गुमनाम बन्दै घोराही–रक्षाचौर सडक
दाङ,२१ असोज । सहरीकरण र सवारी चाप बढ्दै गएको अवस्थामा घोराही र तुलसीपुरलाई जोड्नेगरी निर्माण सुरु भएको रक्षाचौर–सक्राम–हापुर–घोराही बैकल्पिक सडक गुमनामजस्तै भएको छ । जिल्लाका तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको चासो नहुँदा बर्षौँअघि सुरु भएको यो सडक योजना अहिले गुमनामजस्तै छ ।
लामो समयदेखि निर्माण सुरु भएको घोराही–रक्षाचौर आँखा अस्पताल जोड्ने सडकको काम अत्यन्तै सुस्त गतिमा रहेको छ । घोराही–तुलसीपुरको आँखा अस्पताल रक्षाचौर हुँदै पश्चिम पुरन्धारा जोड्ने सडकको स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको जिल्लाबासीहरुले बताएका छन् ।
विगत लामो समयदेखि सडक निर्माणको काम सुरु भएपनि हालसम्म ट्रयाक खोल्ने कामसमेत सम्पन्न भइसकेको छैन । घोराहीको मसिना दह हुँदै पवननगरसम्म ट्रयाक खोल्नका लागि काम अगाडि बढाउने योजना भएपनि त्यसको काम भने कछुवाको गतिमा अगाडि बढेको छ । करिव २० करोड लगानीमा तुलसीपुरको रक्षाचौरसम्म ट्रयाक खोल्ने काम भएपनि अन्य काम भने सुस्त गतिमा भइरहेको छ ।
सडक निर्माणका लागि पर्याप्त बजेट नआउँदा किस्ता–किस्तामा काम हुने गरेको छ । घोराहीदेखि पवननगरसम्म ३१ किलोमिटर सडक निर्माण गर्ने योजना रहे पनि सीमित बजेटका कारण समयमै सडक निर्माणको काम सम्पन्न हुन नसकेको डिभिजन सडक कार्यालय घोराहीका इन्जिनियर अमित सुवेदीले जानकारी दिएका छन् ।
सडकको ट्रयाक खोल्ने र घोराही क्षेत्रमा केही सडक फराकिलोका साथै नाला निर्माण भएपनि अन्य कामले भने सोचेअनुरुप प्रगति हुन नसकेको उनले बताए । उक्त सडकखण्डका केही खोलाहरुमा पुल निर्माण सम्पन्न भएपनि विभिन्न विवादका कारण सडकको कामले गति लिन नसकेको बताइएको छ ।
घोराहीदेखि तुलसीपुरसम्म दायाँ बायाँ १० मिटर सडक फराकिलो गर्ने काम भएपनि त्यसको कालोपत्रे गर्ने काम भने हुन सकेको छैन । केही भाग वन क्षेत्र र केही भाग सर्वसाधारणको जमिन पर्ने भएकाले बेला–बेलामा बाटो निर्माणका लागि विवाद भने हुने गरेको छ । तर यसको सहजीकरण गर्नतर्फ कुनै पनि जनप्रतिनिधिको ध्यान जान सकेको छैन ।
वैकल्पिक सडकका रुपमा रहेको घोराही–तुलसीपुरको वाईपास सडकमा सीमित रकम आउने भएका कारण पनि पार्ट–पार्टमा काम हुने भएकाले सडकले पूर्णता पाउन नसकेको बताइएको छ । उक्त सडकको स्तरोन्नतिका लागि भनेर आएको गत बर्षको करिब १२ करोड रुपैयाँ फ्रिजसमेत भएको थियो ।
त्यस्तै सडक निर्माणमा लागेको करिब १० करोड रकम ठेकेदार कम्पनीलाई तिर्न बाँकी रहेको छ । यो बर्ष भने सडक निर्माणका लागि करिब ८ करोड बजेट विनियोजन भई काम सुरु भएको छ । ८ करोड रुपैयाँ बजेटमा सडकको स्तरोन्नतिको काम सुरु भएको इन्जिनियर सुवेदीले जानकारी दिए । ८ करोड बजेटमध्ये टेण्डर प्रक्रियाबाट घटीघटाउमा ४ करोडमा ठेक्का गएको छ ।
चारवटा छुट्टाछुट्टै कम्पनीले टेण्डर पारेर हाल ४ फेजमा रक्षाचौरबाट काम सुरु भएको बताइएको छ । कोभिड–१९ को संक्रमणसँगै काम अगाडि बढ्न नसकेकाले म्याद थप गरेर काम सुरु भएको छ ।
४ कारोडमा सडक निर्माणको काम सुरु भएपनि अन्य बाँकी रकमले पनि सडक निर्माणको काम हुने बताइएको छ । यसबर्ष साढे २ किलोमिटर सो बजेटले सडक कालोपत्रे हुनेछ । तुलसीपुर र घोराहीको विवादका कारण रक्षाचौरदेखि पवननगरसम्म ट्रयाक खोल्ने भनेपनि रक्षाचौरबाट काम सुरु भएको छ ।
अहिले सडकको काम सुरु भएको इन्जिनियर सुवेदीले बताए । काम सुरु भएपनि बर्षातका कारण काम गर्न समस्या भएको बताइएको छ । घोराही क्षेत्रमा पनि काम सुरु भएको छ ।