Ad Area

घोराहीको कवाड व्यवस्थापन नीजि क्षेत्रबाट गर्ने तयारी


घोराही, ४ चैत्र । घोराहीलाई व्यवस्थित र सुरक्षित बजारका रुपमा विकास गर्न बजार क्षेत्रभित्र रहेका कवाड व्यवसायीहरुलाई एकीकृत गर्ने काम परिमार्जन गरिने भएको छ । उपमहानगरको लगातारको प्रयासमा कवाड व्यवसायीले अटेरी गर्दा लामो समयसम्म पनि एकीकृत बजारको अवधारणा कार्यान्वनमा ल्याउन नसकिएपछि अब नयाँ मोडालिटीबाट स्थानान्तरणको प्रयास हुने भएको हो ।
केही वर्ष अघि अटो भिलेजको अवधारणा कार्यान्वनमा ल्याईएकोमा अब बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका कवाड व्यवसायीहरुलाई एकीकृत रुपमा व्यवसाय संचालन गर्न लगाउने गरी प्रकृया अघि बढाउन गत कार्तिक ९ गते घोराही उपमहानगरको सरसफाई व्यवस्थापन शाखाले जिल्लास्थित कवाड व्यवसायीहरुसँग छलफल गरी एकीकृत रुपमा काम गर्न सक्ने गरी प्रकृया अघि बढाउने तय गरे पनि निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।
बजार क्षेत्रमा छरिएर रहेका कवाड व्यवसायलाई सुदृढ, परिस्कृत एवं सुरक्षित व्यवसायका रुपमा अघि बढाउने गरी काम अघि बढाउने भन्दै पटक पटक तोकता गर्दा पनि काम अघि बढ्न नसकेको सरसफाई व्यवस्थापन शाखाले जनाएको छ ।
घोराही बजारलाई सरसफाईयुक्त बनाउन तथा कवाड व्यवसायीलाई एकीकृत रुपमा व्यवसाय संचालनका लागि वातावरण मिलाउन गरिएको प्रयासमा मौखिक रुपमा सहमति जनाएका कवाड व्यवसायीहरु स्थानान्तरण हुन नचाहँदा समस्या भएको उपमहानगरको भनाई छ । ‘नगरलाई शुन्य फोहोर बनाउने अभियानलाई नयाँ ढंगले काम अघि बढाउने तयारी गरेका छौँ,’ नगरप्रमुख नरुलाल चौधरीले भने, ‘यसका लागि नीजि क्षेत्रसँग सहकार्य गरी कामको थालनी हुन लागेको छ ।’
घोराही १६ करौती डाँडामा स्थान तोकी सबै कवाड व्यवसायीलाई एकीकृत रुपमा व्यवसाय संचालनको बाटो खोलि दिए पनि खटेरी भईरहेको सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीको भनाई छ ।  त्यहाँ रहेको करीव १ विगाहा जग्गालाई निशुल्क प्रयोग गर्न दिने गरी स्थानान्तरण गर्न पालिकाले प्रयास गरेको हो ।
छरिएर रहेका कवाड व्यवसायीका कारण विभिन्न किसिमका समस्या निम्तिन थालेको भन्दै नगरपालिकामा नागरिकको गुनासो आउने क्रम बढेपछि पालिकाले यस विषयमा चासो लिएको थियो ।
गत माघ महिनामा आफ्नो कवाड व्यवसायी स्थानान्तरण गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको पनि म्याद कटि सकेकाले अब कडाईका साथ पालिकाले कदम चाल्ने उहाँले बताए । ‘स्थानान्तरण हुनुपर्छ भन्ने मनस्थितीमा धेरै कवाड व्यवसायी छन् तर केहीले नसरेपनि हुन्छ भन्दै उनीहरुलाई दवाव दिँदा यसो भएको हुन सक्ने अनुमान गरिएको छ,’ शाखा प्रमुख अधिकारीले भने, ‘हामी नीति नियम अनुसार अब अघि बढ्छौँ ।’
कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनमा अटेरी गर्ने कवाड व्यवसायीलाई अब प्रचलित कानून अनुसार कारवाही गरिने र निर्णय कार्यान्वयन गरिने बताइएको छ । घोराही उपमहानगरपलिकामा दर्ता भएका ३० वटा र अनाधिकृत रुपमा थप २० वटा गरी करीव ५० बढी कवाड व्यवसायी रहेका छन् ।
यसअघि कवाड व्यवसायीहरुलाई स्थानान्तरणसँगै व्यावसायिक सुरक्षा  र प्रवर्द्धन लागि समस्या समाधान गर्न समन्वय समिति गठन गरिएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष रामप्रसाद पोख्रेलको संयोजकत्वमा ७ सदस्यीय कवाड व्यवस्थापन समन्वय समिति गठन गरि काम अघि बढाउने जिम्मेवारी दिईएको थियो ।
जसको सदस्य सचिवमा घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारी, राजश्व शाखा प्रमख कृष्ण केसी, कवाड व्यवसायीहरुका तर्फबाट बाल्मी केसी, मञ्जित पुन र रजमान धुनियाँ तथा टोलबासीका तर्फबाट गिरबहादुर बस्नेत सदस्यका रुपमा रहेका थिए । उक्त समन्वय समितिले करौतीडाँडाको स्थलगत अध्ययन अवलोकन गर्नुका साथै आवश्यक पूर्वाधार निर्माणका लागि सुझाव दिएको थियो ।
त्यसपछि ३ महिनाभित्रमा घोराही १४ र १५ मा रहेका कवाड व्यवसायीहरुको व्यवसाय स्थानान्तरण गराई सक्ने गरी काम अघि बढाउने बताए पनि काम हुन नसकेपछि पालिकाले अर्को विधि अपनाउन लागेको छ । बजार क्षेत्रमा रहेका कवाड व्यवसायीहरुको व्यापारले सरसफाई, सुरक्षालगायतमा समस्या निम्त्याएको भन्दै नगरबासी, टोलबासीको गुनासो व्यापक रुपमा आएपछि प्राथमिकताका आधारमा स्थानान्तरण गर्ने तथा आगामी १ वर्षभित्रमा उपमहानगरका सबै कवाड व्यवसायीलाई करौतीडाँडामा स्थानान्तरण गरि सक्ने पालिकाले लक्ष्य राखेको नगरप्रमुख चौधरीको भनाई छ ।

Blog Post Ad Blog Post Ad