Ad Area

विरामीको पेटबाट सिक्री र पेटीको बक्कल निकालियो


विराटनगर,२ चैत । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् ।

भोजपुरको भोजपुर नगरपालिका–१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बक्कल निकालिएको हो । नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बक्कल निलेका थिए ।

सिक्री उनको पेटमा थियो । बक्कल भने खाना नलीमा अड्किएको थियो । मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ । बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बक्कल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताए । उपचारपछि ती युवक घर फर्किएको उनले बताए ।

Blog Post Ad Blog Post Ad