दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीमा स्थानीय तथा जिल्ला बाहिरका कृषि उत्पादनको चर्चा

घोराही, ३० फागुन । दाङको घोराहीमा जारी दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीमा स्थानीय तथा जिल्ला बाहिरका कृषि उत्पादन सम्बन्धी सामग्री तथा लघुु उद्यमसँग सम्बन्धित सामानले राम्रो स्थान पाएको छ ।
आफुहरुले उत्पादन गरेका बस्तु प्रवर्द्धनसँगै बजारीकरणमा प्राय महिलाहरु नै रहेको पाइएको छ । महिला सामुदायिक सेवा केन्द्रकी चन्द्रावती पाण्डेले संस्थामा आवद्ध भएका सदस्यहरुले उत्पादन गरेका कृषि सामग्री बजार प्रवर्द्धनका लागि निकै महत्वपूर्ण भएको बताईन् । मसुरो दाल, राज्मा, सिल्टुङ, गहद, मासको दाल, सानो केराउ, जुम्ले सिमि दाल, बेसार, कालो तिल, सानो केराउ तथा बेकरी सामान महिलाहरुले नै उत्पादन गरेका बस्तु हुन् ।
ती बस्तुलाई विश्वसनीय बनाउन लेभलिङ्गको काम पनि गरिएको छ । जसले गर्दा उत्पादित बस्तुले उपभोक्ताको विश्वास जितेको उनको विश्वास छ । ‘हामीले प्रदर्शनीमा राखेका कृषिजन्य बस्तुुको बिक्रि भएको छ,’ उनले भनिन्, ‘यो भन्दा बढी हरियो बजारमार्फत उत्पादित बस्तुको बारेमा सबैले जानकारी लिन पाएका छन् ।’
प्रदर्शनी स्थलमै सोही संस्थाबाट बजारीकरण गर्न आएकी अमृता भारतीले महिला दिदीबहिनीहरुले नै उत्पादन गरेको बच्चाहरुको कपडा, सेनिटरी प्याडको निर्क चर्चा भएको बताईन् । संस्थाले महिलाहरुले उत्पादन गरेको सेनिटरी प्याड देश बाहिर पनि निर्यात गर्दै आएको छ । महिला दिदीबहिनीहरुको उद्यमबाट उत्पादित बस्तुले अहिले राम्रो बजार पाउन सफल भएको भन्दै खुशी छिन् । ‘हामीले उत्पादन गरेको सेनिटरी प्याड भारतलगायतका अरु देशमा पनि जान थालेको छ,’ सहजकर्ता भारतीले भनिन् ‘स्वास्थ्य र सरसफाईका क्षेत्रमा पनि हाम्रो उपस्थिती बढ्दै जाँदा उत्साहित भएका छौँं ।’
प्रदर्शनी स्थलमा मिना लम्सालले दाङ कोशेली घर मार्फत आफैले उत्पादन गरेका अचार, सिन्की, फापर, आटो, भाँगो अमचुर, कोदो, दाङको अमचुर, तिलकी चामल बिक्रि गर्दै आएकी छिन् । यस्तै, ती सामग्री कसरी बनाउने भन्ने बारेमा सीप पनि सिकाउने गरेकी छिन् । स्थानीय कृषिजन्य बस्तुबाट तयार पारिएका खाद्य सामग्रीले प्रदर्शनीमा आउने दर्शकको ध्यान तानेको छ भने घरमै बसेर पनि उद्यमशीलका काम गर्न सकिन्छ भन्ने ज्ञान बाँडिरहेको छ ।
प्रदर्शनीमा आउने दर्शकहरुले चासोका साथ सोध्ने र आफुहरु पनि सीप सिकेर काम गर्न ईच्छुक रहेको बताउने गरेका दाङ कोशेली घरकी लम्सालले बताईन् । ‘मैले जानेको कुरा सिकाउने र बजारीकरण गर्न कसरी जाने भन्ने बारे जानकारी गराउने गरेको छु,’ उनले भनिन्, ‘प्रदर्शनीमा आउने प्रायले खाद्य सामग्री किन्ने र त्यसको बारेमा जानकारी लिने गरेका छन् ।’
यसैगरी, प्रेम निस अल्लो अल्लो घर नामक लघु उद्यमबाट प्रदर्शनी स्थलमा व्यावसायिक प्रवर्द्धन गर्दै आएकी सर्मिला पुनले सिस्नो प्रजातिको रेशाबाट बनेको जुत्तादेखि टोपीसम्मका सबै बस्तुले राम्रो बजार पाउनुमा उत्पादित कपडा स्वास्थ्य र शारीरिक रुपमा निकै लाभदायक भएको बताईन् ।
घोराही १४ मा लामो समयदेखि अल्लोबाट उत्पादित बस्तु बिक्री गर्दै आएकी पुनले प्रदर्शनी स्थलबाट आफ्नो व्यवसाय प्रवर्द्धन गर्न पाउँदा थप उत्साहित बनेकी छिन् । ‘यो सिस्नो प्रजातिको अल्लोबाट उत्पादित बस्तुको रेसाबाट कपडा बनाएर तयारी पोशाक बन्छ,’ उनले भनिन् ‘स्वास्थ्य र शारीरिक रुपमा पनि यसले फाईदा गर्छ भने सामाजिक प्रतिष्ठा पनि बढाउँछ ।’
कृषि प्रदशनीमा दाङसहित छिमेकी जिल्ला, रोल्पा, प्यूठान, गुल्मी, कालीकोटका स्थानीय कृषि बस्तुले पनि राम्रो स्थान पाएको छ । तिले गुफा नगरपालिका वडा नम्बर ५ कालीकोटबाट स्थानीय सिमी दाल बेच्न आएका नरेन्द्र बिष्टलाई प्रदर्शनीमा कालीकोटको सिमी बेच्न भ्याईनभ्याई छ ।
५० वर्षीय विष्ट प्रदर्शनीकै अवसर पारेर दुई सय ८७ नम्बरको स्टलमा कर्णालीमा उत्पाति अर्गानिक सिमीको दाल बिक्री गर्दै आएका छन् । पहाडको सिमी चिसोमा उब्जेकाले यसको स्वाद बेग्लै हुने हुँदा खाना रुच्ने उनको भनाई छ । ‘अघिपछि १ गिलास चामल खानेले यो दालसँग खान पायो भने थपेर खान्छ,’ उनले भने ।
कृषि प्रदर्शनीका लागि जुम्ला, कालीकोटलगायतका जिल्लामा उत्पादित सिमी खरीद गरी दाङसम्म ल्याएको बिष्टले बताए । श्रीमती पनि सिमी बिक्रीमा खटिएकी छिन् । सिमीको दाल प्रतिकेजी दुई सयमा बिक्री गर्दै आएका उनीसँग दुई क्वीन्टल सिमी रहेको छ । हिमाली सिस्नो प्रजाति र हेमबाट बनेको ७० वटाभन्दा बढी लगाउने बस्तु बनाएर बजारीकरण गर्दै आएकी महिला उद्यमी झुला डाँगीले प्रदर्शनीबाट आफ्नो उद्यम थप परिचित बनेको बताईन् । युनिक दिदीबहिनी अल्लो गार्मेन्ट उद्योग नाम दिएर थालेको व्यवसायमा अहिले काम गर्ने सबै महिलाहरु नै छन् । सीप सिकाउनेदेखि रोजगारी सिर्जना गर्ने काममा उद्यमी डाँगी लागेकी छिन् ।
बेरोजगार, असहाय, द्वन्द्वपीडित लगायत १७ बढी महिलाहरूलाई रोजगारको अवसर दिएर आत्मनिर्भरको बाटो हिँडाएकी महिला उद्यमी डाँगीलाई सत्मार्गमा हिडाउन पाएकोमा गर्व गर्छिन्। सहनशील दिदीबहिनीमार्फत धागो उत्पादन गरेर उद्योगले बस्तु उत्पादन गर्दै आएको उनले बताईन्। ‘म जस्तै धेरै महिला दिदीबहिनीहरु मैले रोजेको बाटोमा लागेकी छु, अहिले हामी व्यापारी भन्दा उद्यमी भनेर चिनिन पाएका छौँ,’ उनले भनिन्, ‘यसले हाम्रो पहिचान माथि उठाई दिएको छ ।’
आफुहरुले उत्पादन गरेको बस्तु खरिदका लागि प्रदर्शनीमा आउनेमध्ये धेरैले जानकारी लिने, शुभेच्छा दिने तथा सामान पनि किनेर लैजाने गरेको उनको भनाई छ । अल्लोबाट बनेका बस्तु स्वास्थ्य र शारीरिक दृष्टिकोणले पनि निकै लाभदायक रहेकाले यो अहिले धेरैको रोजाई बन्दै गएको उनको अनुुभव छ । ‘महिलाका लागि सुनका गहना भएजस्तै पुरुषका लागि कोट हुन्छ, तर अल्लोबाट बनेको बस्तु लगायो भने त्यसको मुल्यांकन अझ माथि हुन थालेको छ,’ महिला उद्यमी डाँगीले भनिन् ‘यो हरेक रुपले लाभदायक छ ।’
बसे पनि शहरमा, खाना खाऔँ आफ्नै गाउँघरका भन्ने नाराका साथ गुल्मीको पैचो पसल प्रालिले पनि स्थानीय खाद्य बस्तुबाट उत्पादित सामग्री बिक्री गर्दै आएको छ । गुल्मी, पाल्पा, प्यूठान, रोल्पालगायतका जिल्लाबाट कच्चा सामग्री ल्याएर बनाइएका विभिन्न थरीका खाद्य सामग्री प्रदर्शनीमार्फत विक्रि गर्दै आएको उद्यमी धनबहादुर रोकायले बताए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले कृषि प्रदर्शनीका लागि विशेष प्राथमिकता दिएको बताएको छ । संघले कृषि प्रदर्शनी गर्नेहरुको लागि १५ प्रतिशत छुट दिएको प्रंदर्शनी मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले बताए ।
कृषि प्रदर्शनीमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि स्टल निशुल्क रहेको छ । उक्त प्रदर्शनीमा अल्लोबाट निर्मित कपडा, झोला तथा थारु संस्कृति झल्कने महिला उद्यमीहरुले बनाएका ढकिया लगायतका स्टलहरु पनि छन् । कृषिसँग सम्बन्धित १५ र लघुउद्यमसँग सम्बन्धित १७ वटा स्टल रहेको आयोजकले जनाएको छ ।
तर, दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनीमा जिल्लाका १० वटै पालिकाको कृषि सम्बन्धी पहिचान झल्कने सामग्री राख्ने प्रयास भने सफल बन्न सकेको छैन । पालिकाहरुलाई आफ्नो पहिचान झल्कने बस्तु प्रवर्द्धन गर्न अपिल गरिए पनि ध्यान नदिएको आयोजकको भनाई छ ।