Ad Area

कृषि गणनाका लागि कार्यालय स्थापना


दाङ, ३ चैत । जिल्लामा कृषि गणनाका लागि कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापनासँगै विधिवत रूपमा प्रक्रिया अगाडि बढेको छ । आगामी बैशाखदेखि राष्ट्रिय कृषि गणना हुनथालेको छ । संघीयता आएपछि पहिलो पटक केन्द्रीय तथ्याङ्क विभागले कृषि गणना गर्न लागेको हो ।

राष्ट्रिय जनगणनाजस्तै कृषि गणना पनि प्रत्येक १० वर्षमा गर्ने गरिन्छ । यस वर्ष हुन थालेको कृषि गणनाको नारा ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ निर्धारण गरिएको छ । नेपालमा पहिलो पटक २०१८ सालमा कृषि गणना भएको थियो । अहिले हुन थालेको कृषि गणना सातौँ कृषि गणना हो । राष्ट्रिय कृषि गणनाका लागि सुपरीवेक्षक र गणक भर्ना गर्ने प्रक्रिया थालिएको विभागले जनाएको छ । कृषि गणनाका लागि जिल्लामा १ सय ११ जना जनशक्ति परिचालन गरिने जिल्ला कृषि गणना अधिकृत तुलसीराम पोख्रेलले बताए । उनका अनुसार ८१ जना गणक २१ जना सुपरीवेक्षक र ९ जना कार्यालय व्यवस्थापन तथा अनुगमनका लागि परिचालन हुने भएका हुन् ।
गणक तथा सुपरीवेक्षक नियुक्तिका लागि अहिले अनलाइनमार्फत् फाराम भर्ने काम भइराखेको छ । नयाँ जनशक्ति माग गरिएकाले बेरोजगार भएकाले थोरैले भए पनि रोजगारको अवसर समेत प्राप्त गर्ने छन् । केन्द्रले नै सर्ट–लिस्ट प्रकाशन गरेर जिल्लामा पठाउने अधिकृत पोख्रेलले बताए । गणक तथा सुपरीवेक्षको नतिजा चैत १४ गते प्रकाशन हुने अधिकृतले बताए । गणक तथा सुपरीवेक्षकहरूको नियुक्ति जिल्लामै हुनेछ ।

नियुक्ति भएको गणक तथा सुपरीवेक्षकहरूलाई चैत २५ गतेबाट तालिम दिइने उनले बताए । तालिम एक साता दिइने भएको छ । उनीहरूलाई २ महिनाको लागि नियुक्त गरिने छ । त्यसपछि फिल्डमा खटाउने तयारी विभागको छ । विभागले ४५ दिनको समय राखेर गणकहरूलाई फिल्डमा खटाउने भएको छ । गणकहरूले २५ जेठमा बिदा पाउने भएकाले त्यस अगाडि नै गणनाको काम पूरा गर्ने तयारी विभागको छ । कृषि गणनामा करिब १ अर्ब रूपैयाँ बजेट खर्च हुने अनुमान छ । कृषि गणनामा लिइएका व्यक्तिगत विवरण विभागले गोप्य राखेर तथ्याङ्कहरू मात्र सार्वजनिक गर्नेछ ।

कृषि गणनाका लागि दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । कृषि गणनाबाट कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त हुनेछ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको बताइएको छ । नेपाल कृषि प्रधान मुलुक हो । कृषिले अर्थतन्त्रमा गरिरहेको योगदानलाई तथ्याङ्कमा देखाउन गणनाले ठूलो सहयोग गर्ने तथ्याङ्क विभागले जनाएको छ ।

कृषि गणनामा नेपालका प्रत्येक जिल्लाको कृषि संरचना, गतिविधि तथा कृषि उत्पादनसँग सम्बन्धित विवरण संकलन गरिन्छ । कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाइ, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्तिजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने भएको छ । कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा मुलुकलाई आवश्यक पर्ने तथ्याङ्क उपलब्ध हुने भएको छ । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिए पनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिँदैन ।
साढे ३ लाख परिवारबाट विवरण लिइने
कृषि गणनाका दौरान जनगणनामा जस्तै हरेक घरमा भने गणक पुग्ने छैनन् । विभागकाअनुसार देशभरका साढे ३ लाख घरपरिवारलाई प्रतिनिधिमूलक घरका रूपमा छानिने छ । नमुना छनोटमा परेका घरमा गणकहरू पुगेर विवरण भर्ने छन् । कृषि गणनामा ठूलो स्तरको नमुना लिएर त्यहाँबाट तथ्याङ्क सङ्कलन गर्ने गरिन्छ । यसरी प्राप्त हुने तथ्याङ्कलाई औषतमा निकालेर तथ्याङ्क विश्लेषण गरिने भएको छ । यसले कृषिका पकेट क्षेत्र पत्ता लाग्ने छ । विगतमा सामान्यतया वडालाई एक क्षेत्र मानेर नमुना छनोट गरी विवरण सङ्कलन गरिएको थियो । गणकले छानिएका परिवारमा पुगेर विवरण ल्याउँछन् भने सुपरीवेक्षकहरूले सामुदायिक प्रश्नावलीबाट विवरण सङ्कलन गर्ने छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad