको बताएका थिए ।

दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा भारतीय मार्शल आर्ट्स हाप्किडो संघका महासचिव अमनदीप यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए । ३ दिनसम्म चल्ने सेमिनारमा सहभागीहरुलाई दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र प्रविण गुरुङलगायतले हाप्किडो खेलका बारेमा प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ । प्रशिक्षणमा नेपालका ३८ बढी जिल्लाका प्रशिक्षकहरुको सहभागिता रहेको छ ।