Ad Area

नेपालमा फेरि प्रतिगमनको खतरा बढेको छ- मसाल महामन्त्री सिंह


घोराही, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टी मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालमा फेरि प्रतिगमनको खतरा बढेको बताएका छन् । प्रगतिशील पत्रकार संघ नेपाल दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले राजावादीहरु गणतन्त्रलाई निस्तेज पार्दै राजतन्त्रलाई मलजल गर्ने दाउमा लागेकाले देश खतरामा पर्न लागेको बताए ।

उनले प्रतिगमनकारीहरु संसदीय चुनावमा नआउने तर बाहिरबाट टाउको उठाउने काम गरिरहेको हुँदा जनता बेलैमा चनाखो भई उनीहरुको भण्डाफोर गर्नुपर्ने तर्क गरे । हिजोका राजावादी शक्तिहरुको विरुद्ध देशमा लामो समय आन्दोलन भएको स्मरण गराउँदै उनले अहिले संसदीय व्यवस्थामा रहेर राजनीति गर्नेहरुबाटै बढी खतरा बढेको तर्क गरे । ‘खासगरी यो काम केपी ओलीबाट शुरुभयो । आफ्नै गलत कामले उनी आफैपछि संसदमा अल्पमतमा परे । केन्द्रदेखि प्रदेशसम्म यसको क्षति व्यहोर्नुपर्यो,’ महामन्त्री सिंहले भने, ‘अहिले पनि उनको गलत काम जारी छ । धर्म निरपेक्षता, गणतन्त्रमा बारम्बार प्रहार गरिरहेका छन् । पशुपति नाथ मन्दिरमा सुन चढाउनेदेखि, राममन्दिर पूूजा गर्ने काम जसरी उनीबाट भयो, यो देशलाई हिन्दु राष्ट्र बनाउन लागेको स्पष्ट हुन्छ ।’

बेतुकका कुरामा अल्मल्याएर देशमा राजावादीलाई ल्याउन खोज्नुले भारत पनि यो अभियानलाई सघाउन अदृश्य रुपमा लागेको उनको आरोप छ । नेपालका राजावादी र भारतका कट्टर हिन्दुवादीहरु बिच साँठगाठ बढ्नु राम्रो संकेत नभएको बताउँदै उनले ओलीको प्रतिगमन विरुद्ध लड्न पाँच दलीय गठबन्धन बनेको जिकिर गरे ।

यस्तै, ओलीको प्रतिगमन विरुद्ध लड्न पाँच दलीय गठबन्धन बने पनि पछिल्लो समय संसदबाट एमसीसी पास भएपछि आफुहरु सरकारबाट अलग भएको बताए तर, सरकारलाई दिएको समर्थन फिर्ता नलिएको उनको भनाई छ । ‘एमसीसी देशमा गम्भीर खतराका रुपमा रहेको छ । तर, कांग्रेसले देश विकासको आधारमा रुपमा रहेको भन्दै जनतालाई भ्रम छर्ने काम गर्दैछ । जति प्रचार गरेपनि यो देशको वाधकको परियोजना हो । नेपालको राजनीतिसँगै अर्थतन्त्रमा पनि अमेरिकाले हस्तक्षेप गरिरहेको उदाहरणका रुपमा यसलाई लिनुपर्छ’ उनले भने ।

यसैगरी आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले कांग्रेसभित्रको ठूलो शक्ति निर्वाचनमा एक्लै लड्ने दाउमा रहेको बताउँदै गठबन्धनमा रहेका माधव नेपाल, प्रचण्ड भने मिलेर अघि बढ्ने पक्षमा रहेको बताएका छन् । आफ्नो पार्टी भने निर्वाचनका विषयमा खुला नीतिमा रहेको स्पष्ट पारेका छन् । ‘तालमेल भएन भने एक्लै पनि चुनाव लड्छौँ । एक्लै लडेर पनि चुनाव जितेको इतिहास हामीसँग छ तर कोशिस तालमेल हुनुपर्छ भन्ने हो’ उनले भने, ‘जितका लागि मात्रै चुनाव होईन, देशको अग्रमन र निकासका लागि निर्वाचन अपरिहार्य हो ।’

Blog Post Ad

चुनावका माध्यमबाट जनताको बिचमा जान सकिने हुँदा यो बाटोमा मसाल अघि बढेको उनले भनाई छ । यस्तै, उनले आफ्नो पार्टीबाट फुटेर गएकाहरु प्रतिगमन उन्मुख दिशामा लागेको आरोप लगाए । उनीहरुको बाटो राष्ट्रहित विपरीत रहेकाले सच्चिएर आउन अपिल गरे । गणतन्त्र र बहुदलीय व्यवस्थालाई समर्थन गरेकाका कारण आफुहरुलाई अहिले दक्षिण पन्थीको आरोप खेपे पनि देशको परिस्थिति अनुसार पार्टी अघि बढेको जानकारी गराए । संघीयता खारेजीको नारालाई हिजोका दिनबाट उठाउँदै आएको र आसन्न निर्वाचनमा पनि संघीयता खारेजीको नारा यथावत रहेको स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय प्रसंगमाथि टिप्पणी गर्दै महामन्त्री सिंहले रुस र युक्रेनबीचको युद्ध विश्व युद्धको रुपमा अघि बढ्न सक्ने हुुँदा शान्तिका पक्षमा सबै राष्ट्रले आवाज उठाउनु पर्ने बेला आएको बताए । पत्रकार सम्मेलनमा जनमोर्चाका प्रथम उपाध्यक्ष जनकराज शर्मा, जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, जनमोर्चा दाङ अध्यक्ष गणेश आचार्यलगायत जिल्लस्थित नेता कार्यकर्ता उपस्थित भएका थिए । प्रगतिशील पत्रकार संघका अध्यक्ष महेश रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण कृष्ण आचार्यले गरेका थिए ।

Blog Post Ad Blog Post Ad